काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

३३ प्रतिशतले बढ्यो कामना सेवा विकास बैंकको नाफा

2.98K
shares

काठमाडौं।  कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८२/८३ मा नाफादेखि व्यवसाय विस्तारसम्मका अधिकांश वित्तीय सूचकमा सुधार गरेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वार्षिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा ३३.५१ प्रतिशतले बढेर ८९ करोड ४१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकले ६६ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा पनि ३२.८७ प्रतिशतले वृद्धि भई १ अर्ब ३८ करोड २५ लाख रुपैयाँ पुगेको छ। खुद ब्याज आम्दानी ३.९८ प्रतिशतले बढेर २ अर्ब ४१ करोड ८ लाख रुपैयाँ कायम भएको बैंकले जनाएको छ।

वित्तीय विवरणअनुसार बैंकको वितरणयोग्य मुनाफा ६० करोड ११ लाख रुपैयाँ पुगेको छ। यही आधारमा हाल करिब १५.१६ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता रहेको देखिएको छ। बैंकको रिटेन्ड अर्निङ ६० करोड ११ लाख रुपैयाँ तथा जगेडा कोष २ अर्ब १४ करोड १३ लाख रुपैयाँ पुगेको छ, जुन दुवै अघिल्लो आर्थिक वर्षको तुलनामा वृद्धि भएका हुन्।

व्यवसाय विस्तारतर्फ पनि बैंकले प्रगति गरेको छ। गत आर्थिक वर्षमा बैंकले ६६ अर्ब १७ करोड ७५ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ५४ अर्ब २१ करोड १ लाख रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ। दुवै सूचक अघिल्लो वर्षको तुलनामा बढेका छन्।

यस अवधिमा बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) २० रुपैयाँ ७५ पैसा पुगेको छ। प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ १ पैसा तथा मूल्य–आम्दानी अनुपात (पीई रेसियो) २०.८४ गुणा रहेको वित्तीय विवरणमा उल्लेख छ। बैंकका अनुसार समग्र वित्तीय सूचकमा आएको सुधारले संस्थाको वित्तीय अवस्था थप सुदृढ बन्दै गएको संकेत गरेको छ।