global ime bank Long Banner Ad

गृहपृष्ठ तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडकः १४ किमी कालोपत्र

तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडकः १४ किमी कालोपत्र

तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडकः १४ किमी कालोपत्र

भोजपुर। भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडकको कालोपत्र काम अन्तिम चरणमा पुगेको छ।

कुल २० किलोमिटर लम्बाइ रहेको उक्त सडकखण्डमध्ये हालसम्म १४ किलोमिटर कालोपत्र सम्पन्न भएको छ। पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीका अनुसार सडकको हालसम्मको भौतिक प्रगति करिब ८३ प्रतिशत पुगेको छ। विसं २०७७ मा रु ५१ करोड ६२ लाख लागतमा सम्झौता भई सडक कालोपत्रको काम सुरु गरिएको थियो।

“यो सडकको १४ किलोमिटर कालोपत्र सम्पन्न भएको छ,” प्रमुख रेड्डीले भने, “कामलाई गुणस्तरीय रूपमा समयमै सम्पन्न गराउन कार्यालयले ध्यान दिएको छ।”

अस्फाल्ट प्रविधिको प्रयोग गरी प्राविधिक मापदण्डअनुसार सडक कालोपत्र भइरहेको छ। गुणस्तरीय निर्माणका लागि नियमित प्राविधिक अनुगमन भइरहेको कार्यालयले जनाएको छ।

षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले यो सडक स्थानीय विकासको मेरुदण्डका रूपमा रहेको बताए। सडक कालोपत्रको काम अघि बढेसँगै स्थानीयमा उत्साह बढेको उनको भनाइ छ।

“सडक पूर्वाधार विकासको आधार हो,” प्रमुख उदासले भने, “यो सडक सम्पन्न भएपछि यहाँको आर्थिक, सामाजिक तथा शैक्षिक गतिविधिमा सुधार आउनेछ।”

स्थानीय बासिन्दाका अनुसार वर्षौँदेखि कच्ची सडकका कारण भोग्दै आएको समस्या अन्त्य हुने चरणमा पुगेको छ। स्थानीय देवीराम चौलागाईँले सडक निर्माणपछि आवतजावत सहज हुनुका साथै ढुवानी खर्च र समय दुवै घट्ने बताए।

“पहिले निकै कठिन थियो, अब सडक बनेपछि ठूलो राहत मिल्नेछ,” उनले भने।

सडक निर्माण सम्पन्न भएपछि षडानन्द नगरपालिका र आसपासका क्षेत्रका बासिन्दाले नियमित, सुरक्षित र सहज यातायात सेवा पाउनेछन्। यसले व्यापार, कृषि, शिक्षा, स्वास्थ्य तथा पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्दै समग्र क्षेत्रीय विकासमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।

प्रकाशित समय : ०८:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु