काठमाडौं । पर्यटन व्यवसायी सुमन पाण्डेले नेपालको पर्यटन क्षेत्र अहिले ओभर इन्भेस्टमेन्ट, घट्दो व्यवसाय र दक्ष जनशक्तिको अभावजस्ता चुनौतीसँग जुधिरहेको बताएका छन् । विशेष कुराकानीमा उनले पर्यटन क्षेत्रको दिगो विकासका लागि नीतिगत सुधारसँगै बजार विश्लेषण, सेवा गुणस्तर र मानव पूँजी विकासमा विशेष ध्यान दिनुपर्ने बताएका हुन् ।
पाण्डेका अनुसार नेपालको पर्यटन सेवाको स्तर एसियाकै राम्रो सेवामध्ये एक मानिन्छ । अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपाली आतिथ्य र सेवाले सकारात्मक पहिचान बनाएको भए पनि पछिल्लो समय होटल तथा रेस्टुरेन्ट क्षेत्रमा आवश्यकता भन्दा बढी लगानी हुँदा व्यवसायिक दबाब बढेको छ ।
उनले पर्यटन पूर्वाधारमा भएको अत्यधिक लगानी र वास्तविक पर्यटक आगमनबीचको असन्तुलनले सेवा क्षेत्रमा नकारात्मक असर पर्न थालेको बताए । ‘नेपालको सेवास्तर अन्तर्राष्ट्रिय बजारमा राम्रो मानिन्छ । तर आवश्यकताभन्दा धेरै होटल र रेस्टुरेन्ट खुलेपछि व्यापार विभाजित भयो । आर्थिक मन्दीका कारण व्यवसाय घट्दै जाँदा सेवा गुणस्तरमा पनि सम्झौता हुन थालेको छ,’ उनले भने ।
पाण्डेका अनुसार कुनैपनि होटललाई वर्षभर सञ्चालनयोग्य बनाउन कम्तीमा ६० देखि ८० प्रतिशतसम्म अकुपेन्सी आवश्यक पर्छ । त्यो स्तर कायम हुन नसके होटल व्यवसाय घाटामा जाने र त्यसको असर बैंकिङ प्रणालीदेखि रोजगारीसम्म पर्ने उनको भनाइ छ । व्यवसाय घाटामा गएपछि कर्मचारीले समयमा तलब पाउँदैनन्, होटलले बैंकको ऋण तिर्न सक्दैनन । व्यवसायी ब्ल्याकलिस्टमा पर्न थाल्छन् । यसले बैंकिङ क्षेत्रलाई समेत असर गर्छ,‘ उनले भने ।
उनले पर्यटन क्षेत्रमा नयाँ लगानी स्वीकृत गर्नुअघि बजारको माग, सम्भावित पर्यटक संख्या र व्यवसायिक सम्भाव्यता अध्ययन अनिवार्य गर्नुपर्ने सुझाव दिए । ‘या त हामीले व्यापार बढाउनुपर्छ, या त ओभर इन्भेस्टमेन्ट रोक्नुपर्छ । लगानीअघि बजारको वास्तविक माग विश्लेषण गरेर मात्रै अनुमति दिने प्रणाली आवश्यक छ,‘उनले बताए ।
दक्ष जनशक्ति उत्पादन
व्यवसायी पाण्डेले आगामी दशकमा पर्यटन क्षेत्रले सामना गर्ने सबैभन्दा ठूलो चुनौती दक्ष जनशक्ति अभाव हुने चेतावनी दिए । पर्यटन उद्योगमा काम गर्ने जनशक्तिलाई ‘ह्युमन क्यापिटल’ को संज्ञा दिँदै उनले यसको दीर्घकालीन योजना अहिलेबाटै सुरु गर्नुपर्ने बताए ।
उनका अनुसार विभिन्न अन्तर्राष्ट्रिय अध्ययनहरूले सन् २०३५ सम्म विश्व पर्यटन क्षेत्रमा करिब ४ करोड ३० लाख जनशक्तिको अभाव हुने देखाएका छन् । त्यसमध्ये चीनमा मात्रै १ करोड ७५ लाख, भारतमा १ करोड १५ लाख र युरोपमा करिब ६५ लाख जनशक्ति अभाव हुने अनुमान गरिएको छ । ‘विश्व पर्यटन उद्योग नै जनशक्ति संकटतर्फ गइरहेको छ । नेपाल पनि त्यसबाट अछुतो रहने अवस्था छैन,‘ उनले भने ।
पाण्डेले नेपालमा होटल, रेस्टुरेन्ट तथा आतिथ्य उद्योगमा अहिले नै दक्ष जनशक्तिको अभाव देखिन थालेको बताए । प्रशिक्षण प्राप्त जनशक्ति विदेश पलायन हुने क्रम तीव्र रहेको उल्लेख गर्दै उनले यसलाई अवसर र चुनौती दुवैका रूपमा लिनुपर्ने धारणा राखे ।
पर्यटन शिक्षालाई प्राथमिकता
