गृहपृष्ठ विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका
विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका
राँझा । बाढी, डुबान, कटान र आगलागीलगायत विपद्को जोखिममा रहेको बाँकेको राप्तीसोनारी गाउँपालिका विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहेको छ ।
वर्षायाममा राप्ती नदी तथा विभिन्न खहरे खोलामा आउने बाढीका कारण मानव बस्ती डुबानमा पर्ने, खेतीयोग्य जमिन कटान हुने तथा विद्यालय, स्वास्थ्य संस्था र सडकजस्ता संरचनामा क्षति पुग्ने जोखिम रहेको गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले बताए ।
“राप्तीसोनारी हरेक वर्ष विपद्बाट प्रभावित हुने गाउँपालिका हो । पछिल्ला वर्षमा जोखिम न्यूनीकरणका लागि पूर्वाधार निर्माण र विपद् प्रतिकार्यका योजना अघि बढाइएकाले जोखिम केही कम हुँदै गएको छ”, उनले भने ।
गाउँपालिकाले यस वर्षका लागि विपद् प्रतिकार्य योजना तयार गरेको छ । बाढी तथा डुबान भए प्रभावितको उद्धार गरी सुरक्षित स्थानमा राख्ने, स्वास्थ्योपचार, खाद्यान्न तथा राहत उपलब्ध गराउने र मनोसामाजिक परामर्श दिने तयारी गरिएको अध्यक्ष पौडेलले बताए ।
उनका अनुसार स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई २४सैँ घण्टा तयारी अवस्थामा राखिएको छ । वडा कार्यालय, वडा विपद् व्यवस्थापन समिति र गाउँपालिका विपद् व्यवस्थापन समितिमार्फत मनसुनअघि र मनसुनपछि पनि आवश्यक तयारी तथा व्यवस्थापनका कामलाई निरन्तरता दिइएको छ ।
विपद् व्यवस्थापनलाई ध्यानमा राख्दै राप्तीसोनारीमा हाल पाँचवटा सुरक्षित आश्रयस्थल सञ्चालनमा छन् भने थप दुईवटा निर्माणको क्रममा छन् । सञ्चालनमा रहेका आश्रयस्थलमा करिब एक हजार ५०० देखि दुई हजार जनासम्मलाई राख्न सकिने गाउँपालिकाले जनाएको छ ।
कृत्रिम अभ्यास
गाउँपालिकाले बाढी पूर्वानुमानमा आधारित कृत्रिम घटना अभ्यास गरी सम्भावित विपद्का लागि पूर्वतयारी र प्रतिकार्य क्षमताको परीक्षण गरेको अध्यक्ष पौडेलले बताए ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिले गत वैशाख ३१ गते स्वीकृत गरेको नयाँ कार्यविधि कार्यान्वयन गर्दै राप्तीसोनारी गाउँपालिकाले पहिलोपटक स्थानीय तहका रूपमा नमूना अभ्यास सञ्चालन गरेको हो ।
अभ्यासमा बाढीमा परेका नागरिकको उद्धार, प्राथमिक उपचार, सुरक्षित स्थानमा स्थानान्तरण तथा राहत र खाद्यान्न व्यवस्थापनलगायतका गतिविधि प्रदर्शन गरिएको थियो ।
बाँकेमा सेभ द चिल्ड्रेनसँगको साझेदारीमा विपद् व्यवस्थापन क्षेत्रमा कार्यरत सामाजिक विकास मञ्चका परियोजना स्रोत व्यक्ति घनश्याम उपाध्यायले कार्यविधिअनुसार नेपालमै पहिलोपटक राप्तीसोनारी गाउँपालिकामा बाढी कृत्रिम घटना अभ्यास गरिएको बताए । उनले अभ्यासले बाढी आएपछि गरिने प्रतिकार्यको क्षमता परीक्षण गर्न सहयोग पुगेको बताए ।
उनका अनुसार अभ्यासले विपद्का बेला सुरक्षा निकाय, स्थानीय सरकार, स्वयंसेवक, स्वास्थ्यकर्मी, सामाजिक सङ्घसंस्था र समुदायबीचको समन्वयको महत्त्वसमेत देखाएको छ ।
राप्तीसोनारी गाउँपालिका–३ का वडाध्यक्ष मीनकुमार चौधरीले बाढी आएपछि उद्धार गर्नुभन्दा पहिले नै समुदायलाई तयार बनाउने, उद्धार टोलीको क्षमता परीक्षण गर्ने तथा आवश्यक उपकरण र जनशक्तिलाई तयारी अवस्थामा राख्ने अभ्यास प्रभावकारी हुने बताए।
प्रकाशित समय : ०६:१० बजे


















