गृहपृष्ठ ‘सिजेरियन’ सेवा ठप्प हुँदा तेह्रथुमका गर्भवतीलाई छ घण्टाको यात्रा

‘सिजेरियन’ सेवा ठप्प हुँदा तेह्रथुमका गर्भवतीलाई छ घण्टाको यात्रा

‘सिजेरियन’ सेवा ठप्प हुँदा तेह्रथुमका गर्भवतीलाई छ घण्टाको यात्रा

तेह्रथुम । जिल्ला अस्पतालमा शल्यक्रियामार्फत प्रसूति (सिजेरियन) सेवा ठप्प हुँदा सेवाग्राही मारमा परेका छन् । गत असार मसान्तदेखि आवश्यक जनशक्तिको अभावमा सिजेरियन सेवा बन्द भएपछि प्राकृतिक तरिकाले सुत्केरी हुने बाहेकका गर्भवतीहरू प्रसूति गराउन धरान, विराटनगर लगायतका तराईका जिल्ला अस्पतालहरूमा जानुपर्ने बाध्यता छ ।

म्याङलुङ नगरपालिका–४ पिप्लेकी निर्मला श्रेष्ठलाई आज बिहान प्रसूति व्यथा लागेपछि जिल्ला अस्पताल ल्याइएको थियो । प्राकृतिक रूपमा प्रसूति हुन नसक्ने अवस्था देखिएपछि शल्यक्रिया गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले उनलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको उनका श्रीमान् सुरेन श्रेष्ठले बताए। “ १० हजार भाडा तिरेर इभी गाडी रिजर्भ गरी सुत्केरी व्यथा लागेको आफ्नो श्रीमतीलाई करिब छ घण्टाको यात्रा गरेर प्रसूति गराउन लैजानुपर्दा निकै समस्या भएको छ,” उनले भने ।

फेदाप गाउँपालिका–१ सिम्लेकी फूलमाया कार्कीले पनि प्रसूति गराउने समय कटिसकेपछि सिजेरियन सेवा उपलब्ध नभएकै कारण बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जानुपरेको बताए । “लामो समयदेखि जिल्लामा यो सुविधा पाइरहेका थियौँ । आफ्नै सन्तान जन्माउने समयमा सेवा नपाउँदा दुःख लागेको छ,” उनले भने, “सुत्केरी हुनका लागि तराईका जिल्ला जानुपर्दा आर्थिक भार त पर्छ नै चिसो ठाउँमा बसेका मान्छेलाई गर्मीका कारण पनि असहज हुन्छ । जिल्लामै सेवा पाए हावापानी अनुकूल हुनुका साथै खर्च पनि कम हुन्थ्यो । चाँडोभन्दा चाँडो जिल्ला अस्पतालबाटै सेवा सञ्चालन हुनुपर्छ ।”

जिल्ला अस्पताल प्रशासनका अनुसार विगत १० वर्षदेखि ‘निक साइमन’ नामक गैरसरकारी संस्थाको सहयोगमा प्रसूति शल्यक्रियाका लागि आवश्यक जनशक्ति व्यवस्थापन हुँदै आएको थियो । उक्त संस्थाले एमडिजिपी चिकित्सक, मेडिकल अधिकृत, स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, बायोमेडिकल टेक्निसियन र एनेस्थेसिया असिस्टेन्ट गरी छ जना जनशक्ति व्यवस्थापन गर्दै आएको थियो ।

निक साइमनको परियोजना समाप्त भएपछि आवश्यक जनशक्तिको अभावमा सिजेरियन सेवा बन्द भएको जिल्ला अस्पताल तेह्रथुमका सूचना अधिकारी महेन्द्रकुमारी खड्काले बताए । उनका अनुसार सामान्य अवस्थामा जिल्ला अस्पतालमा महिनामा ३० देखि ३५ जनासम्मले प्रसूति सेवा लिने गरेका थिए तर असार मसान्तदेखि सिजेरियन सेवा बन्द भएपछि चालु महिनामा हालसम्म छ जनाले मात्रै अस्पतालबाट प्रसूति सेवा लिएका छन् ।

सिजेरियन सेवा आवश्यक पर्ने गर्भवतीलाई पाँचदेखि छ घण्टाको सडक यात्रापछि मात्र तराईका सुविधासम्पन्न अस्पतालमा पुर्‍याउनुपर्ने भएकाले जोखिम मोल्न नचाहने सेवाग्राही जिल्ला अस्पतालमा प्रसूति सेवा लिन नआउने गरेको उनले बताए ।

आर्थिक वर्ष २०८२र८३ मा जिल्ला अस्पताल तेह्रथुमबाट ४४ जनाको शल्यक्रियामार्फत प्रसूति गराइएको थियो । हाल प्राकृतिक रूपमा हुने प्रसूतिबाहेक कृत्रिम औषधि प्रयोग गर्नुपरेमा पहिलो सन्तान ‘अप्रेसन’बाट सुत्केरी गराइएका गर्भवतीलाई जिल्ला बाहिरका अस्पतालमा ‘रेफर’ गर्ने गरिएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा खड्गलाल पयाङ्गु लिम्बूले बताए ।

उनका अनुसार सिजेरियन सेवा पुनः सञ्चालनका लागि एमडिजिपी चिकित्सक उपलब्ध गराउन जिल्ला अस्पतालले प्रदेश स्वास्थ्य मन्त्रालयसँग माग गरिरहेको छ । एनेस्थेसिया सेवाका लागि आवश्यक जनशक्ति भने अस्पताल विकास कोषबाट व्यवस्थापन गर्ने तयारी भइरहेको उनले बताए । जिल्ला अस्पतालमा तेह्रथुमका अतिरिक्त छिमेकी जिल्ला सङ्खुवासभाको मादी, मूलखर्कलगायत क्षेत्रबाट समेत सेवाग्राही प्रसूति सेवा लिन आउने गरेका छन् ।

 

प्रकाशित समय : १८:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु