global ime bank Long Banner Ad

गृहपृष्ठ सडक विस्तार मात्रै समाधान होइन, सार्वजनिक यातायात र पैदलमैत्री पूर्वाधार आवश्यक

सडक विस्तार मात्रै समाधान होइन, सार्वजनिक यातायात र पैदलमैत्री पूर्वाधार आवश्यक

सडक विस्तार मात्रै समाधान होइन, सार्वजनिक यातायात र पैदलमैत्री पूर्वाधार आवश्यक

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सडक विस्तारलाई मात्रै विकासको मापदण्ड मान्ने सोचबाट बाहिर निस्कनुपर्ने बताएका छन् । उनले सडक सुरक्षा व्यवस्थापनका लागि पूर्वाधार, सार्वजनिक यातायात र सचेतनात्मक परिवर्तनमा जोड दिनुपर्ने बताए ।

शुक्रबार नेपाली कांग्रेसको ‘ग्रीन टेबल’ कार्यक्रममा ‘सडक सुरक्षा व्यवस्थापन ः दण्डात्मक नियन्त्रण कि सचेतनात्मक रूपान्तरण?’ विषयमा छलफल गर्दै सभापति थापाले सडक विस्तारले मात्रै यातायात समस्या समाधान नहुने धारणा राखे ।

उनले भने, ‘सडक विस्तार गरेर यातायात छिटो पुगिन्छ, सजिलो हुन्छ, सहर राम्रो हुन्छ भन्ने हामीलाई लागेको छ । यो समृद्ध सहरको मानक हो भन्ने सोचबाट हामी निस्किनुपर्छ । बाबुराम प्रधानमन्त्री हुँदा सडक विस्तारको व्यापक कामहरू भए । त्यतिबेला हामी सबैलाई अब काठमाडौं स्वर्ग हुन्छ भन्ने लागेको थियो ।’

उनले सडक विस्तारसँगै सार्वजनिक यातायात, फुटपाथ, साइकल लेनलगायतका पूर्वाधारमा पर्याप्त ध्यान नदिँदा समस्या कायमै रहेको बताए ।

‘त्यतिबेला हामीले लेखेका थियौँ, सडक विस्तारले मात्रै ट्राफिकको समस्या समाधान हुँदैन । काठमाडौंमा सार्वजनिक बसको प्रयोग बढेपछि मोटरसाइकलको प्रयोग घट्छ र विस्तारै समस्या समाधान हुँदै जान्छ,’ उनले भने ।

थापाले सडक निर्माण गर्दा पैदलयात्री, बालबालिका, ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको सहजतालाई प्राथमिकता नदिएको बताए ।

‘हामीले सडक विस्तार गर्यौँ, फुटपाथ बनाएनौँ । फुटपाथ बनाए पनि सानो बनायौँ । बालबालिका, ज्येष्ठ नागरिकका लागि सहज हुने गरी सोचेनौँ । फरक क्षमता भएका व्यक्तिहरूलाई त हेर्दै हेरेनौँ । साइकलको बारेमा पनि सोच्दै सोचेनौँ,’ उनले भने ।

उनले सडक दुर्घटनाका कारण ठूलो मानवीय र आर्थिक क्षति भइरहेको उल्लेख गरे । थापाका अनुसार सडक दुर्घटनामा दैनिक रूपमा हुने मृत्यु र घाइतेको संख्या गम्भीर विषय बनेको छ ।

उनले भने, ‘हामीले फुटपाथ विस्तारको परियोजना २०७० सालमा सुरु गर्यौँ तर त्यसको महत्व बुझेनौँ । सात–आठ जनाको मृत्यु हुने र २५ देखि २८ हजारसम्म घाइते हुने अवस्था आयो।’

उनले सडक दुर्घटनामा १५ देखि ४९ वर्ष उमेर समूहका मानिसहरू बढी प्रभावित हुने र यसले परिवारलाई पुनः गरिबीमा धकेल्ने बताए ।

‘सबैभन्दा बढी पीडा के भने १५ देखि ४९ वर्षको उत्पादनशील उमेर समूह नै सबैभन्दा बढी दुर्घटनामा पर्छ । गरिबीबाट निस्किएको परिवार सडक दुर्घटनाका कारण फेरि गरिबीमा धकेलिन्छ,’ उनले भने ।

कार्यक्रममा सडक सुरक्षा विज्ञ डा. भगवती सेढाई, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक भीमप्रसाद ढकाल र यातायात इन्जिनियर सागर पन्त वक्ताका रूपमा सहभागी थिए । कार्यक्रमको सहजीकरण जनस्वास्थ्य विज्ञ डा. रामानन्द पण्डितले गरेका थिए ।

प्रकाशित समय : २०:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु