गृहपृष्ठ दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला
दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला
नारायणगढ । चितवनको रत्ननगर नगरपालिका–६ बछ्यौलीका ५० महिला सामूहिक दुग्धजन्य उद्योग सञ्चालन गरेर आत्मनिर्भर बन्न थालेका छन् । नारी चेतना मध्यवर्ती महिला उद्यमी समूहमा आबद्ध महिलाले स्थानीय दूधको विविधीकरण गर्दै डेरी पसल सञ्चालनमा ल्याएका हुन् ।
सौराहामा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई स्थानीय उत्पादन चखाउने र स्थानीय कृषि तथा पशुपालनलाई पर्यटनसँग जोड्ने उद्देश्यले डेरी सञ्चालन गरिएको समूहकी अध्यक्ष सुष्मा पौडेलले बताइन् ।
डेरीमा दूध, दही, घिउ, पनिर, चिज, बटर, आइसक्रिम, खुवा, चिया र कफीलगायतका परिकार बिक्रीका लागि राखिएको छ । अहिले मही, दूध, दही, घिउ, पनिर र खुवालगायतका दुग्धजन्य पदार्थ उत्पादन भइरहेको छ ।
पौडेलका अनुसार उद्योग स्थापना गर्न प्रदेश सरकारबाट १० लाख रुपैयाँ अनुदान प्राप्त भएको थियो । बाँकी १२ लाख ५० हजार रुपैयाँ ५० जना सेयर सदस्यबाट प्रतिव्यक्ति २५ हजार रुपैयाँका दरले जुटाइएको हो ।
हाल उद्योगले दैनिक करिब २०० लिटर दूध संकलन गर्दै त्यसबाट विभिन्न दुग्धजन्य पदार्थ उत्पादन तथा बिक्री गर्दै आएको छ । माग बढ्दै गए उत्पादन क्षमता विस्तार गर्ने योजना समूहको छ ।
समूहमा आबद्ध केही महिलाले आफ्नै घरमा पशुपालन गर्दै आएका छन् । उनीहरूबाट दूध संकलन गरी उद्योगमा प्रयोग भइरहेको छ । आगामी दिनमा थप महिलालाई पशुपालनमा जोडेर समूहकै सदस्यबाट आवश्यक दूध आपूर्ति गर्ने योजना रहेको पौडेलले बताइन् ।
पौडेलले आफूले चार–पाँच वर्षदेखि डेरी सञ्चालन गर्दै आएको र त्यसबाट राम्रो आम्दानी भएपछि अन्य महिलालाई समेत रोजगारी र उद्यमशीलतामा जोड्ने उद्देश्यले सामूहिक उद्योग सुरु गरिएको बताइन् ।
सौराहा पर्यटकीय क्षेत्र भएकाले स्थानीय उत्पादनका लागि बजारको समस्या नरहेको समूहको भनाइ छ । पर्यटकलाई स्थानीय स्वाद चखाउनेसँगै महिलालाई रोजगारी र आयआर्जनमा जोड्ने उद्देश्यले सञ्चालन गरिएको उद्योगले स्थानीय उत्पादनको बजारीकरणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ
प्रकाशित समय : १३:४३ बजे


















