गृहपृष्ठ सिमरामा ३ वर्षीया बालिकाको हत्या घटनामा प्रहरीको लापरबाही भएको सांसद अन्सारीको आरोप

सिमरामा ३ वर्षीया बालिकाको हत्या घटनामा प्रहरीको लापरबाही भएको सांसद अन्सारीको आरोप

सिमरामा ३ वर्षीया बालिकाको हत्या घटनामा प्रहरीको लापरबाही भएको सांसद अन्सारीको आरोप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहवर अन्सारीले बाराको सिमरामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीको गम्भीर लापरबाही रहेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद अन्सारीले इलाका प्रहरी कार्यालय सिमराको अकर्मण्यताका कारण बालिकाको ज्यान गएको दाबी गरे । उनले घटनाप्रति प्रहरीको फितलो उपस्थिति र अनुसन्धान प्रक्रियामाथि प्रश्न उठाउँदै गृह मन्त्रालयको ध्यानाकर्षण गराए ।

उनले भने,‘ बारा जिल्ला, सिमरा वडा नम्बर १ मा जुन ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भयो, त्यो विषयलाई अलि म अर्कै ढंगले भन्न चाहन्छु । बारा जिल्लाको इलाका प्रहरी कार्यालय, सिमरा, यो लापरबाही र लेनदेनको केन्द्रविन्दु बनेर रहेको छ । गृह मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु । आज दुई जना नालायक प्रहरी अफिसरका कारण ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ । त्यहाँ प्रहरीले खोजेको होइन । बालिका हराएपछि प्रहरीलाई जानकारी गराएको २४ घण्टासम्म पनि कुनै पनि प्रहरी कतै परिचालन भएको छैन । जब छिमेकीले ७२ घण्टापछि यहाँ शवको गन्ध आइरहेको छ भन्ने थाहा पाएँ, त्यसपछि प्रहरी र प्रहरीको कुकुर सबै गएका छन् । इलाकाका प्रहरी अफिसरहरूलाई तानेर हुन्छ कि कारबाही गरेर हुन्छ, प्रहरीको एक्सन लक थाहा हुनुपर्यो । १ घण्टामा प्रहरीले के गर्यो ?२ घण्टामा के गर्यो ? ६ र १२ घण्टामा के गर्यो ?’

अन्सारीका अनुसार बारा जिल्ला, सिमरा वडा नम्बर १ मा बालिका हराएको जानकारी प्रहरीलाई गराइए पनि त्यसपछि लामो समयसम्म खोजीका लागि प्रहरी परिचालन भएन । बालिका हराएको ७२ घण्टापछि स्थानीयले शवबाट दुर्गन्ध आएको थाहा पाएपछि मात्रै प्रहरी र प्रहरीको कुकुर घटनास्थलमा पुगेको उनको दाबी छ ।

उनले घटनामा इलाका प्रहरी कार्यालयका सम्बन्धित प्रहरी अधिकारीमाथि छानबिन गरी कारबाही गर्न माग गरे । बालिका हराएपछि प्रहरीले एक, दुई, छ र १२ घण्टामा के–कस्तो खोजी तथा अनुसन्धान गर्याे भन्ने विवरण सार्वजनिक गर्नुपर्ने उनको भनाइ थियो ।

‘प्रहरीले छिनछिनको घटनाको अपडेट दिन सक्नुपर्छ । स्थानीय वा अरूले शव फेला पारेपछि मात्रै कुकुर र प्रहरी पुगेर हामीले छानबिन गर्दै छौँ भन्नुको कुनै तुक छैन,’ अन्सारीले भने ।

उनले घटनाको प्रारम्भिक चरणमै प्रहरी सक्रिय हुनुपर्ने भन्दै घटनापछि मात्रै अनुसन्धानमा पुगेको प्रहरीलाई जवाफदेही बनाउनुपर्ने बताए । साथै, इलाका प्रहरी कार्यालय सिमरा लापरबाही र लेनदेनको केन्द्र बनेको आरोप लगाउँदै त्यसबारे गृह मन्त्रालयले गम्भीर रूपमा ध्यान दिनुपर्ने माग गरे ।

प्रकाशित समय : १५:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु