गृहपृष्ठ तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामै देशभर ३ हजार २९६ वटा विपद्का घटना दर्ता भएका छन्। ती घटनामा १६० जनाले ज्यान गुमाएका, दुई जना बेपत्ता भएका तथा ९४५ जना घाइते भएका छन्। विपद्का कारण ४ हजार ३७५ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार वैशाख १ गतेदेखि असार ३२ गतेसम्म प्राकृतिक तथा मानव सिर्जित विभिन्न विपद्का घटनाले देशका अधिकांश जिल्लामा जनधनको क्षति पुर्याएको हो।
प्राधिकरणका अनुसार उक्त अवधिमा आगलागी सबैभन्दा बढी हुने विपद् बनेको छ। तीन महिनामा ८९७ वटा आगलागीका घटना हुँदा १७ जनाको मृत्यु, १०९ जना घाइते भएका छन् भने ९९० परिवार प्रभावित भएका छन्। गर्मीयामको सुख्खा मौसम, मानव लापरबाही तथा विद्युत् सर्टजस्ता कारणले आगलागीका घटना उच्च रहेको प्राधिकरणको विश्लेषण छ।
मानवीय क्षतिको हिसाबले भने सर्पदंश सबैभन्दा घातक देखिएको छ। यस अवधिमा ५१४ वटा सर्पदंशका घटना हुँदा ३८ जनाको मृत्यु भएको छ। ४७९ जना घाइते भएका छन् भने ५१७ परिवार प्रभावित भएका छन्। मनसुन सुरु भएसँगै तराई तथा भित्री मधेशका जिल्लामा सर्पदंशका घटना उल्लेख्य रूपमा बढ्ने गरेको छ।
यस्तै, ४७७ वटा हुरीका घटना भएका छन्। ती घटनामा १३ जनाको मृत्यु, ६८ जना घाइते तथा १ हजार ३५६ परिवार प्रभावित भएका छन्। हुरीले घर, विद्यालय, विद्युत् संरचना तथा कृषि बालीमा समेत क्षति पुर्याएको तथ्यांकमा उल्लेख छ।
तीन महिनामा ४३३ वटा पहिरोका घटना हुँदा १२ जनाको मृत्यु, १५ जना घाइते तथा ३५१ परिवार प्रभावित भएका छन्। मनसुन सक्रिय भएसँगै विशेषगरी पहाडी जिल्लामा पहिरोका घटना बढेका हुन्।
त्यसैगरी २२३ वटा चट्याङका घटनामा २४ जनाले ज्यान गुमाएका छन् भने १२० जना घाइते भएका छन्। चट्याङबाट २६२ परिवार प्रभावित भएका छन्। खुला स्थानमा काम गर्ने किसान तथा ग्रामीण क्षेत्रका बासिन्दा चट्याङबाट बढी प्रभावित हुने गरेका छन्।
प्राधिकरणका अनुसार वन्यजन्तुको आक्रमणका १८१ वटा घटना भएका छन्। ती घटनामा १७ जनाको मृत्यु, १०३ जना घाइते तथा २८७ परिवार प्रभावित भएका छन्। मानव–वन्यजन्तु द्वन्द्व बढ्दै जाँदा यस्ता घटना पनि निरन्तर बढिरहेको देखिएको छ।
यस अवधिमा १६१ वटा बाढीका घटना हुँदा नौ जनाको मृत्यु, दुई जना बेपत्ता र नौ जना घाइते भएका छन्। बाढीबाट ३९६ परिवार प्रभावित भएका छन्। नदी कटान, डुबान र सडक अवरुद्ध हुने घटनाले धेरै जिल्लामा जनजीवन प्रभावित बनेको थियो।
यस्तै, १५३ वटा भारी वर्षासम्बन्धी घटनामा चार जनाको मृत्यु, एक जना घाइते तथा १३२ परिवार प्रभावित भएका छन्। लगातारको वर्षाका कारण सडक, पुल तथा भौतिक पूर्वाधारमा समेत क्षति पुगेको छ।
उच्च हिमाली क्षेत्रमा देखिने लेक लाग्ने (हाइ अल्टिच्युड सिकनेस) का ५५ वटा घटनामा २१ जनाको मृत्यु भएको छ भने ३५ जना अझै अस्वस्थ रहेको प्राधिकरणले जनाएको छ। पछिल्ला वर्षहरूमा हिमाली क्षेत्रमा पर्यटक तथा तीर्थयात्रीको चाप बढेसँगै लेक लाग्ने घटनासमेत बढ्दै गएको देखिन्छ।
त्यसैगरी, ढुङ्गा खसेर भएको एक घटनामा दुई जनाको मृत्यु भएको छ। वन डढेलोका १९१ वटा घटना हुँदा एक जनाको मृत्यु र दुई जना घाइते भएका छन् भने दुई वटा हिउँपहिरोका घटनामा एक जनाको मृत्यु र एक जना घाइते भएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले मनसुन अझै सक्रिय रहेकाले बाढी, पहिरो, डुबान, चट्याङ र अन्य मौसमजन्य विपद्को जोखिम कायम रहेको भन्दै नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। स्थानीय तह तथा सरोकारवाला निकायलाई पूर्वतयारी, उद्धार सामग्रीको व्यवस्थापन र जोखिमयुक्त बस्तीमा निगरानी बढाउन पनि प्राधिकरणले अनुरोध गरेको छ।
प्रकाशित समय : ०८:१० बजे



















