अब वैदेशिक रोजगार ठगीको उजुरी अनलाइनबाटै
वि.सं.२०८३ साउन ५ मंगलवार १५:५२
shares

काठमाडौं । वैदेशिक रोजगारीका नाममा ठगीमा परेकाले अब उजुरी दर्ता गर्न वैदेशिक रोजगार विभाग धाउनुपर्ने बाध्यता हटेको छ। सरकारले अनलाइनमार्फत उजुरी दर्ता गर्ने र त्यसको कारबाही प्रक्रिया समेत ट्र्याक गर्न सकिने व्यवस्था लागू गरेको छ।
युवा, श्रम तथा रोजगार मन्त्रालयले साउन १ गतेदेखि ‘उजुरी डोफे गभर्मेन्ट नेपाल’ पोर्टल सञ्चालनमा ल्याएको हो। यसमार्फत वैदेशिक रोजगार ठगीका पीडितले घरमै बसेर मोबाइल वा कम्प्युटरबाट आवश्यक प्रमाणसहित उजुरी दर्ता गर्न सक्नेछन्। उजुरी दर्तापछि त्यसको अवस्था र कारबाही प्रक्रिया कहाँ पुगेको छ भन्ने जानकारी पनि अनलाइनबाटै लिन सकिने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।
सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले वैदेशिक रोजगार विभाग पुगेर पोर्टलको अवलोकन गरेका थिए। उनले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न र पीडितलाई छिटो न्याय दिलाउन अनलाइन प्रणाली प्रभावकारी हुने बताए।
‘अब ठगीसम्बन्धी मुद्दा दर्ता गर्न काठमाडौं धाइरहनुपर्दैन। घरमै बसेर अनलाइनमार्फत उजुरी दर्ता गर्न र त्यसको कारबाही प्रक्रिया बुझ्न सकिने व्यवस्था गरिएको छ,’ मन्त्री यादवले भने।
विभागका अनुसार पीडितले पोर्टलमा आवश्यक विवरण र प्रमाण अपलोड गरी उजुरी दर्ता गरेपछि विभागले अध्ययन गरी प्रक्रिया अघि बढाउनेछ। उजुरी दर्ता भएसँगै सम्बन्धित व्यक्तिको मोबाइल र इमेलमा सूचना पठाइनेछ। साथै उपलब्ध गराइने ‘ट्र्याकिङ कोड’ प्रयोग गरेर जुनसुकै समयमा उजुरीको प्रगति हेर्न सकिनेछ।
साउन १ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको यो प्रणालीमार्फत चार दिनमै १४ वटा उजुरी दर्ता भइसकेको विभागले जनाएको छ। प्रणालीको प्रयोग विस्तार गर्न विभागका कर्मचारीले समेत अभ्यास गरिरहेका छन्। कार्यालयमा फाइल बोकेर आउने सेवाग्राहीको उजुरी पनि अहिले यही प्रणालीमार्फत दर्ता गरिँदै आएको विभागका एक कर्मचारीले बताए। अधिकांश सेवाग्राहीलाई अनलाइन उजुरी प्रणालीबारे जानकारी नहुँदा उनीहरू अझै कार्यालयमै पुग्ने गरेका छन्।
विभागमा भेटिएका वसन्त थापाले अनलाइन उजुरी दिन सकिने जानकारी आफूलाई नभएको बताए। उनले यस्तो व्यवस्था सबै नागरिकसम्म पुग्ने गरी प्रचार–प्रसार गर्नुपर्ने धारणा राखे।
नवलपरासीका रोहित कुर्मीले छ महिनाअघि उजुरी दर्ता गर्न काठमाडौं आउँदा यात्रा र बसाइमा ठूलो खर्च भएको स्मरण गर्दै नयाँ प्रणालीले समय र खर्च दुवै बचाउने विश्वास व्यक्त गरे।
भैरहवाकी बबिता भट्टराईले आफूलाई क्रोएसिया पठाइदिने भन्दै चिनेजानेकाले १५ लाख रुपैयाँ ठगेको बताइन्। अनलाइन प्रणाली सञ्चालनमा आएसँगै अब घरमै बसेर आफ्नो मुद्दाको प्रगति हेर्न सकिने भएकाले राहत महसुस भएको उनले बताइन्।

























