गृहपृष्ठ सङ्कटमा असला माछाः संरक्षणको योजना बनाउँदै पालिका

सङ्कटमा असला माछाः संरक्षणको योजना बनाउँदै पालिका

सङ्कटमा असला माछाः संरक्षणको योजना बनाउँदै पालिका

बागलुङ । असला माछा उत्पादन गर्नेमा प्रसिद्ध बागलुङको जैमिनी नगरपालिकाको ठउलेखोलामा माछा लोप हुने थालेपछि स्थानीय सरकारले संरक्षणको योजना बनाएको छ । जिल्लाका स्थानीय खोलामा पाइने असला माछा लोप हुन थालेपछि स्थानीय सरकारले संरक्षणका लागि माछा मार्न प्रतिबन्ध लगाउनेलगायत योजना बनाउन थालेको हो ।

बागलुङका स्थानीय खोलामा पाइने रैथाने असलामाछा हराउने चुनौती बढेपछि बागलुङमा एकपछि अर्को स्थानीय तहले माछा मार्न कडाई गर्न थालेका छन् । गलकोट नगरपालिकाले तीन वर्षयता प्रजनन समयमा माछा मार्न प्रतिबन्ध लगाउँदै आएको छ । गलकोटको दरमखोलामा पाइने असला माछा देशभरि प्रसिद्ध छ । गत वर्ष तराखोला गाउँपालिकाले माछा मार्नमा कडाइ गर्न थालेको थियो । ताराखोला गाउँपालिका र बागलुङका काठेखोला गाउँपालिकाले एक वर्ष अघिदेखि माछा मार्न कडाइ गर्दै संरक्षणको नीति लिएका हुन् ।

यस वर्षदेखि जैमिनी नगरपालिकाले ठेउलेखोलासहित अन्य खोलामा तीन महिना माछा मार्न रोक लगाउँदै अनुमतिको व्यवस्था गरेको छ । ठेउलेखोला, टिमुर खोला, कालुङ्खोला, चौरीखोला, लौवालगायत स्थानीय खोलामा पाइने असला र अन्य स्थानीय जातका माछा संरक्षणसँगै स्थानीयलाई रोजगारी सृजना गर्नका लागि नगरसभाबाट नीति तथा कार्यक्रम ल्याएर कार्यान्वयन गरिएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिए ।

“ठेउले खोलाको असला माछा निकै स्वादिष्ट मानिन्छ, रातिको समयमा माछामा विष हाल्ने तथा करेन्ट लगाएर मार्ने गतिविधिले उत्पादन घटेको पाइयो । नगरपालिकाले माछा मार्न इच्छुकलाई इजाजत दिएर प्रजनन अवधिबाहेकको समयमा आम्दानी बढाउन सघाउँनेछ”, शर्माले भन्नुभयो, “फूल पार्ने तथा उत्पादन गर्ने समयमा माछा मार्दा यसको बासस्थान हराएर जाने र कालान्तरमा स्थानीय ९रैथाने० जातको माछा फेला नपर्ने अवस्था आउन नदिन नगरपालिका सचेत छ । प्रहरीलाई पनि सक्रिय बनाएका छौँ ।”

खोलामा माछा मार्नुअघि अनिवार्य रूपमा अनुमति (इजाजत) लिनुपर्ने व्यवस्था लागू गरिएको उपप्रमुख शर्माले बताउनुभयो । जलचर तथा जैविक विविधताको संरक्षण, दिगो उपयोग र माछा उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकाले नीति लिएको उनको भनाइ छ ।

माछालाई परम्परागत शैलीमा मात्र मार्न पाइनेगरी नगरपालिकाले नीति लिएको हो । विद्युतीय उपकरण तथा विषादी हालेर माछा मार्न थालेपछि यसको अस्तित्व सङ्कटमा पर्ने भन्दै स्थानीयले पटकपटक नगरपालिकाको ध्यानाकर्षण गराउँदै आएका थिए ।

स्थानीय पदमबहादुर श्रीसले यहाँको ठेउलेखोलामा पाइने असला माछा चोरी सिकारीका कारण घट्न थालेका बताए। उनले रातिमा करेन्ट लगाएर माछा मार्ने काम भइरहेको बताउँदै संरक्षणमा पालिकाले ध्यान नदिए ठेउलेखोलाका असला माछाको पहिचान सकिनेमा चिन्ता व्यक्त गरे ।

“एकरातमा २५ किलो माछा मारेर लैजानेगरी टाढाटाढाबाट युवा आएका हुन्छन् । ठेउलेखोलाको स्वादिष्ट असला माछा सधैँभरि चाख्न यहाँकै स्थानीयले मार्ने र स्थानीय बजारबाटै बिक्री गर्ने व्यवस्थामा नगरपालिका अघि बढोस् । माछा मार्न प्रतिबन्द लगाउने कार्य सह्रानीय छ”, श्रीसले भने । करेन्ट लगाएर माछा मार्दा भु्रणसमेत मर्ने भएकाले माछा लोप हुने अवस्थामा पुग्ने उनले गुनासो गरे।

जैमिनीको पहिचानको रुपमा स्थापित भइसकेको ठेउलेखोलाको असला माछा जोगाउन सके स्थानीयलाई रोजगारीसँगै रेष्टुराको परिकारमा थप स्वाद आउने छ । नगरपालिकाले प्रजनन संरक्षणका लागि भदौ, असोज र कात्तिक महिनाभर माछा मार्न पूर्ण रूपमा प्रतिबन्ध लगाउँदै आएको छ । यस अवधिमा माछा मार्ने, समात्ने वा अन्य कुनै गतिविधि गरेको पाइए कारबाही गर्ने चेतावनी नगरपालिकाले दिएको छ ।

गलकोट नगरपालिकाले माछा मार्न प्रतिबन्ध लगाएपछि पछिल्ला वर्षमा उत्पादनमा वृद्धि भएको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले जानकारी दिए । पालिकाहरूले इजाजत नलिई जलचरको उपयोग गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिएका छन् ।

जलचर संरक्षण तथा व्यवस्थापन अभियानमो प्रहरीलाई खबर गरेर सहयोग गर्न पनि नगरपालिकाले स्थानीयको ध्यानाकर्षण गराएको छ । माछालाई परम्परागत तरिकाले मात्रै मारेर व्यावसायिक बनाउँदै युवालाई स्वरोजगार गराउन पालिकाले संरक्षणको योजनामा ध्यान दिएको हो ।

 

प्रकाशित समय : १७:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु