गृहपृष्ठ गोलानमा इजरायली दाबीलाई कोलम्बियाको मान्यता

गोलानमा इजरायली दाबीलाई कोलम्बियाको मान्यता

गोलानमा इजरायली दाबीलाई कोलम्बियाको मान्यता

कोलम्बियाको नवनियुक्त दक्षिणपन्थी सरकारले सिरियाबाट सन् १९६७ मा इजरायलले कब्जा गरेको गोलान हाइट्समा इजरायलको सार्वभौमिकता र नियन्त्रणलाई मान्यता दिएको छ । राष्ट्रपति अबेलार्डो डे ला एस्प्रियेला नेतृत्वको सरकारले पदभार सम्हालेको केही दिनमै लिएको यो निर्णयले कोलम्बियाको अघिल्लो सरकारको इजरायलसम्बन्धी नीतिमा ठूलो परिवर्तन ल्याएको छ ।

कोलम्बियाको विदेश मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा गोलान हाइट्समा इजरायली सार्वभौमिकतालाई मान्यता दिँदै बाह्य खतराबाट आफ्नो रक्षा गर्ने इजरायलको अधिकारलाई पनि समर्थन गरिएको जनाएको छ ।

विज्ञप्तिमा गोलान हाइट्समा इजरायलको नियन्त्रण र सार्वभौमिकता कायम रहनु उसको राष्ट्रिय सुरक्षाको आवश्यक पक्ष भएको कोलम्बिया सरकारले स्वीकार गरेको उल्लेख छ ।

सन् १९८१ मा इजरायलले गोलान हाइट्सलाई औपचारिक रूपमा आफ्नो भूभागमा गाभेको घोषणा गरेको थियो । उक्त कदमलाई अन्तर्राष्ट्रिय समुदायले व्यापक रूपमा मान्यता दिएको छैन । संयुक्त राज्य अमेरिका भने त्यसबेला इजरायलको कदमलाई मान्यता दिने एक मात्र देश बनेको थियो ।

संयुक्त राष्ट्रसङ्घले गोलान हाइट्सलाई इजरायली सैन्य कब्जामा रहेको सिरियाली भूभागका रूपमा मान्दै आएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गत महिना पनि इजरायलको कब्जा ‘पूर्णतया अस्वीकार्य’ रहेको दोहोर्‍याउँदै गोलान हाइट्स सिरियाको हिस्सा भएको बताएको थिए ।

कोलम्बियाका राष्ट्रपति डे ला एस्प्रियेलाले शुक्रबार मात्र पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । चुनावी अभियानका क्रममा उनले कोलम्बियाभित्र सक्रिय सशस्त्र समूहविरुद्ध कडा नीति अपनाउने तथा अमेरिका र इजरायलसँग सम्बन्ध थप सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

नवनियुक्त राष्ट्रपतिको सरकारले इजरायलसँग सम्बन्ध सुधार गर्ने नीति अघि बढाइरहेका बेला गोलान हाइट्ससम्बन्धी निर्णय आएको हो । यसअघि वामपन्थी पूर्वराष्ट्रपति गुस्ताभो पेट्रोले गाजामा इजरायली सैन्य कारबाहीको कडा आलोचना गरेका थिउ । उनको सरकारले इजरायलसँग कूटनीतिक सम्बन्ध तोड्नुका साथै कोलम्बियामा इजरायली हतियार आयातमा समेत रोक लगाएको थियो ।

हालका राष्ट्रपति डे ला एस्प्रियेलाले भने इजरायलसँग कूटनीतिक सम्बन्ध पुनःस्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गत महिना उनले इजरायलले आफ्नो राजधानीका रूपमा दाबी गर्दै आएको जेरुसेलममा कोलम्बियाको दूतावास खोल्ने योजना सार्वजनिक गरेका थिउ । जेरुसेलमको हैसियत भने अन्तर्राष्ट्रिय रूपमा विवादित छ र अधिकांश देशले आफ्ना कूटनीतिक नियोग तेल अभिभबाट सञ्चालन गर्दै आएका छन् ।

इजरायलका विदेशमन्त्री गिदोन सारले कोलम्बियाको निर्णयको स्वागत गर्दै राष्ट्रपति डे ला एस्प्रियेलालाई धन्यवाद दिएको छन् । उनले राष्ट्रपतिलाई आफ्नो ‘असल मित्र’ भन्दै गोलान हाइट्ससम्बन्धी मान्यताका लागि आभार व्यक्त गरे ।

विदेशमन्त्री सारका अनुसार राष्ट्रपति डे ला एस्प्रियेलाको शपथ ग्रहण हुनुभन्दा एक दिनअघि कोलम्बियाको बारानक्विलामा भएको भेटमा दुवै पक्षबीच गोलान हाइट्ससम्बन्धी निर्णयमा सहमति भएको थियो ।

शपथ ग्रहण समारोहमा सहभागी हुनुभएका सारले सामाजिक सञ्जाल एक्समा ऐतिहासिक इजरायली भूमिमा यहुदी जनताको निरन्तर अस्तित्व सुनिश्चित गर्न रक्षात्मक सीमाहरू आवश्यक रहेको उल्लेख गरेका छन् ।

गोलान हाइट्स रणनीतिक दृष्टिले महत्त्वपूर्ण उच्च भूभाग हो । सन् १९६७ को मध्यपूर्व युद्धका क्रममा इजरायलले सिरियाबाट यसको ठूलो भाग कब्जा गरेको थियो । सन् १९८१ मा इजरायलले उक्त क्षेत्रलाई आफ्नो कानून, प्रशासन र अधिकार क्षेत्रभित्र ल्याउने निर्णय गरे पनि संयुक्त राष्ट्रसङ्घ र अधिकांश मुलुकले त्यसलाई मान्यता दिएका छैनन् ।

कोलम्बियाको पछिल्लो निर्णय राष्ट्रपति डे ला एस्प्रियेलाले अमेरिका र इजरायलसँग सम्बन्ध सुदृढ गर्ने घोषणा गरेअनुरूप आएको हो । उहाँको सरकारले अघिल्लो प्रशासनको इजरायल तथा गाजासम्बन्धी नीतिबाट स्पष्ट दूरी बनाउँदै नयाँ कूटनीतिक दिशा अघि बढाउने सङ्केत गरेको छ ।

कोलम्बियामा राष्ट्रपति डे ला एस्प्रियेलाले पदभार सम्हालेकै बेला पश्चिमी क्षेत्रमा शक्तिशाली भूकम्प गएर कम्तीमा १११ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद्का बीच सरकारले गोलान हाइट्ससम्बन्धी आफ्नो नयाँ नीति सार्वजनिक गरेको हो ।रासस

प्रकाशित समय : १४:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु