गृहपृष्ठ राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो
राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो
म्याग्दी । पहिरो पीडितले बस्ती खाली गरेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुपारेको सामुदायिक वन क्षेत्रको सार्वजनिक जग्गामा बस्दै आएकाहरुको अस्थायी घरटहरा हटाइएको छ ।
गाउँपालिकाले पटक–पटक ताकेता गरी अस्थायी टहरामा बस्दै आएकालाई बस्ती खाली गर्न आग्रह गरेको थियो । अस्थायी टहरामा बस्दै आएकाले आफैँ बस्ती छाडेपछि मङ्गलबार डोजर परिचालन गरिएको हो ।
गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेल, वडा नम्बर ३ का वडाअध्यक्ष खिमबहादुर शाहीसहितको टोली राहुपारेमा पुगेर अस्थायी टहराका संरचनालाई डोजर लगाएर हटाएको हो ।
विसं २०७२ जेठ १० गते गएको बैँसरी पहिरोबाट विस्थापित भएका राहुपारेमा अस्थायी टहरा बनाएर बसोबास गर्दै आएको र उनीहरुको वैकल्पिक बसोबासको व्यवस्था अन्यत्र गर्न लगाएर बस्ती खाली गर्न लगाइएको थियो ।
गाउँपालिकाको असार ३१ गतेको कार्यपालिका बैठकको निर्णयअनुसार राहुपारे क्षेत्रमा सार्वजनिक जग्गा, सडकको अधिकार क्षेत्र तथा सार्वजनिक उपयोगका लागि छुट्याइएको स्थानलाई अतिक्रमित गरी निर्माण गरिएका टहरा हटाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानकारी दिए ।
“पटकपटकको ताकेतापछि अस्थायी रुपमा बसोबास गर्दै आएकाहरुले बस्ती छाडेर गएपछि त्यहाँ रहेका टहरालाई हटाइएको छ,” उनले भने, “गाउँपालिकाभित्र सार्वजनिक जग्गा अतिक्रमण भएका अन्य ठाउँको खोजी गरी त्यसलाई अतिक्रमणमुक्त बनाउने अभियानमा गाउँपालिका लागेको छ ।”
राहुपारेमा बसोबास गर्दै आएका बैँसरीका पहिरो पीडितको अन्यत्र वैकल्पिक बसोबास गर्ने ठाउँ भएपछि गाउँपालिकाले सार्वजनिक सूचना र मौखिक रुपमा समेत ठाउँ खाली गर्न अनुरोध गरेको थियो । पछिल्लो पटक गाउँपालिका र अस्थायी टहरामा बसोबास गर्दै आएकाहरुसँग साउन मसान्तभित्र राहुपारे अस्थायी बस्तीलाई खाली गर्ने सहमति भएको थियो ।
एघार वर्षदेखि सार्वजनिक जग्गामा अस्थायी टहरा बनाई बसोबास गर्दै आएकालाई आफ्नै घरजग्गामा फर्कन अनुरोध गरेबमोजिम बस्ती छाडेर गएपछि त्यहाँ रहेका टहरा भत्काउने र भौतिक संरचनाको फोहोरलाई व्यवस्थित गर्ने काम गरिएको गाउँपालिका अध्यक्ष भण्डारीले जानकारी दिए ।
अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाको पहाडबाट खसेको पहिरोले बैँसरी बस्ती पुरिएपछि विस्थापित २६ घरमध्ये केही पुरानै पहिरो गएको बैँसरीमा फर्किएका थिए भने केहीले गलेश्वर, बेनी पोखरालगायतका ठाउँमा बसोबास गर्दै आएका थिए ।
हाल चार परिवारले राहुपारेमा बस्दै आएका थिए । गाउँपालिकाको अनुरोध र निर्देशनबमोजिम बस्ती खाली गरेपछि त्यहाँ रहेका टहरा हटाउन डोजर लगाइएको गाउँपालिकाले जनाएको छ ।
प्रकाशित समय : ०४:४० बजे


















