गृहपृष्ठ विश्वकप फुटबलको क्वार्टरफाइनल समीकरण पूरा
विश्वकप फुटबलको क्वार्टरफाइनल समीकरण पूरा
काठमाडौं । फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । अन्तिम–१६ अन्तर्गत अर्जेन्टिनाले इजिप्टलाई रोमाञ्चक पुनरागमन जित निकाल्दै अन्तिम आठमा स्थान बनायो भने स्विट्जरल्यान्डले गोलरहित बराबरीपछि पेनाल्टी सुटआउटमा कोलम्बियालाई ४–३ ले हराउँदै क्वार्टरफाइनल यात्रा तय गरेको हो ।
अब विश्वकपको उपाधि दौडमा आठ टोली बाँकी छन् । यसपटक फ्रान्स, स्पेन, इङ्ग्ल्यान्ड र अर्जेन्टिनाजस्ता दाबेदारसँगै मोरक्को, बेल्जियम, नर्वे र स्विट्जरल्यान्डले पनि पहिलो पटक विश्वकप जित्ने सपना जीवित राखेका छन् ।
फ्रान्स भर्सेस मोरक्को
पहिलो क्वार्टरफाइनलमा साविक उपविजेता फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुनेछ । २०२२ को विश्वकपमा सेमिफाइनल पुगेर इतिहास बनाएको मोरक्को फेरि अर्को ठूलो उलटफेर गर्ने लक्ष्यमा हुनेछ ।
फ्रान्सका कप्तान किलियन एमबाप्पेले प्रतियोगितामा उत्कृष्ट लय कायम राखेका छन् । विश्वकपमा हालसम्म १९ गोल गरिसकेका उनले अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीको २१ गोलको कीर्तिमान पछ्याउने अवसर पनि पाउनेछन् । यो खेल नेपाली समय अनुसार असार २६ गते विहान १ः४५ बजे, बोस्टन स्टेडियममा हुनेछ
स्पेन भर्सेस बेल्जियम
दोस्रो क्वार्टरफाइनलमा २०१० को विश्वविजेता स्पेनले बेल्जियमको सामना गर्नेछ । लामिन यामाल, पेड्री, गाभी, रोड्री र निको विलियम्सजस्ता युवा खेलाडीको प्रदर्शनमा भर परेको स्पेन उपाधि यात्रालाई निरन्तरता दिन चाहन्छ ।
यता बेल्जियमका अनुभवी रोमेलु लुकाकु र केभिन डी ब्रुयनको नेतृत्वमा टोली पहिलो पटक विश्वकप जित्ने लक्ष्यमा मैदान उत्रिनेछ । स्पेनका गोलकिपर उनाइ सिमोनले प्रतियोगिताका पाँचै खेलमा क्लिन सिट राखेकाले बेल्जियमलाई गोल गर्न सहज हुने छैन । यो खेल असार २७ गते विहान १२ः४५ बजे, लस एन्जल स्टेडियममा हुनेछ ।
हालान्ड र केनको बहुप्रतीक्षित भिडन्त
तेस्रो क्वार्टरफाइनलमा नर्वे र इङ्ग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सात गोल गर्दै गोल्डेन बुटको दौडमा रहेका एर्लिङ हालान्ड र छ गोल गरेका इङ्ग्ल्यान्डका कप्तान ह्यारी केनबीचको भिडन्तलाई सबैभन्दा रोमाञ्चक मानिएको छ ।
इङ्ग्ल्यान्डका युवा स्टार जुड बेलिङ्घमले पनि उत्कृष्ट प्रदर्शन गर्दै चार गोल गरिसकेका छन् । यो खेल असार २८ गते विहान २ः४५ बजे, मायमी स्टेडियममा हुनेछ ।
अर्जेन्टिना भर्सेस स्ट्जिरल्यान्ड
चौथो क्वार्टरफाइनलमा लियोनेल मेस्सीको नेतृत्वमा रहेको अर्जेन्टिनाले स्विट्जरल्यान्डसँग खेल्नेछ । अन्तिम–१६ मा इजिप्टविरुद्ध दुई गोलले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै जित निकालेको अर्जेन्टिना अब सेमिफाइनल नजिक पुग्ने लक्ष्यमा हुनेछ ।
स्विट्जरल्यान्ड भने ७२ वर्षपछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनल पुगेको टोली हो । त्यसैले उसले अर्जेन्टिनालाई चुनौती दिने तयारी गरेको छ । यो खेल असार २८ गते विहान ६ः४५ बजे, कान्सास सिटी स्टेडियममा हुनेछ । एएनआई
प्रकाशित समय : ०८:५१ बजे



















