गृहपृष्ठ असारसम्म खपत भएको बिजुलीमा लागेको भ्याट भदौको बिलमा समायोजन हुने
असारसम्म खपत भएको बिजुलीमा लागेको भ्याट भदौको बिलमा समायोजन हुने
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको विद्युत्मा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट गर्दै त्यस अवधिको बिलमा उठाइएको भ्याट आगामी भदौ महिनाको बिलमा समायोजन गरिने जनाएको छ।
प्राधिकरणका अनुसार आन्तरिक राजस्व विभाग र ठूला करदाता कार्यालयको स्पष्ट निर्देशनअनुसार उपभोक्ताबाट असुल गरिएको भ्याट रकमलाई अग्रिम भुक्तानीका रूपमा गणना गरी भदौ महिनाको विद्युत् महसुलमा मिलान गरिने व्यवस्था गरिएको हो।
प्राधिकरणले जारी गरेको सूचनामा ग्राहकले भुक्तानी गरिसकेको भ्याट रकम स्वतः आगामी बिलमा समायोजन हुने भएकाले त्यसका लागि छुट्टै प्रक्रिया अपनाउन नपर्ने उल्लेख गरिएको छ।
विद्युत् महसुल मासिक खपतका आधारमा निर्धारण हुने भएकाले असारमा खपत भएको विद्युत्को बिल साउनमा जारी हुँदा आर्थिक ऐन, २०८३ अनुसार भ्याट लाग्ने वा नलाग्ने विषयमा अन्योल देखिएको थियो। सोही विषयमा स्पष्टता माग्दै प्राधिकरणले साउन ८ गते आन्तरिक राजस्व विभाग र ठूला करदाता कार्यालयलाई पत्राचार गरेको थियो।
यसैबीच, आन्तरिक राजस्व विभागले सोमबार जारी गरेको सूचनामार्फत असार मसान्तसम्म भएको विद्युत् खपतको बिलमा भ्याट नलाग्ने स्पष्ट पारेको छ। विभागका अनुसार साउन १ गतेदेखि भएको विद्युत् खपतमा भने न्यूनतम (डिमाण्ड) शुल्कसहित नियमानुसार भ्याट लाग्नेछ।
मूल्य अभिवृद्धि कर ऐनअनुसार अन्तिम उपभोक्ताका लागि पाँच प्रतिशत र अन्य उपभोक्ताका लागि १३ प्रतिशत भ्याट लाग्ने व्यवस्था छ। विभागले विद्युत् प्राधिकरणले लिने शुल्क विद्युत् सेवाको अभिन्न अङ्ग भएकाले साउन १ पछि हुने खपतमा भ्याट लागू हुने जनाएको छ।
यसअघि प्राधिकरणले असार मसान्तसम्मको विद्युत् खपतको बिलमा समेत भ्याट समावेश गरेर बिल पठाएपछि उपभोक्ताबाट व्यापक गुनासो आएको थियो। त्यसपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विषयमा चासो देखाउँदै समाधानका लागि पहल गरेका थिए।
प्रकाशित समय : ०५:५५ बजे



















