global ime bank Long Banner Ad

गृहपृष्ठ हतुवागढीद्वारा उत्कृष्ट तीनजना किसानलाई सम्मान

हतुवागढीद्वारा उत्कृष्ट तीनजना किसानलाई सम्मान

हतुवागढीद्वारा उत्कृष्ट तीनजना किसानलाई सम्मान

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले कृषि तथा पशुपालन क्षेत्रमा योगदान पुर्याउने तीन जना उत्कृष्ट किसानलाई नगदसहित सम्मान गरेको छ ।

कृषितर्फ हतुवागढी–७ का मानबहादुर राई र हतुवागढी–१ का नरबहादुर तामाङ र पशुपालनतर्फ हतुवागढी–२ लुङगिनका चक्रबहादुर थापा सम्मानित भएका हुन् ।

सम्मानित किसानलाई सम्मानपत्रसहित जनही रु १५ हजार नगद प्रदान गरिएको छ । गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले कृषिलाई सम्मानजनक पेसाका रूपमा स्थापित गर्न उत्कृष्ट किसानलाई प्रोत्साहन गरिएको बताए । उनले कृषि क्षेत्रलाई व्यावसायिक बनाउँदै स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने गाउँपालिकाको नीति रहेको उल्लेख गरे ।

कृषि र पशुपालनलाई आधुनिक प्रविधिसँग जोड्दै उत्पादन बढाउनु अहिलेको आवश्यकता रहेको उनको भनाइ छ । गाउँपालिकाले कृषकलाई आवश्यक सहयोग र सहुलियत उपलब्ध गराउँदै आएको छ । उनका अनुसार अनुदान, तालिम, प्रविधि हस्तान्तरणलगायतका कार्यक्रममार्फत कृषकको क्षमता अभिवृद्धि गरिँदै आएको छ ।

त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले कृषिमा उत्कृष्ट काम गर्ने किसानलाई छनोट गरेर उनीहरुलाई सम्मान गरिएको बताए । कृषिलाई व्यावसायिक बनाउन यस्ता सम्मान कार्यक्रमले सकारात्मक सन्देश दिने उनको भनाइ छ ।

गाउँपालिकाले आगामी दिनमा पनि उत्कृष्ट काम गर्ने कृषकलाई प्रोत्साहन गर्दै कृषि तथा पशुपालन क्षेत्रको विकासलाई प्राथमिकतामा राख्ने जनाएको छ । साथै उत्पादन वृद्धि, बजार व्यवस्थापन र मूल्य अभिवृद्धिका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने योजना रहेको गाउँपालिकाको भनाइ छ ।

यसैबीच गाउँपालिकाले उत्कृष्ट कार्यसम्पादन गर्ने ११ जना कर्मचारीलाई पनि नगदसहित सम्मान गरेको छ । उत्कृष्ट कर्मचारीलाई जनही रु ११ हजार १११ नगदसहित सम्मानपत्र प्रदान गरिएको हो । उत्कृष्ट कार्यसम्पादन गर्ने लेखा अधिकृत खेमराज भट्टराईसहित ११ जना कर्मचारी र एक जना स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको हो ।

प्रकाशित समय : १०:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु