गृहपृष्ठ सार्वजनिक ऐलानी जग्गामा ८ हजार बिरुवा रोपियो
सार्वजनिक ऐलानी जग्गामा ८ हजार बिरुवा रोपियो
पर्सा । पर्साको जगरनाथपुर गाउँपालिकाले सार्वजनिक तथा ऐलानी पर्ती जग्गामा वृक्षारोपण गरेको छ । गाउँपालिकाले वृक्षारोपण अभियानलाई निरन्तरता दिँदै बुधबार वडा नं ६ औराहास्थित ८ बिगाहा सार्वजनिक ऐलानी पर्ती जग्गामा आठ हजार बिरुवा रोपेको हो ।
‘समृद्धिका लागि वन’ परियोजनाअन्तर्गत उक्त क्षेत्रमा आँप, लिची, कटहर, जामुन, मेवा, मोहगनी, अम्बा, टिक र सिसौलगायतका विभिन्न प्रजातिका ८ हजार बिरुवा रोपिएको गाउँपालिकाका वन शाखा प्रमुख पप्पु यादवले जानकारी दिए । वृक्षारोपण गरिएको क्षेत्रलाई तारबार गरी संरक्षणको व्यवस्था गरिएको छ ।
वन तथा वातावरण संरक्षणमा उत्कृष्ट काम गरेकामा सङ्घीय सरकारबाट सम्मानसमेत प्राप्त गरिसकेको गाउँपालिकाले यसअघि पनि ‘समृद्धिका लागि वन’ परियोजनाअन्तर्गत वडा नं ४ को सोहपुर–सोहरीस्थित छ बिगाहा क्षेत्रफलमा वृक्षारोपण गरिसकेको छ ।
यस्तै, वडा नं १ को पिडारी गुठीस्थित सात बिगाहा तथा वडा नं २ को दसौतास्थित १२ र १५ बिगाहा ऐलानी जग्गामा वृक्षारोपण गरेको थियो ।
गाउँपालिका अध्यक्ष श्रीकान्तप्रसाद यादवले वडा नं २ को लक्ष्मीपुरस्थित २० बिगाहा ऐलानी जग्गामा एक साताभित्र वृक्षारोपण गर्ने तयारी भइरहेको जानकारी दिए । उनले ऐलानी तथा सार्वजनिक जग्गामा वृक्षारोपण गर्दा ती जग्गाको संरक्षण हुनुका साथै हरियाली प्रवद्र्धन, वातावरण संरक्षण र दीर्घकालीन रूपमा स्थानीय समृद्धिमा पनि योगदान पुग्ने विश्वास व्यक्त गरे ।
प्रकाशित समय : ०६:०० बजे


















