गृहपृष्ठ वैदेशिक रोजगारीमा नेपालीको आकर्षण घट्यो, श्रम स्वीकृतिमा ५.६ प्रतिशतले कमी
वैदेशिक रोजगारीमा नेपालीको आकर्षण घट्यो, श्रम स्वीकृतिमा ५.६ प्रतिशतले कमी
काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या घटेको छ । वैदेशिक रोजगार विभागका अनुसार नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृति (बिदामा आएर फर्कने) गरी गत आर्थिक वर्षमा कुल ७ लाख ९२ हजार १८७ श्रम स्वीकृति जारी भएको छ ।
यो अघिल्लो आर्थिक वर्ष २०८१/८२ को ८ लाख ३९ हजार २६६ को तुलनामा ४७ हजार ७९ अर्थात् ५.६ प्रतिशतले कम हो । नेपालको अर्थतन्त्र विप्रेषणमा ठूलो मात्रामा निर्भर रहँदै आएको अवस्थामा वैदेशिक रोजगारीमा जानेको संख्या घट्नु अर्थतन्त्रका लागि चासोको विषय बनेको छ ।
विभागका अनुसार समीक्षा अवधिमा अमेरिका–इरान युद्धका कारण खाडी मुलुकतर्फको हवाई उडान प्रभावित हुँदा नेपाली कामदारको प्रस्थानमा समेत असर परेको थियो ।
गत आर्थिक वर्षमा जारी गरिएका श्रम स्वीकृतिमध्ये ६ लाख ९७ हजार ९६ पुरुष र ९५ हजार ९१ महिलाका लागि थिए। कुल श्रम स्वीकृतिमध्ये ८८ प्रतिशत पुरुष र १२ प्रतिशत महिला रहेको तथ्यांकले नेपालको वैदेशिक रोजगारी अझै पनि मुख्यतः पुरुषकेन्द्रित रहेको देखाउँछ ।
विभागको तथ्यांकअनुसार इजाजतप्राप्त वैदेशिक रोजगार व्यवसायी (म्यानपावर कम्पनी) मार्फत विदेश जाने नेपालीको संख्या उल्लेखनीय रूपमा घटेको छ । गत आर्थिक वर्षमा म्यानपावर कम्पनीमार्फत २ लाख ६८ हजार ९९० जना विदेश गएका छन् । अघिल्लो वर्ष यस्तो संख्या ३ लाख ५९ हजार ६७५ थियो ।
यस्तै, व्यक्तिगत रूपमा नयाँ श्रम स्वीकृति लिएर विदेश जानेको संख्या १ लाख २८ हजार ५२० पुगेको छ । यसमध्ये ९८ हजार ८४१ पुरुष र २९ हजार ६७९ महिला छन् । व्यक्तिगत रूपमा विदेश जाने समूहमा महिलाको हिस्सा २३.०९ प्रतिशत रहेको छ, जुन म्यानपावर कम्पनीमार्फत जाने महिलाको अनुपातभन्दा दोब्बरभन्दा बढी हो ।
सरकार–सरकार (जीटूजी) प्रणालीअन्तर्गत गत आर्थिक वर्षमा ८ हजार १९७ जना नेपाली कामदार विदेश गएका छन् । यसमध्ये ६ हजार ९४५ पुरुष र १ हजार २५२ महिला रहेका छन् ।
वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) नेपाली कामदारको सबैभन्दा ठूलो गन्तव्य बनेको छ । गत आर्थिक वर्षमा १ लाख ८३ हजार ५८० जनाले यूएईका लागि श्रम स्वीकृति लिएका छन्, जुन कुल स्वीकृतिको २३.१७ प्रतिशत हो ।
त्यसपछि मलेसियामा १ लाख ३२ हजार ६४६ (१६.७४ प्रतिशत), कतारमा १ लाख ३२ हजार ५१ (१६.६७ प्रतिशत), साउदी अरेबियामा १ लाख २४ हजार ५८३ (१५.७३ प्रतिशत) र कुवेतमा ४३ हजार ३६० (५.४७ प्रतिशत) नेपाली कामदारले श्रम स्वीकृति लिएका छन् । यी पाँच देशमा मात्रै ६ लाख १६ हजार २२० नेपाली पुगेका छन्, जुन कुल श्रम स्वीकृतिको ७७.७९ प्रतिशत हो ।
युरोपतर्फ रोमानिया नेपाली कामदारका लागि सबैभन्दा ठूलो गन्तव्य बनेको छ । गत आर्थिक वर्षमा ३३ हजार ९२० जनाले रोमानियाका लागि श्रम स्वीकृति लिएका छन् । त्यसपछि जापान (२२ हजार २६६), ओमान (११ हजार ६३३), साइप्रस (११ हजार ६९) र बहराइन (९ हजार ३३६) नेपाली कामदारका प्रमुख गन्तव्य बनेका छन् ।
प्रकाशित समय : ०९:०१ बजे



