उनले पर्यटन शिक्षालाई विद्यालय तहबाटै सुरु गर्नुपर्ने प्रस्ताव पनि अघि सारे । कक्षा ८ देखि पर्यटनसम्बन्धी विषय पढाउन सकिए विद्यार्थीहरूलाई प्रारम्भिक अवस्थामै आतिथ्य उद्योगबारे व्यावसायिक ज्ञान दिन सकिने उनको तर्क छ ।
‘इतिहास, भूगोल र समाजशास्त्रका केही अंशलाई समायोजन गरेर कक्षा ८ देखि नै पर्यटन शिक्षा सुरु गर्नुपर्छ । १२ कक्षा पास गर्दा विद्यार्थीहरू होटल व्यवस्थापनको स्नातक सरह व्यावहारिक क्षमता भएका जनशक्ति बन्न सक्छन्,‘ उनले भने ।
यसले नेपालभित्र मात्रै होइन, अन्तर्राष्ट्रिय श्रम बजारमा समेत नेपाली युवाको प्रतिस्पर्धात्मक क्षमता बढ्ने उनको विश्वास छ । विदेशमा रोजगारी गरेर कमाएको सीप, अनुभव र पूँजी अन्ततः नेपालमै फर्किने भएकाले यसले दीर्घकालीन आर्थिक लाभ दिने उनले बताए ।
‘हाम्रो अर्थतन्त्र रेमिट्यान्समा आधारित छ । यदि युवाहरूलाई अन्तर्राष्ट्रियस्तरको पर्यटन शिक्षा र सीप दिन सकियो भने उनीहरूले विश्व बजारमा राम्रो आम्दानी गर्न सक्छन् । पछि नेपाल फर्केर लगानी र उद्यम पनि गर्न सक्छन्,‘उनले भने । पाण्डेले पर्यटन शिक्षामा विश्वविद्यालय र कलेजहरूको बढ्दो रुचिलाई सकारात्मक संकेतका रूपमा उल्लेख गर्दै आगामी सन् २०४० सम्मको पर्यटन जनशक्ति रणनीति तयार गर्न सरकार, निजी क्षेत्र र शैक्षिक संस्थाहरूबीच सहकार्य आवश्यक रहेको बताए ।
उनका अनुसार नीतिगत सुधार, डिजिटल प्रविधिको प्रयोग, पर्यटन उत्पादनको विविधीकरण, पूर्वाधार विस्तार, अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन र दक्ष मानव स्रोत विकासलाई एकीकृत रूपमा अघि बढाउन सके नेपालले सन् २०४० सम्म ६३ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य हासिल गर्न सक्छ ।
‘पर्यटन क्षेत्रको पुनर्जागरणका लागि सरकार, निजी क्षेत्र र विज्ञहरूबीच निरन्तर संवाद र सहकार्य आवश्यक छ । पर्यटन विकास एउटा निरन्तर प्रक्रिया हो, जसमा नयाँ विचार र सुधारहरू थपिँदै जानुपर्छ,‘ उनले भने ।
पर्यटन क्षेत्रको रूपान्तरणका लागि निजी क्षेत्र पनि राज्यलाई आवश्यक सुझाव र सहयोग गर्न तयार रहेको उल्लेख गर्दै पाण्डेले नेपालको आर्थिक समृद्धिको प्रमुख आधारमध्ये एक पर्यटन बन्न सक्ने विश्वास व्यक्त गरे ।
नीतिगत सुधार
पाण्डेले सेवा गुणस्तर सुधारको मूल आधार व्यवसाय विस्तार नै भएको उल्लेख गर्दै पर्यटक संख्या बढाउन व्यापक नीतिगत सुधार आवश्यक रहेको बताए । पुराना नीति, जटिल भिसा प्रणाली, प्रतिबन्धित क्षेत्रसम्बन्धी व्यवस्था तथा नयाँ पर्यटन प्रवृत्तिलाई सम्बोधन गर्न नसक्दा नेपालले ठूलो अवसर गुमाइरहेको उनको बुझाई छ ।
उनका अनुसार नेपालमा लामो समयसम्म पर्यटनलाई सुरक्षा जोखिम र तस्करीसँग जोडेर हेर्ने प्रवृत्ति रह्यो । यसले पर्यटनमैत्री नीतिको विकास हुन सकेन । ‘पर्यटनको नकारात्मक पक्षलाई नियन्त्रण गर्दै सकारात्मक पक्षलाई अधिकतम उपयोग गर्ने दिशामा राज्य अघि बढ्नुपर्छ,‘उनले भने ।
पाण्डेले नेपालको भिसा प्रणालीलाई तत्काल आधुनिक र डिजिटल बनाउनु आवश्यक रहेको बताए । अहिले पनि विदेशी पर्यटकले लामो फाराम भर्नुपर्ने, विमानस्थलमा लाइन बस्नुपर्ने तथा जटिल प्रक्रिया पूरा गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनले यसले नेपालबारे नकारात्मक सन्देश जाने बताए ।
