काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अस्पतालभित्र प्रवेश गरी स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेमाथि तत्काल कारबाही गर्न माग

1.68K
shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वस्वास्थ्य मन्त्री प्रदीप पौडेलले कालीकोटको पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको शृङ्खलाबद्ध आक्रमण तथा दुव्र्यवहारको घोर निन्दा गरेका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत उनले दुर्गम क्षेत्रमा स्वास्थ्यकर्मी पठाउन कठिन भइरहेको अवस्थामा दूरदराजमा नागरिकको सेवामा खटिएका चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मी आफ्नै कार्यस्थलमा असुरक्षित हुनु दुःखद र चिन्ताजनक विषय भएको बताए ।

‘कालीकोटको पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको शृङ्खलाबद्ध आक्रमण र दुव्र्यवहार घोर निन्दनीय छ,’ उनले भने, ‘एकातिर दुर्गम क्षेत्रमा स्वास्थ्यकर्मी पठाउनै मुस्किल छ, अर्कोतिर ज्यान हत्केलामा राखेर दूरदराजमा नागरिक सेवामा खटिएका चिकित्सक तथा नर्स लगायतका स्वास्थ्यकर्मीहरू आफ्नै कार्यस्थलमा असुरक्षित हुनु अत्यन्तै दुखद र चिन्ताजनक छ ।’

उनले अस्पतालभित्रै प्रवेश गरी स्वास्थ्यकर्मीमाथि आक्रमण भएको घटनाको तत्काल सम्पूर्ण छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न माग गरे ।

‘अस्पतालभित्रै पसेर आक्रमण भएको घटनाको तत्काल छानबिन गरि कानुनबमोजिम कारबाही गरियोस्,’ उनले भने, ‘नागरिकको ज्यान बचाउनेहरूको आफ्नै ज्यान जोखिममा पर्दा सरकारले शान्ति सुरक्षाको व्यवस्थापनमा थप गम्भीरता र संवेदनशीलता देखाओस् । सम्पूर्ण स्वास्थ्यकर्मीलाई भयरहित वातावरणमा काम गर्ने अवस्था सुनिश्चित गरियोस् ।’

पौडेलले नागरिकको ज्यान बचाउने स्वास्थ्यकर्मीको आफ्नै ज्यान जोखिममा पर्ने अवस्था आउनु गम्भीर विषय भएको बताए । उनले सरकारले शान्ति–सुरक्षाको व्यवस्थापनमा थप गम्भीरता र संवेदनशीलता देखाउनुपर्ने बताए ।