गृहपृष्ठ नआरएनएको १५ बुँदे सङ्कल्पसहित ‘डब्लिन घोषणापत्र’ जारी

नआरएनएको १५ बुँदे सङ्कल्पसहित ‘डब्लिन घोषणापत्र’ जारी

नआरएनएको १५ बुँदे सङ्कल्पसहित ‘डब्लिन घोषणापत्र’ जारी

काठमाडौँ, २७ साउनः गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली डायस्पोराको अधिकार, नेपालको आर्थिक विकासमा लगानी, ज्ञान तथा सीप परिचालन, सुरक्षित आप्रवासन, श्रमिक अधिकार तथा महिला र युवा सहभागितालाई प्राथमिकतामा राख्दै १५ बुँदे ‘डब्लिन घोषणापत्र २०२६’ जारी गरेको छ।

आयरल्याण्डको राजधानी डब्लिनमा साउन २५ र २६ गते ‘पहिचानमा एकता, लगानीमा अग्रसरता र समृद्धिप्रति प्रतिबद्धता’ भन्ने नाराका साथ सम्मेलन आयोजना गरिएको थियो। सम्मेलनले नेपाल र नेपाली डायस्पोराबीचको सम्बन्धलाई थप सुदृढ, परिणाममुखी र दीर्घकालीन बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

एनआरएनएका अनुसार सम्मेलनमा ३० भन्दा बढी देशबाट १५० भन्दा बढी प्रतिनिधि प्रत्यक्ष तथा सयौँ सहभागी भर्चुअल माध्यमबाट सहभागी भएका थिए। सम्मेलनमा गैरआवासीय नेपाली नागरिकता, कल्याण, युरोपेली लगानी, आर्थिक तथा श्रम कूटनीति, क्षेत्रीय चुनौती र अवसर, महिला तथा युवा सहभागिता, दोस्रो पुस्ताको संलग्नता, डायस्पोराको ज्ञान तथा नवप्रवर्तन र एनआरएनएको पुनःब्रान्डिङलगायत विषयमा छलफल भएको थियो।

सम्मेलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता तथा प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले नेपाली उत्पादन, पर्यटन, संस्कृति तथा कलालाई अन्तरराष्ट्रिय बजारमा प्रवर्द्धन गर्न डायस्पोराको सञ्जाल र व्यावसायिक पहुँचलाई प्रभावकारी रूपमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो।

उहाँले नेपाली उत्पादनको बजार विस्तार, बजारीकरण तथा ब्रान्डिङमा विदेशमा रहेका नेपालीको अनुभव, सीप र सम्पर्कलाई परिचालन गर्नुपर्ने बताउनुभयो।

सम्मेलनलाई नेपाल सरकारका तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनाल तथा एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले भर्चुअल माध्यमबाट सम्बोधन गर्नुभएको थियो।

सम्मेलनमा बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडी, परराष्ट्र मन्त्रालयअन्तर्गत श्रम, आप्रवासन तथा डायस्पोरा समन्वय महाशाखाका उपसचिव कृष्णकुमार सुवेदी, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सरकारी अधिकारी सहभागी थिए।

त्यस्तै निजी क्षेत्र, एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा विभिन्न राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी र प्रतिनिधि, उद्यमी, विज्ञ, महिला तथा युवा नेतृत्व, दोस्रो पुस्ताका गैरआवासीय नेपाली तथा विभिन्न नेपाली समुदायका प्रतिनिधिको पनि सम्मेलनमा सहभागिता रहेको थियो।

सम्मेलनले जारी गरेको घोषणापत्रमार्फत नेपाली डायस्पोराको अधिकार संरक्षण, लगानी प्रवर्द्धन, ज्ञान तथा सीप हस्तान्तरण, सुरक्षित आप्रवासन र श्रमिक अधिकारको संरक्षणसँगै महिला, युवा तथा दोस्रो पुस्ताको सहभागितालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

प्रकाशित समय : २०:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु