गृहपृष्ठ नेपालमा एसआरएमका १,१११ ईभी बिक्री, १० हजार पुर्याउने लक्ष्य
नेपालमा एसआरएमका १,१११ ईभी बिक्री, १० हजार पुर्याउने लक्ष्य
काठमाडौं । चिनियाँ विद्युतीय सवारी ब्रान्ड एसआरएमले नेपाली बजारमा १ हजार १११ थान विद्युतीय सवारी बिक्री गरेको छ। आधिकारिक आयातकर्ता तथा वितरक भिजी मोटर्सले २०२३ अगस्टदेखि नेपालमा एसआरएम ईभीको बिक्री सुरु गरेको हो।
१ हजार १११ थान ईभी बिक्रीको उपलब्धिपछि कम्पनीले अब नेपाली सडकमा १० हजार थान एसआरएम विद्युतीय सवारी पुर्याउने लक्ष्य तय गरेको छ। कम्पनीले बिक्री विस्तारसँगै बिक्रीपछिको सेवा र ग्राहक सेवामा समेत लगानी बढाउने जनाएको छ।
भिजी मोटर्सले विशेष कार्यक्रम आयोजना गरी १ हजार १११ थान एसआरएम ईभी बिक्रीको उपलब्धि मनाएको हो। कार्यक्रममा एसआरएमका प्रतिनिधि, ग्राहक, व्यावसायिक साझेदार तथा सञ्चारकर्मीलगायतको सहभागिता थियो।
कम्पनीले १ हजार १११ थान बिक्रीलाई ‘१,१११ यात्रा, १,१११ जीविका र १,१११ कथा’ का रूपमा व्याख्या गरेको छ। एसआरएमका विद्युतीय सवारी यात्रु ओसारपसार, विद्यालय तथा संस्थागत यातायात, सामान ढुवानी र साना व्यवसायका विभिन्न प्रयोजनमा प्रयोग हुँदै आएका छन्।
कम्पनीका अनुसार नेपाली सडकको अवस्थालाई ध्यानमा राखेर एसआरएमका विद्युतीय सवारीमा ग्राउन्ड क्लियरेन्स बढाउनुका साथै मोटरको शक्ति र टर्कमा समेत सुधार गरिएको छ। कम्पनीले सीएटीएलका ब्याट्री प्रयोग गर्दै आएको र सर्तसहित ब्याट्रीमा ६ वर्ष वा ३ लाख ६० हजार किलोमिटरसम्मको वारेन्टी उपलब्ध गराउँदै आएको जनाएको छ।
भिजी मोटर्सका अनुसार नेपालमा एसआरएमका ३० भन्दा बढी सर्भिस टचपोइन्ट तथा वर्कसप सञ्चालनमा छन्। त्यस्तै, विद्युतीय सवारीको बढ्दो प्रयोगलाई ध्यानमा राख्दै १०० भन्दा बढी चार्जिङ स्टेसन स्थापना गरिएको कम्पनीले जनाएको छ।
कम्पनीले ४० जिल्लाका १ हजार ५०० भन्दा बढी मेकानिक तथा ५० भन्दा बढी ड्राइभिङ इन्स्टिच्युटका प्रशिक्षकलाई ईभी प्रविधि र सडक सुरक्षासम्बन्धी तालिम दिएको जनाएको छ।
नेपालमा थप विस्तारका लागि एसआरएमले दुईवटा विद्युतीय ट्रक र एउटा एमपीभी ल्याउने तयारीसमेत गरेको छ।
उपलब्धिको अवसरमा हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेजलाई १ हजारौं एसआरएम खरिदकर्ता तथा युरो स्कुल, छाउनीलाई सबैभन्दा धेरै एसआरएम ईभी खरिद गर्ने संस्थाका रूपमा सम्मान गरिएको थियो। डिस्कभरी एजुकेसन नेटवर्क काठमाडौंलाई ‘एसआरएम पायोनियर अवार्ड’ प्रदान गरिएको कम्पनीले जनाएको छ।
१ हजार १११ थान बिक्रीको उपलब्धिपछि भिजी मोटर्सले नेपालमा १० हजार एसआरएम सवारी बिक्री गर्ने नयाँ लक्ष्य तय गरेको छ। त्यसका लागि चार्जिङ पूर्वाधार, सर्भिस सुविधा, प्राविधिक तालिम, स्पेयर पार्ट्सको उपलब्धता तथा ग्राहक सेवामा थप लगानी गर्ने कम्पनीले जनाएको छ।
प्रकाशित समय : ०७:४४ बजे


















