काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले नागरिक अगुवा, पूर्वअर्थमन्त्री तथा लोकतान्त्रिक आन्दोलनका अथक योद्धा डा.देवेन्द्रराज पाण्डेको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
शनिबार श्रद्धाञ्जली तथा समवेदना सन्देश जारी गर्दै नेता आङदेम्बेले डा.पाण्डेको निधनको खबरले आफू अत्यन्त मर्माहत भएको बताएका हुन् ।
आङदेम्बेले नेपालमा लोकतन्त्रको सुदृढीकरण, नागरिक स्वतन्त्रता, मानव अधिकार, सुशासन, पारदर्शिता तथा उत्तरदायी शासन व्यवस्थाको पक्षमा डा.पाण्डेले पु¥याएको योगदान इतिहासमा सधैं सम्मानका साथ स्मरण गरिने उल्लेख गरेका छन् ।
उनले २०६२÷०६३ सालको जनआन्दोलनका क्रममा नागरिक समाजका तर्फबाट डा.पाण्डेले खेलेको नेतृत्वदायी भूमिका तथा निरंकुशताविरुद्ध निरन्तर उठाएको निर्भीक आवाज लोकतान्त्रिक आन्दोलनका अमूल्य सम्पत्ति भएको बताएका छन् ।
सन्देशमा अर्थसचिव, अर्थमन्त्री, विकास चिन्तक तथा सार्वजनिक बौद्धिक व्यक्तित्वका रूपमा डा. पाण्डेले नेपालको आर्थिक नीति, सार्वजनिक प्रशासन, सुशासन र विकाससम्बन्धी बहसलाई नयाँ उचाइमा पु¥याउन महत्वपूर्ण योगदान दिएको उल्लेख गरिएको छ ।
आङदेम्बेले डा. पाण्डेको निधनसँगै मुलुकले एक प्रखर बौद्धिक व्यक्तित्व, नैतिक नेतृत्व तथा लोकतान्त्रिक मूल्यका दृढ पक्षधर गुमाएको बताएका छन्।
उनले स्वर्गीय डा. देवेन्द्रराज पाण्डेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन् ।



















