गृहपृष्ठ रासायनिक मलको आपूर्ति सहज बनाउन सांसदको माग
रासायनिक मलको आपूर्ति सहज बनाउन सांसदको माग
काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरूले मुलुकका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरूले समयमै रासायनिक मल उपलब्ध गराउनुपर्ने, सुकुम्वासीका समस्या समाधान गर्नुपर्ने, विपत्को पूर्व तयारीलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन ।
बैठकमा सांसद सन्दीप रानाले भने, “मल नपाएर हाहाकार भएको छ, रेबिज र क्यान्सरका बिरामी उपचार नपाएर अलपत्र छन्, बालबालिका कुपोषणका सिकार भएका छन्, युवाहरू विदेश पलायन भएका छन् । यसमा सरकारको ध्यान जाओस् ।”
सांसद अर्जुनकुमार कार्कीले लोकतन्त्रका लागि लडेका प्रतिपक्ष र सत्तापक्ष दुवैले कानुन र विधिलाई आत्मसाथ गर्नुपर्ने बताए ।
सांसद गोपाल शर्माले सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको टिप्पणी गर्नुभयो । सांसद आरेन राइले सरकारले सुकुम्वासी समस्या दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने माग गरे ।
सांसद खुश्बु ओलीले कीर्तिपुरको जलन अस्पताललाई व्यवस्थित र सुविधा सम्पन्न बनाउनुपर्ने बताइन ।
सांसद राजकिशोर महतोले मुलुकलाई आत्मनिर्भर बनाउन हर्बल सामाग्रीको बजारीकरण गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद रिना उप्रेतीले सोमबार सञ्चार गृहका प्रवेशद्वार अगाडी गाडी पार्किङ गरिएको घटनाको निष्पक्ष रूपमा छानवीन गर्न सरकार समक्ष माग गरिन ।
सांसद विष्णुमाया विकले सरकार जनताप्रति जबाफदेही हुनुपर्ने बताइन । सांसद गणेशबहादुर विश्वकर्माले सरकारले सय दिनको अवधिमा गरेका काम उल्लेखनीय भए पनि अझै जनअपेक्षा अनुसार काम गर्न बाँकी रहेको बताए ।
सांसद पुकार बमले बुढानीलकण्ठ क्षेत्र पहिरोको जोखिममा रहेको उल्लेख गर्दै दीर्घकालीन सुरक्षाको नीति अपनाउन सरकारसँग आग्रह गरे । सांसद एसुदाकुमारी बरालले पछिल्ला दिनमा देशका विभिन्न स्थानमा बाढी÷पहिरोबाट जनधनको क्षति भएकाले प्रभावितको उद्धारका साथै राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराइन ।
सांसद कृष्णहरि बुढाथोकीले भने, “कुन कुन सडक सञ्चालनमा छन्, कुन सडकमा पहिरो गएको छ, कुन ठाउँमा पुल र सडक खण्ड असुरक्षित छ, कुन मार्गमा सवारीसाधन सञ्चालन गर्न उपयुक्त छ, त्यसबारे सरकारले समयमै जानकारी दिने व्यवस्था मिलाउनुपर्छ ।”
सांसद खगेन्द्र सुनारले जातीय विभेद र हिंसाका घटनाबारे सरकारको ध्यान जाओस् भने ।
सांसदहरू लिमा अधिकारी आचार्य, गणेश कार्की, समीक्षा बाँस्कोटा, गणेश पौड्याल र बशुमाया तामाङ, झविलाल डुम्रे, श्रीधर पोखरेल, सुशान्त वैदिक, हरिप्रसाद भुषाल, जनकसिंह धामी, यज्ञमणि न्यौपानेलगायतले मुलुकका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।
प्रकाशित समय : १७:१९ बजे



















