गृहपृष्ठ सानिमा रिलायन्स लाइफको ‘क्लब अचिभर्स इभेन्ट २०८३’ सम्पन्न
सानिमा रिलायन्स लाइफको ‘क्लब अचिभर्स इभेन्ट २०८३’ सम्पन्न
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘क्लब अचिभर्स इभेन्ट २०८३’ भव्य रूपमा सम्पन्न गरेको छ। ललितपुरस्थित होटल रोयल टुलिप काठमाडौंमा आयोजित कार्यक्रममा क्लब योजनाअन्तर्गत सफलता हासिल गरेका देशभरका बीमा सल्लाहकारलाई सम्मान तथा प्रोत्साहन गरिएको हो।
कार्यक्रममा कम्पनीका सञ्चालक समितिका अध्यक्ष रतनलाल केडिया, सञ्चालकहरू भरतकुमार तोदी र केशवराज केसी तथा प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेसहित उच्च व्यवस्थापनको उपस्थिति थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केडियाले क्लब सदस्यता हासिल गर्न सफल बीमा सल्लाहकारलाई बधाई दिँदै कम्पनीप्रति देखाएको विश्वास तथा व्यवसाय वृद्धिमा पुर्याएको योगदानका लागि धन्यवाद व्यक्त गरे।
प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले बीमा सल्लाहकार कम्पनीको मेरुदण्ड रहेको बताउँदै उनीहरूको प्रोत्साहनका लागि आगामी दिनमा पनि विभिन्न कार्यक्रम सञ्चालन गरिने बताए। डेपुटी सीईओ निराजन कँडेलले टिमवर्क र सहकार्यबाट व्यावसायिक सफलता हासिल गर्न सकिने धारणा राखे।
कम्पनीले आर्थिक वर्ष २०८२/८३ को अभिकर्ता प्रोत्साहन योजनाअन्तर्गत गोधूली, पृथ्वी, अग्नि, आकाश, ग्यालेक्सी र कस्मस क्लब योजना सञ्चालन गरेको जनाएको छ। तोकिएको व्यक्तिगत कोड तथा टिम व्यवसायअन्तर्गत न्यूनतम बीमाशुल्कको लक्ष्य पूरा गर्ने अभिकर्तालाई क्लब सदस्यता प्रदान गरिन्छ।
कार्यक्रममा क्लबका सहभागी तथा व्यक्तिगत कोड र टिम व्यवसायअन्तर्गत देशभरबाट उत्कृष्ट तीन स्थान हासिल गर्न सफल बीमा अभिकर्तालाई सम्मान गरिएको थियो।
कार्यक्रममा सन् २०१० की मिस नेपाल सदिक्षा श्रेष्ठले सञ्चालन गरेकी थिइन्। गायक महेश काफ्ले, गायिका अस्मिता अधिकारी तथा हास्य कलाकार सुन्दर खनाललगायतको प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको थियो।
सानिमा रिलायन्स लाइफले डिजिटल सेवा विस्तार, दाबी प्रक्रिया सहजता, ग्राहक सम्पर्क प्रणाली सुदृढीकरण तथा दीर्घकालीन विश्वास निर्माणमार्फत आफूलाई जीवन बीमा क्षेत्रमा स्थापित गर्दै आएको जनाएको छ। कम्पनीका अनुसार हाल देशभर १६९ शाखामार्फत सेवा प्रदान भइरहेको छ। कम्पनीको पुँजी ५ अर्ब रुपैयाँभन्दा बढी, लगानी २७ अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने १७ हजारभन्दा बढी अभिकर्ता सक्रिय छन्।
प्रकाशित समय : १५:४१ बजे















