गृहपृष्ठ विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाका घरविहीन तीन विपन्न परिवारले नयाँ घर पाएका छन् । गरिबीका कारण आफ्नो लगानीमा घर निर्माण गर्न नसक्ने तीन विपन्न परिवारलाई नगरपालिकाले प्रतिपरिवार रु पाँच लाख लगानी गरेर दुई कोठा भएको एकतले भूकम्प प्रतिरोधी घर निर्माण गरिदिएको हो ।

लामो समयदेखि जीर्ण घरमा बसोबास गर्दै आएका हलेसी तुवाचुङ नगरपालिकाका–२ डिकुवाका देशवीर राई र हलेसी तुवाचुङ नगरपालिकाका–६ मङ्गलटारका भया दमाई तथा घरविहीन अवस्थाका वडा नं १० अर्खौले निवासी टेकबहादुर सार्कीलाई नगरपालिकाले घर निर्माण गरेर हस्तान्तरण गरेको छ । घर नभएका कारण लामो समयदेखि कष्टकर जीवन बिताइरहेका तीन विपन्न परिवारलाई नगरपालिकाले भूकम्प प्रतिरोधी नयाँ घर उपलब्ध गराएपछि हर्षित भएका छन् ।

वृद्ध दम्पत्तिमात्र रहेका डिकुवाका देशवीर राईको परिवार यसअघि जीर्ण कटेरोमा बस्दै आएको थियो । लामो समयदेखि असुरक्षित कटेरोमा बस्दै आएका वृद्ध दम्पतीका लागि नगरपालिकाले नयाँ घर निर्माण गरेर हस्तान्तरण गरेको हो ।

मङ्गलटारका चामे दमाईं र भया दमार्इं दाजुबहिनीको पीडा उस्तै रहेको थियो । अपाङ्गता भएका दमाईं दाजुबहिनीका लागि पनि नगरपालिकाले भूकम्प प्रतिरोधी नयाँ घर निर्माण गरेर हस्तान्तरण गरेको हो ।

अर्खौलेमा जन्मिएका टेकबहादुरको परिवार अघिल्लो वर्षको भदौमा आफ्नो गाउँ फर्किएका थिए । करिब १२ वर्षदेखि गाउँ बाहिर विभिन्न ठाउँमा बस्दै आएका टेकबहादुरको परिवार दिक्तेल बस्दै आएको समयमा १२ वर्षीया छोरी मृत भेटिएपछि गाउँ फर्केर अर्खौलेमा अरुको घरमा आश्रय लिएर बस्दै आएका थिए ।

गाउँ फर्किएको समयमा सार्की परिवारलाई नगरपालिकाले खाद्यान्न र केही नगदसमेत सहयोग गरेको थियो । सार्कीको परिवार गाउँमै बसेर जीविकोपार्जन गर्न चाहे पनि घर नहुँदा समस्यामा परेका कारण नगरपालिकाले नयाँ घर निर्माण गरिदिएको हो । सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत तीन परिवारलाई भूकम्प प्रतिरोधी दुईकोठे घर निर्माण गरेर हस्तान्तरण गरिएको नगर प्रमुख विमला राईले जानकारी दिएको छन् ।

“नगरपालिकाभित्रका नागरिकको सुरक्षित आवासको सुनिश्चितता गर्न तीन विपन्न परिवारका लागि भूकम्प प्रतिरोधी नयाँ घर निर्माण गरेर हस्तान्तरण गरेका छौँ । आफ्नो घर अभावमा अरुको सहारामा बस्दै आएका सबै परिवारलाई सुरक्षित आवासको सुनिश्चितता कायम गरिनेछ”, प्रमुख राईले भने, “राजधानी काठमाडौँ तथा तराईको विभिन्न जिल्लामा अस्थायी रुपमा बसोबास गर्दै आएको अवस्थामा घरटहरा हटाइएपछि विस्थापित नगरवासीलाई घर निर्माण गरिदिने निर्णय गरेका छौँ । नगरबाहिर बसेको अवस्थामा सरकारले घरटहरा भत्काइदिएपछि विस्थापित बनेका तीन परिवारले पुनःस्थापनाका लागि आफ्नै नगरपालिकामा घर निर्माण गरिदिन निवेदन दिएका छन् ।”

विस्थापित परिवारहरु आफ्नो नगरपालिका फर्किएर स्थायी रुपमा बसोवास गर्न चाहेको खण्डमा उनीहरुका लागि रु पाँच लाख बराबरको लगानीमा भूकम्प प्रतिरोधी घर निर्माण गरिदिने नगरपालिकाले जनाएको छ । पुनःस्थापित हुन चाहने घरपरिवारका लागि घर निर्माण गर्न उनीहरुको नाममा जग्गा भने हुनुपर्ने बताइएको छ । नगरपालिकाको १३६औँ कार्यपालिकाको बैठकले विपन्न तीन परिवारलाई भूकम्प प्रतिरोधी घर निर्माण गर्ने निर्णय गरेको थियो ।

प्रकाशित समय : ०५:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु