global ime bank Long Banner Ad

गृहपृष्ठ वरिष्ठ स्रष्टा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ स्रष्टा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ स्रष्टा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

काठमाडौं । वरिष्ठ आख्यानकार तथा पत्रकार वसन्त पराजुलीद्वारा सिर्जित ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण प्रकाशित भएको छ।

शिखा बुक्स प्रालिले प्रकाशनमा ल्याएको उक्त पुस्तक मंगलबार स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ, साहित्यकार जयदेव भट्टराई, मेनका चापागाईँलगायतले सार्वजनिक गरेका हुन्।

सो अवसरमा शिखा प्रकाशनका प्रबन्ध निर्देशक पुष्पराज पौडेलले ‘बखान’ उपन्यास आम पाठकमाझ सर्वाधिक रुचाइएका कृतिमध्ये एक भएको बताए। उनले उपन्यासको माग उच्च रहेको र स्वदेश तथा विदेशमा रहेका नेपाली भाषीको रोजाइमा कृति परेको जानकारी दिए।

उपन्यासमा चितवनको इतिहास, २००७ सालको बन्दीपुर क्रान्ति र २०१८ सालको भरतपुर क्रान्तिलाई तथ्यपरक तथा साहित्यिक शैलीमा सरल र सटिक रूपमा प्रस्तुत गरिएको छ।

नेपालका पहिलो सहकारी अभियन्ता तथा समाजसेवी बखानसिंह गुरुङको जीवनसङ्घर्षलाई केन्द्रमा राखेर लेखिएको यस उपन्यासले चितवनको सामाजिक, राजनीतिक, सांस्कृतिक तथा ऐतिहासिक रूपान्तरणलाई आख्यानात्मक शैलीमा जीवन्त रूपमा चित्रण गरेको छ।

कृतिमा देशमा भएका विभिन्न क्रान्तिका पृष्ठभूमिसँगै चितवनको बस्ती विकास र जैविक विविधता संरक्षणका विषयलाई पनि उजागर गरिएको छ।स्रष्टा पराजुलीले ‘बखान’ पाठकमाझ सर्वाधिक रुचाइएको कृतिमध्ये एक भएकाले दोस्रो संस्करण प्रकाशन हुनु उपलब्धि र गौरवको विषय भएको बताए।

“म ‘बखान’ प्रति माया, विश्वास र निरन्तर साथ दिने सम्पूर्ण पाठकप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। आगामी दिनमा पनि यस्तै माया पाइरहने अपेक्षा गरेको छु,” उनले भने।पत्रकारितासँगै साहित्य सिर्जनामा सक्रिय पराजुलीका यसअघि ‘कुमाता’, ‘मोम्चो’ र ‘ड्रिमी आइज’ प्रकाशित भइसकेका छन्। ‘बखान’ भने ऐतिहासिक विषयवस्तुमा आधारित उनको चर्चित उपन्यासका रूपमा स्थापित भएको छ। उनी नेपाल पत्रकार महासङ्घ चितवन जिल्ला शाखाका अध्यक्ष हुन्।

प्रकाशित समय : ०८:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु