गृहपृष्ठ लोमान्थाङमा साहसिक घोडा दौड प्रतियोगिता सम्पन्न

लोमान्थाङमा साहसिक घोडा दौड प्रतियोगिता सम्पन्न

लोमान्थाङमा साहसिक घोडा दौड प्रतियोगिता सम्पन्न

मुस्ताङ । समुद्री सतहदेखि करिब चार हजार मिटरको उचाइमा रहेको उपल्लो मुस्ताङको लोमान्थाङमा मङ्गलबार साहसिक घोडा दौड प्रतियोगिता सम्पन्न भएको छ ।

धार्मिक तथा सांस्कृतिक पर्व यार्तुङको अवसरमा आयोजित प्रतियोगितामा छोटो दूरीको कदम घोडा दौड र लामो दूरीको ‘बास्का’ घोडा दौड गरी दुई विधामा प्रतियोगिता सञ्चालन गरिएको हो । लोमान्थाङ गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना लोमान्थाङले संयुक्त रूपमा यार्तुङ पर्व आयोजना गरेका हुन् ।

कदम घोडा दौडतर्फ लोमान्थाङ गाउँपालिका–५ का ताम्दिछिमे गुरुङको ‘क्याम्बा’ नामको घोडा प्रथम भई च्याम्पियन बनेको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङका कान्छा गुरुङको घोडा दोस्रो र घरपझोङ गाउँपालिका–५ चिम्लेङका कर्म गुरुङको घोडा तेस्रो भएको छ ।

टसी नाम्ग्याल गुरुङको घोडा दोस्रो र टेकबहादुर तामाङको घोडा तेस्रो भएको थियो । प्रतियोगितामा चार समूहका सात घोडाबीच प्रतिस्पर्धा गराइएको थियो ।

लोमान्थाङभित्रको बाटोमा आयोजना गरिएको प्रतियोगितामा मुस्ताङसँगै मनाङबाट समेत घोडा दौडमा सहभागी भएका थिए । मूल्याङ्कनका लागि लोमान्थाङ गाउँका स्थानीय प्रतिनिधिलाई निर्णायकका रूपमा खटाइएको थियो । कदम घोडा दौडका विजेताले नगद दुई लाख ५० हजार, दोस्रोले रु दुई लाख र तेस्रो हुनेले एक लाख ५० हजार पुरस्कार प्राप्त गरेका छन् ।

यसैगरी, यार्तुङ पर्वका अवसरमा आयोजित लामो दूरीको ‘बास्का’ घोडा दौड प्रतियोगितामा कास्की घान्द्रुकका विवेक मगरको घोडा च्याम्पियन बनेको छ । उहाँको घोडाले यसअघि चराङ यार्तुङमा च्याम्पियनको उपाधि जितेको थियो ।

करिब तीन किलोमिटर दूरीमा भएको बास्का घोडा दौडमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ झारकोटका नाम्डुल गुरुङको घोडा दोस्रो र तेस्रो स्थानमा क्रमशः इज्वल सुनार र अनिल सुनारले हाँकेको घोडा परेको थियो ।

बास्का घोडा दौडका विजेताले एक लाख ५० हजार, दोस्रोले एक लाख र तेस्रो हुनेले ५० हजार पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगिताका विजेतालाई मुस्ताङी सांस्कृतिक राजा जिग्मे सिङ्गे पलवर विष्टले नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरेको थिए ।

 

 

प्रकाशित समय : ०४:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु