गृहपृष्ठ जडीबुटीका बिरुवा वितरणसँगै किसानलाई खेतीको तालिम

जडीबुटीका बिरुवा वितरणसँगै किसानलाई खेतीको तालिम

जडीबुटीका बिरुवा वितरणसँगै किसानलाई खेतीको तालिम

कैलाली। व्यावसायिक जडीबुटी खेतीलाई प्रोत्साहन गर्न वनस्पति अनुसन्धान केन्द्रअन्तर्गतको देवहरिया वनस्पति उद्यान, धनगढीले किसानलाई बिरुवा वितरणसँगै खेतीसम्बन्धी तालिम दिन थालेको छ ।

केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा व्यावसायिक रूपमा जडीबुटी खेती गर्न इच्छुक तथा व्यक्तिगत प्रयोजनका लागि बिरुवा रोप्न चाहने किसानलाई विभिन्न प्रजातिका १८ हजार ८२६ बिरुवा वितरण गरेको छ । चिउरी, नीम, तेजपात, शीतलचिनी, कुरिलो र सर्पगन्धालगायतका बिरुवा वितरण गरिएको वनस्पति अनुसन्धान केन्द्रका निमित्त प्रमुख मदनराज भट्टले जानकारी दिए ।

केन्द्रले वार्षिक ५० हजार जडीबुटीका बिरुवा उत्पादन गर्ने लक्ष्य राखेकोमा लक्ष्यभन्दा बढी ५० हजार ५०० बिरुवा उत्पादन गरेको जनाएको छ । मापदण्ड बनाएर प्रत्येक आर्थिक वर्षमा किसानलाई बिरुवा वितरण गर्दै आएको केन्द्रले सुदूरपश्चिममा जडीबुटी खेती विस्तारका लागि तालिमसमेत सञ्चालन गर्दै आएको छ ।

गत आर्थिक वर्षमा धनगढीस्थित देवहरिया वनस्पति उद्यानमा चारवटा सामुदायिक वन उपभोक्ता समितिमा आबद्ध ३५ जना तथा चुरे गाउँपालिका–स्थित फल्टुडेका सामुदायिक वन र स्थानीय किसान गरी २९ जनालाई जडीबुटी खेतीसम्बन्धी तालिम दिइएको थियो ।

तालिम सञ्चालन गर्नुअघि सम्बन्धित क्षेत्रमा जडीबुटीको उपलब्धता, खेतीको सम्भावना र माटोको उर्वराशक्तिलगायतका विषयमा अध्ययन गरिने भट्टले बताए । त्यसपछि मात्रै खेतीका लागि उपयुक्त क्षेत्र पहिचान गरी तालिम सञ्चालन गर्ने गरिएको उनको भनाइ छ ।

केन्द्रले आर्थिक वर्ष २०८१/८२ मा पनि चुरे गाउँपालिका–३ मा २९ र चुरे–४ गर्भामा २५ गरी ५४ जनालाई जडीबुटी खेतीसम्बन्धी तालिम दिएको थियो । कैलाली र कञ्चनपुरका पाँचवटा जडीबुटी समूह तथा सहकारीलाई समेत तालिम दिइएको केन्द्रले जनाएको छ ।

त्यस्तै, गत आवमा उत्पादन गरिएका करिब चार हजार ५०० चिउरीका बिरुवामध्ये गोदावरी नगरपालिका–४ स्थित सामुदायिक वनलाई ३००, चुरे गाउँपालिका–५ भगवती सामुदायिक वन उपभोक्ता समितिलाई एक हजार ५०० र चुरे–६ स्थित श्रीसिद्ध हरियाली सामुदायिक वन उपभोक्ता समितिलाई एक हजार बिरुवा वितरण गरिएको थियो ।

चिउरीको फूल माहुरीका लागि उपयोगी मानिन्छ भने यसको दानाबाट घिउ उत्पादन गर्न सकिन्छ । जडीबुटी खेतीमा संलग्न समूह तथा सहकारीलाई केन्द्रले अनुदानको व्यवस्था पनि गर्दै आएको भट्टले बताए ।

यसैबीच, देवहरिया वनस्पति उद्यानमा आर्थिक वर्ष २०८२/८३ मा ५८ हजार ३० जनाले अवलोकन तथा भ्रमण गरेका छन् । उनीहरूबाट ११ लाख ७८ हजार ३२६ रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०८१/८२ मा भने एक लाख २२ हजार ८५९ जनाले उद्यान अवलोकन गरेका थिए, जसबाट २४ लाख ५५ हजार ६७५ रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

१४९ दशमलव ५ हेक्टर क्षेत्रफलमा फैलिएको देवहरिया वनस्पति उद्यान प्राकृतिक हरियालीसँगै जैविक विविधताका लागि पनि महत्वपूर्ण मानिन्छ । उद्यानभित्र जखौर, मुरफुट्टा र मुरफुट्टी गरी तीनवटा प्राकृतिक ताल छन् । जडीबुटी अनुसन्धान तथा संरक्षणसँगै पर्यटकीय र पर्यावरणीय दृष्टिले समेत उद्यानको छुट्टै महत्व रहेको छ ।

प्रकाशित समय : १३:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु