global ime bank Long Banner Ad

गृहपृष्ठ अंग्रेजी भाषा शिक्षणको भविष्यबारे ब्रिटिस काउन्सिलको तीनदिने क्षेत्रीय सम्मेलन

अंग्रेजी भाषा शिक्षणको भविष्यबारे ब्रिटिस काउन्सिलको तीनदिने क्षेत्रीय सम्मेलन

अंग्रेजी भाषा शिक्षणको भविष्यबारे ब्रिटिस काउन्सिलको तीनदिने क्षेत्रीय सम्मेलन

काठमाडौं । ब्रिटिस काउन्सिलले अंग्रेजी भाषा शिक्षणको भविष्य, सिर्जनशील शिक्षण पद्धति, समावेशिता र प्रविधिको प्रयोगबारे केन्द्रित ‘साउथ एसिया टिचिङ इङ्लिस अनलाइन कन्फ्रेन्स २०२६’ आयोजना गर्ने भएको छ। जुलाई २३ देखि २५ सम्म सञ्चालन हुने सम्मेलनमा दक्षिण एसियाका शिक्षक, अनुसन्धानकर्ता र शिक्षा क्षेत्रका विज्ञ सहभागी हुनेछन्।

ब्रिटिस काउन्सिलका अनुसार सम्मेलनमा सिर्जनशीलता, आलोचनात्मक सोच, प्रभावकारी सञ्चार, विद्यार्थीको सहभागिता र प्रविधिमैत्री शिक्षण पद्धतिमार्फत बदलिँदो विश्वका लागि विद्यार्थीलाई कसरी तयार पार्न सकिन्छ भन्ने विषयमा छलफल हुनेछ। सम्मेलनमा सहभागी हुन इच्छुकका लागि निःशुल्क व्यवस्था गरिएको छ।

दक्षिण एसियाका शैक्षिक प्रणालीले पाठ्यक्रम, मूल्याङ्कन र विद्यार्थीको बदलिँदो आवश्यकताबीच सन्तुलन कायम गर्नुपर्ने चुनौती सामना गरिरहेका बेला सम्मेलनले त्यसैसँग सम्बन्धित विषयलाई प्राथमिकतामा राख्ने जनाएको छ। अंग्रेजी भाषा शिक्षणलाई भाषिक दक्षतामा मात्र सीमित नराखी आलोचनात्मक सोच, सहकार्य, विद्यार्थीको आत्मनिर्णय क्षमता र सिकाइप्रतिको स्वामित्व विकाससँग जोड्ने विषयमा पनि छलफल हुने बताइएको छ।

सम्मेलनमा बंगलादेश, भारत, नेपाल, पाकिस्तान र श्रीलंकाका विज्ञले सिर्जनशील शिक्षण, बहुभाषिक कक्षाकोठालाई समावेशी बनाउने उपाय, विद्यार्थीको आवाज सशक्त बनाउने अभ्यास तथा कृत्रिम बुद्धिमत्ता (एआई) लाई शिक्षणको विकल्प नभई पूरकका रूपमा उपयोग गर्ने विषयमा अनुभव आदानप्रदान गर्नेछन्।

मुख्य प्रस्तुति, विषयगत छलफल, कक्षाकोठाका अनुभव र असल अभ्यासमार्फत सहभागीले दक्षिण एसियाका साझा शैक्षिक चुनौती तथा त्यसका समाधानबारे जानकारी पाउने ब्रिटिस काउन्सिलले जनाएको छ। सम्मेलनले शिक्षकलाई विद्यार्थीको अर्थपूर्ण सहभागिता बढाउने र विविध पृष्ठभूमिका विद्यार्थीका लागि सिकाइका अवसर विस्तार गर्ने व्यवहारिक उपायबारे पनि जानकारी दिने अपेक्षा गरिएको छ।

ब्रिटिस काउन्सिल नेपालका कन्ट्री डाइरेक्टर रुस्तम मोदीले प्रभावकारी सञ्चार, सहकार्य र आलोचनात्मक सोचजस्ता सीप विकासका लागि सिर्जनशीलता अपरिहार्य रहेको बताए। उनले सम्मेलनले अनुसन्धानमा आधारित अभ्यास, व्यवहारिक रणनीति र कक्षाकोठामा लागू गर्न सकिने नवीन अवधारणाबारे शिक्षक तथा शिक्षा क्षेत्रका सरोकारवालाबीच अनुभव आदानप्रदान गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे।

प्रकाशित समय : १७:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु