गृहपृष्ठ नेपाल लाइफको ‘बिजनेस एक्सिलेन्स कन्फरेन्स’ सम्पन्न
नेपाल लाइफको ‘बिजनेस एक्सिलेन्स कन्फरेन्स’ सम्पन्न
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बिक्री तथा बजार व्यवस्थापनमा कार्यरत कर्मचारीलाई लक्षित गर्दै आयोजना गरेको दुईदिने ‘बिजनेस एक्सिलेन्स कन्फरेन्स’ सम्पन्न भएको छ ।
‘लिड, एस्पायर, इभोल्भ’ नारासहित काठमाडौंको होटल याक एन्ड यतीमा भदौ १ र २ गते आयोजित सम्मेलनमा देशभरबाट बिक्री तथा बजार क्षेत्रमा कार्यरत २५० भन्दा बढी कर्मचारी सहभागी थिए ।
सम्मेलनको उद्घाटन कम्पनीका वरिष्ठ सञ्चालक कमलेशकुमार अग्रवाल, विमलप्रसाद ढकाल, सञ्चालक प्रबिनप्रकाश क्षेत्री तथा प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले संयुक्त रूपमा गरेका थिए ।
उद्घाटन सत्रमा वरिष्ठ सञ्चालक अग्रवालले नेपाल लाइफले २५ वर्षको यात्रामा नेपाली जीवन बीमा क्षेत्रमा विश्वास, स्थायित्व र नेतृत्व स्थापित गरेको बताए । उनका अनुसार कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमाशुल्क संकलन गरेको छ ।
उनले कम्पनीले हासिल गरेको उपलब्धि कर्मचारी तथा अन्य सरोकारवालाको सामूहिक प्रयासको परिणाम भएको भन्दै आगामी दिनमा पनि उच्च लक्ष्य राखेर अघि बढ्न आग्रह गरे ।
प्रमुख कार्यकारी अधिकृत पराजुलीले गत आर्थिक वर्षको व्यावसायिक उपलब्धिका लागि कर्मचारीलाई धन्यवाद दिँदै चालु आर्थिक वर्षको लक्ष्य हासिल गर्न थप सक्रियता र प्रतिबद्धताका साथ काम गर्न आग्रह गरे । उनले हासिल भएको उपलब्धिलाई कायम राख्दै कम्पनीलाई थप उचाइमा पुर्याउन सामूहिक प्रयास आवश्यक रहेको बताए ।
सम्मेलनमा कम्पनीका विभिन्न विभागका प्रमुखले गत आर्थिक वर्षको कार्यसम्पादन, उपलब्धि तथा चुनौतीबारे समीक्षा गरेका थिए । साथै चालु आर्थिक वर्षका व्यावसायिक लक्ष्य, बिक्री रणनीति, सेवा सुधार, डिजिटल रूपान्तरण तथा जनशक्ति विकासका योजनाबारे प्रस्तुति दिइएको थियो ।
सम्मेलनको अन्त्यमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी तथा शाखा र उपशाखालाई विभिन्न १४ विधामा सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । सहभागीलाई प्रमाणपत्रसमेत वितरण गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार सम्मेलनले कर्मचारीमा नयाँ ऊर्जा र व्यावसायिक प्रतिबद्धता बढाउनुका साथै आगामी दिनमा कम्पनीको व्यावसायिक लक्ष्य हासिल गर्न थप प्रेरणा प्रदान गरेको छ ।
प्रकाशित समय : ०७:३७ बजे


















