global ime bank Long Banner Ad

गृहपृष्ठ वर्षाले विभिन्न राजमार्ग प्रभावित, कतै पहिरो त कतै हिलोले अवरोध

वर्षाले विभिन्न राजमार्ग प्रभावित, कतै पहिरो त कतै हिलोले अवरोध

वर्षाले विभिन्न राजमार्ग प्रभावित, कतै पहिरो त कतै हिलोले अवरोध

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गमा पहिरो, ढुङ्गा खस्ने र हिलो जम्दा यातायात प्रभावित भएको छ। केही सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने उच्च जोखिमका सडकमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।

नेपाल प्रहरीका अनुसार मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखास्थित कान्तिलोकपथमा बुधबार साँझ सडकमाथिबाट पहिरो खस्दा यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो। पहिरो पन्छाएपछि उक्त सडक बिहीबार बिहानदेखि पुनः सञ्चालनमा आएको छ।

यद्यपि वर्षायाममा पहिरोको जोखिमलाई ध्यानमा राख्दै कान्तिलोकपथमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।

यसैगरी, काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने खुर्कोट–नेपालथोक–कटुन्जेबेँसीस्थित बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमका कारण बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

उता, इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग हिलोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

अर्घाखाँचीको पाणिनि गाउँपालिका–२ स्थित सालझन्डी–ढोरपाटन सडकखण्डमा ढुङ्गा खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

त्यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलोस्थित अरनिको राजमार्ग पनि पहिरोका कारण अवरुद्ध भएको छ। अवरुद्ध सडक खुलाउन सडक विभागसहित सम्बन्धित निकायले पहिरो पन्छाउने काम गरिरहेको नेपाल प्रहरीले जनाएको छ।

मनसुन सक्रिय रहेकाले पहाडी राजमार्गमा थप पहिरो र बाढीको जोखिम कायम रहेको भन्दै प्रहरीले यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

प्रकाशित समय : ०८:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु