global ime bank Long Banner Ad

गृहपृष्ठ जापानको क्युशुमा ७.१ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी फिर्ता

जापानको क्युशुमा ७.१ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी फिर्ता

जापानको क्युशुमा ७.१ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी फिर्ता

जापानको दक्षिणी मुख्य टापु क्युशुको कुमामोतो क्षेत्रमा मङ्गलबार सात दशमलव एकम्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण केही भवन तथा पूर्वाधारमा क्षति पुग्नुका साथै आगलागी र मानिस घाइते भएका घटना सार्वजनिक भएका छन् ।

जापानको मौसम विज्ञान एजेन्सी ९जेएमए०ले सुरुमा कुमामोतो, नागासाकी, फुकुओका र सागा प्रिफेक्चरका पश्चिमी तट तथा आसपासका आरियाके र यात्सुशिरो सागरमा सुनामीको चेतावनी जारी गरे पनि करिब दुई घण्टापछि फिर्ता लिएको थियो ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले सुरुमा भूकम्पको तीव्रता सात दशमलव एक म्याग्निच्युड रहेको जनाए पनि पछि संशोधन गरी छ दशमलव आठ म्याग्निच्युड कायम गरेको छ ।

प्रधानमन्त्री सानाए ताकाइचीले सम्भावित क्षतिको विवरण सङ्कलन, मूल्याङ्कन तथा आवश्यक उद्धारकार्यका लागि सरकारले कार्यदल गठन गरेको बताउनुभएको छ । उनका अनुसार सडक, पुल तथा भवनमा क्षति पुगेको, विद्युत् आपूर्ति अवरुद्ध भएको र केही स्थानमा आगलागी भएको छ । केही मानिस घाइते भएको उनले जानकारी दिएको छन् ।

क्योदो समाचार एजेन्सीका अनुसार यात्सुशिरो सहरको एउटा अस्पतालमा भूकम्पमा घाइते भएका करिब ४० जनालाई उपचारका लागि भर्ना गरिएको छ । यात्सुशिरो स्टेसनमा एउटा रेल लिकबाट बाहिरिएको तथा कुमामोतो दरबारको ढुङ्गाको पर्खालमा क्षति पुगेको जनाइएको छ ।

नजिकैको माशिकी सहरमा एउटा मन्दिरका ढुङ्गाका लालटिन भत्किएका छन् । स्थानीय बासिन्दाले भूकम्पको धक्काले सन् २०१६ मा कुमामोतोमा गएको शक्तिशाली भूकम्पको स्मरण गराएको बताएका छन् ।

जापानको अग्नि तथा विपद् व्यवस्थापन एजेन्सीले प्रमुख सार्वजनिक संरचना तथा पूर्वाधारमा ठूलो क्षति पुगेको विवरण प्राप्त नभएको जनाएको छ । यद्यपि, स्थानीय दमकल कार्यालयमा आगलागी र घरमा क्षति पुगेको जानकारीसहित धेरै आपत्कालीन फोन आएका छन् ।

जेएमएका भूकम्प तथा सुनामी प्रतिरोध योजना अधिकारी शिन्जी कियोमोटोले भूकम्पपछि क्षेत्रमा भूकम्पीय गतिविधि बढेको बताउँदै आगामी दुइदेखि तीन दिनसम्म विशेष सतर्क रहन बासिन्दालाई आग्रह गरेका छन् । उनले हालसम्म भूकम्पका कारण सुनामी नदेखिएको जानकारी दिएको छन् ।

जापानको आणविक नियमन प्राधिकरणका अनुसार नजिकका तीन आणविक ऊर्जा केन्द्रमा कुनै असामान्य अवस्था देखिएको छैन ।

भूकम्पपछि क्युशुमा शिन्कानसेन बुलेट रेल तथा स्थानीय रेल सेवा सुरक्षा जाँचका लागि स्थगित गरिएको छ । आसो कुमामोतो विमानस्थलको धावनमार्ग पनि बन्द गरिएको छ । जापानी रक्षा मन्त्रालयले अवस्थाको मूल्याङ्कनका लागि प्रभावित क्षेत्रमा विमान पठाएको जनाएको छ ।

कुमामोतोमा सन् २०१६ मा गएको शक्तिशाली भूकम्पमा ५० भन्दा बढी मानिसको मृत्यु हुनुका साथै करिब एक हजार ८०० जना घाइते भएका थिए । त्यसबेला दशौँ हजार घरमा क्षति पुगेको थियो ।

प्रकाशित समय : २०:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु