गृहपृष्ठ विदेशमा नेपाल खोज्दै’ : भीम उदासमा तीन ‘क’ विशेषता

विदेशमा नेपाल खोज्दै’ : भीम उदासमा तीन ‘क’ विशेषता

विदेशमा नेपाल खोज्दै’ : भीम उदासमा तीन ‘क’ विशेषता

काठमाडौं । एनआरएनए अभियन्ता एवम् सर्जक भीम उदासद्वारा लिखित तथा सिमल बुक पब्लिकेशनद्वारा प्रकाशित कृति ‘विदेशमा नेपाल खोज्दै’को एक विशेष कार्यक्रमका बीच परिचर्चा गरिएको छ ।

सो क्रममा पूर्वअर्थमन्त्री कोइरालाले सर्जक भीम उदासमा तीन ‘क’ विशेषताको रूपमा रहेको बताए।

कुटनीतिज्ञ, कलमजीवी र कर्मयोगीको संज्ञा दिँदै उनले एनआरएनका अहिले समृद्धिको यात्रामा रहेको बताए। भीम उदासको पुस्तक ‘विदेशमा नेपाल खोज्दै’

आत्मकथा जस्तै भएको बताउँदै आत्मकथा सत्यतथ्यमा आधारित हुनेहुँदा उदासमा इमानदारी रहेको बताए।

शब्दहरू ज्यादै फारु गरेर लेखेको पुस्तक रोचक रहेको उनको भनाइ थियो। केही समयअघि नै लोकार्पण भइसकेको कृतिका बारेमा बोल्दै समालोचक प्रमोद प्रधानले हामी सबैको आ–आफ्नो कथा हुन्छ व्यथा हुन्छ तर हामी अभिलेख गर्न अल्छी गर्छौँ जुन अभिलेख एउटा इतिहास हुने बताए।

सर्जक भीम उदासले आफू बसेको ठाउँको आफ्नो कामको कथा व्यथालाई अभिलेखिकरण गरेर एउटा इतिहास रच्न सफल भएको बताए।

यूएनको जागिरे भएर गएको देशमा उनले नेपालीहरूको खोजी गरेको भेटघाट गर्ने गरेको र अनि नेपालहरूलाई संगठित पनि गरेको बताए।

धेरै देशमा कुटनीतिक काम गरेका उदासले रुसमा छँदा रसियन भाषा साहित्यलाई नेपालीमा र नेपाली भाषा साहित्यलाई रसियन भाषामा अनुवाद गर्न लगाएर भाषा साहित्यमा ठूलो योगदान पुर्याएको बताए।

एनआरएनको अवधारणा तयार गर्ने पहिलो व्यक्ति भएर पनि उदास एनआरएनको संस्थापक अध्यक्ष हुन नपाएको तीतो सत्य उजागर गर्दै समालोचक प्रधानले अध्यक्ष बन्न नपाउनुको कारण यूएनको जागिरे हुनु र त्यसपछि अर्को राजनीति भएको बताए।

जुन गन्तव्यका लागि हामी लड्ने गर्छौँ फर्केर फेरि त्यही ठाउँमा आइपुग्छौँ भन्दै उनले अहिलेको राजनीतिक परिवेश तथा भनसुनको स्थितिलाई पनि सङ्केत गरेका थिए।

सर्जक भीम उदासले अर्को पुस्तालाई नेपाली भाषा सिकाउने, जोगाउने, नेपालीले विदेशमा कमाएको पैसालाई कसरी उपयुक्त क्षेत्रमा लगानी गर्दा देशको उन्नति हुन्छ भनेर उदाहरण दिएका थिए। सर्जक उदासको मेहनत र समर्पण बारे बोल्दै उनले सभ्य भाषामा नेपाली चरित्रको राम्रो चित्रण गरेको बताए।

धेरै वर्षअघिको पेरिस भ्रमणको कुरा उठाउँदै विदेशमा नेपाली दूतावासको भौतिक स्थिति बारे पनि उनले बोलेका थिए।

इतिहासविद् प्राडासुरेन्द्र केसीले अन्तर्राष्ट्रिय सेवाको बहानामा विदेशमै बसेर रमाउने र उतै हराउने काम नगरेका भीम उदासको प्रशंसा गर्दै एनआरएनको अवधारणा तयार गर्ने श्रेय पाएका उदासलाई राज्यका तर्फबाट प्रतिफल पाउने आशा नराख्न सुझाए।

एनआरएनको थुप्रै कन्फ्रेन्सको चर्चा गर्दै उनले भीम उदासको प्रयास तयार भएको अवधारणालाई नेपाली इतिहासको रूपमा सरकारले ल्याउनुपर्ने बताए।

लेखकीय मन्तव्य राख्दै सर्जक भीम उदासले एनआरएनए पुस्तकको कथा व्यथा भएको बताए। विदेशमा रहेका नेपालीहरूको पहिचान, नागरिकता, सीमा, भूगोल, भाषा र संस्कृतिको चर्चा गर्दै उनले एनआरएनए एक मात्र व्यवस्थित आधिकारिक संस्था भएको बताए।

विदेशमा रहेर देशको सेवा गर्नेप्रति समर्पित भनिएको पुस्तक बिक्रीबाट प्राप्त रकम भोजपुरको विद्याधरी पुस्तकालयलाई हस्तान्तरण गरिने कुरा उदासले बताए।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले आफ्नो स्वागत मन्तव्यमा सर्जक भीम उदास साहित्यिक, कुटनीतिक र सामाजिक अभियन्ता समेत भएको बताए।

स्पष्ट वक्ताका रूपमा रहेका म्यानमारका लागि पूर्व नेपाली राजदूत उदासले विदेशमा रहेका नेपालीहरूको एउटा बलियो संगठन बनाउने व्यक्ति भनेर चिनिएको बताए।

वि सं २०१९ सालदेखि साहित्यिक यात्रा गरेका उदासको व्यक्तित्व तथा कृतित्वमाथि पनि संक्षेपमा प्रकाश पारेका थिए। कार्यक्रममा कलाकार मदनदास श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए।

साहित्यिक पत्रकार संघद्वारा आयोजना गरिएको कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व साहित्यकार तथा पूर्वअर्थमन्त्री एस पी कोइराला थिए । साथै इतिहासविद् प्राडा सुरेन्द्र केसी, समालोचक प्रमोद प्रधान, सर्जक भीम उदास, श्रीमती रञ्जना उदास, कलाकार मदनदास श्रेष्ठ, साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष कवि कलाकार नरेन्द्रबहादुर श्रेष्ठ रहेका थिए।

प्रकाशित समय : १३:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु