गृहपृष्ठ बिपी स्मृति ‘ग्रीन रन महिला रि-रन’ प्रतियोगिताः न्यौपाने विजयी
बिपी स्मृति ‘ग्रीन रन महिला रि-रन’ प्रतियोगिताः न्यौपाने विजयी
ललितपुर । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको बिपी स्मृति ‘ग्रीन रन महिला रि(रन’ प्रतियोगितामा पूर्णलक्ष्मी न्यौपाने विजेता भएको छन् ।
प्रतिष्ठानले आज ललितपुरमा आयोजना गरेको प्रतियोगितामा पाँच किलोमिटर दौड १७ मिनेट ४२।८ सेकेन्डमा पूरा गर्दै न्यौपाने प्रथम भएको हो । त्यस्तै निशा मस्कोटीले १७ मिनेट ४६।२ सेकेन्डमा दौड पूरा गर्दै द्वितीय तथा निर्मला केसीले १८ मिनेट ९।१ सेकेन्डमा पूरा गर्दै तृतीय स्थान हासिल गरेका छन् ।
त्यसैगरी सुनसरी रोकाया चौथो, सृजना पाण्डे पाँचौँ र आशा रावत छैटौँ भएको छन् । विजेताहरूलाई नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले नगद पुरस्कारको चेक हस्तान्तरण गरे । सहमहामन्त्रीद्वय डा डिला सङ्ग्रौला पन्त र मुक्ताकुमारी यादवले क्रमशः ट्रफी तथा पदक प्रदान गरे ।
प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, द्वितीयलाई २५ हजार, तृतीयलाई २० हजार, चौथोलाई १२ हजार, पाँचौँलाई १० हजार र छैटौँलाई आठ हजार पुरस्कार प्रदान गरिएको थियो ।
पाटन दरबार स्क्वायर, मङ्गलबजारबाट सुरु भएको दौड पुल्चोक(झम्सिखेल(भनिमण्डल(एकान्तकुना(जावलाखेल(पुल्चोक हुँदै पुनः पाटन दरबार स्क्वायरमा पुगेर सम्पन्न भएको थियो । नेपाल महिला सङ्घको सहभागितामा आयोजित प्रतियोगिता सुरु हुनुअघि स्थानीय नागरिकका तर्फबाट धिमे बाजा तथा लाखे नृत्य प्रस्तुत गरिएको थियो ।
दौडमा सहभागी महिलाहरूले यसै साता बाराको जीतपुरसिमरा नगरपालिकामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिकाप्रति न्यायको माग गर्दै ‘जस्टिस फर गरिमा चौधरी’ लेखिएको प्लेकार्ड बोकेर मौन प्रदर्शनसमेत गरेका थिए ।
प्रकाशित समय : १६:५५ बजे


