उनले अन्तर्राष्ट्रिय अभ्यासअनुसार डिजिटल भिसा प्रणाली लागू गर्न सुझाव दिए । ‘पर्यटकले मोबाइल एपमार्फत आफ्नो विवरण भर्ने, पासपोर्टको क्यूआर कोड स्क्यान गरेर जानकारी अपलोड गर्ने, अनलाइन भुक्तानी गर्ने र डिजिटल भिसा लिएर नेपाल आउने व्यवस्था गर्नुपर्छ,‘ उनले भने । यस्तो प्रणालीले यात्रुका लागि सुविधा बढ्नुका साथै नेपालको आधुनिक छवि निर्माणमा समेत सहयोग पुग्ने उनको भनाइ छ ।
पाण्डेका अनुसार हुम्ला, सिमिकोट, मुस्ताङ, मनास्लु लगायतका कतिपय क्षेत्रलाई अझै पनि प्रतिबन्धित क्षेत्रको रूपमा राख्नु समयसापेक्ष छैन । उनले नेपालका अधिकांश भूभाग विदेशी पर्यटकका लागि खुला गर्नुपर्ने धारणा व्यक्त गरे । ‘सम्पूर्ण नेपाली भूभागलाई पर्यटकमैत्री बनाउन सकियो भने नयाँ गन्तव्यको विकास हुनेछ,‘ उनले बताए ।
विशेष भिसाको व्यवस्था
उनले पछिल्लो समय विश्वभर लोकप्रिय बन्दै गएको ‘डिजिटल नोम्याड’ अवधारणालाई नेपालले अवसरका रूपमा लिनुपर्ने बताए । अहिले धेरै पेशाकर्मीहरू ल्यापटप बोकेर विभिन्न देशमा बसेर काम गर्ने प्रवृत्ति बढेको उल्लेख गर्दै उनले यस्ता व्यक्तिका लागि विशेष भिसा व्यवस्था गर्नुपर्ने धारणा राखे ।
‘थाइल्यान्ड, इन्डोनेसिया लगायतका देशले डिजिटल नोम्याडलाई लक्षित नीति ल्याइसकेका छन् । नेपालले पनि उनीहरूलाई दीर्घकालीन बसोबास र कामको सुविधा दिने गरी विशेष भिसा दिनुपर्छ,‘ उनले भने ।
उनले ‘वर्केसन’ पर्यटनको सम्भावना पनि उल्लेख गरे । विदेशका अनुभवी चिकित्सक, इन्जिनियर, प्राविधिक तथा विशेषज्ञहरू नेपाल आएर केही समय स्वयंसेवा गर्ने, स्थानीय जनशक्तिलाई तालिम दिने वा ज्ञान आदानप्रदान गर्ने वातावरण निर्माण गर्न सकिने उनको भनाइ छ ।
‘विदेशका विशेषज्ञहरूलाई केही वर्षका लागि बहुप्रवेश भिसा दिएर नेपालमा समय–समयमा आएर काम गर्न सक्ने व्यवस्था गरियो भने पर्यटनसँगै ज्ञान र सीप हस्तान्तरणको अवसर पनि सिर्जना हुन्छ,‘ उनले बताए ।
बिजनेस टुरिजम
पाण्डेले विश्वभर तीव्र रूपमा विस्तार भइरहेको ‘बिजनेस टुरिजम’ नेपालको अर्को सम्भावना भएको बताए । संयुक्त अरब इमिरेट्स (यूएई) को उदाहरण दिँदै उनले विदेशीलाई नेपालमा कम्पनी दर्ता गर्न, बैंकिङ सेवा लिन तथा अन्तर्राष्ट्रिय व्यापार सञ्चालन गर्न सहज वातावरण दिनुपर्ने धारणा राखे ।
‘नेपालको मौसम, प्राकृतिक वातावरण र भौगोलिक अवस्थाले विदेशी व्यवसायीलाई आकर्षित गर्न सक्छ। यहाँ कम्पनी दर्ता गरेर संसारभर व्यापार गर्न सक्ने वातावरण निर्माण गरियो भने व्यवसायिक कारणले विदेशीहरू बारम्बार नेपाल आउँछन,‘उनले भने ।
उनले ‘रेसिडेन्सियल टुरिजम’ अर्थात् बसोबासमुखी पर्यटनलाई पनि महत्व दिनुपर्ने बताए । विदेशी नागरिकलाई व्यवस्थित ढंगले फ्ल्याट वा आवासीय सम्पत्ति खरिद गर्न दिने नीति ल्याउन सकिए नेपालमा दीर्घकालीन विदेशी बसोबास बढ्न सक्ने उनको भनाइ छ ।
‘युरोप र अमेरिकाका धेरै निवृत्त व्यक्तिहरू मासिक पेन्सन लिएर अन्य देशमा बस्ने गर्छन् । उनीहरू नेपालमा आएर बस्न थाले भने उनीहरूको खर्च प्रत्यक्ष रूपमा नेपाली अर्थतन्त्रमा प्रवाह हुन्छ,‘ उनले बताए ।


















