गृहपृष्ठ १०० दिनमा स्वास्थ्य मन्त्रालयका उपलब्धि सार्वजनिक, डिजिटल सेवा र अस्पताल सुधारलाई प्राथमिकता
१०० दिनमा स्वास्थ्य मन्त्रालयका उपलब्धि सार्वजनिक, डिजिटल सेवा र अस्पताल सुधारलाई प्राथमिकता
काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले पदभार सम्हालेको १०० दिन पूरा भएको अवसरमा मन्त्रालयले यस अवधिमा गरेका प्रमुख कामहरूको विवरण सार्वजनिक गरेकी छन्। मन्त्रालयले स्वास्थ्य सेवालाई सहज, प्रभावकारी र प्रविधिमैत्री बनाउने लक्ष्यसहित विभिन्न सुधारका कार्यक्रम अघि बढाएको जनाएको छ।
मन्त्रालयका अनुसार नागरिकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा ल्याइएको ‘निःशुल्क स्वास्थ्य पोर्टल’मा हाल २१७ अस्पताल आबद्ध भएका छन्। पोर्टलमार्फत ३ हजार २५५ निःशुल्क शय्याको व्यवस्थापन गरिएको छ। साथै, बिरामीको स्वास्थ्य अभिलेख एक अस्पतालबाट अर्को अस्पतालमा सुरक्षित रूपमा आदान–प्रदान गर्न सकिने गरी राष्ट्रिय एकीकृत स्वास्थ्य सूचना प्रणालीको मापदण्ड स्वीकृत गरिएको छ।
अस्पताल सेवाको गुणस्तर सुधार गर्न ‘अस्पताल सेवा सुधार कार्यविधि, २०८२’ र ‘बिरामी प्रेषण राष्ट्रिय निर्देशिका, २०८१’ लागू गरिएको मन्त्रालयले जनाएको छ। सरकारी अस्पतालमा स्वास्थ्य बिमा र निःशुल्क औषधि वितरणलाई एकद्वार प्रणालीमार्फत सञ्चालन गर्न ‘सुलभ फार्मेसी सेवा सम्बन्धी मापदण्ड’ कार्यान्वयनमा ल्याइएको छ।
औषधि आपूर्तिलाई सहज बनाउन नेपाल औषधि लिमिटेडसँग प्रत्यक्ष खरिद सम्झौता गरिएको छ। त्यस्तै, १४ सङ्घीय अस्पतालमा जलन उपचार युनिट सञ्चालनमा ल्याइएको र २० करोड रुपैयाँको जलन उपचार कोष स्थापना गरिएको मन्त्रालयले जनाएको छ। आपतकालीन उद्धार सेवाका लागि ११ हेलिकप्टर कम्पनीसँग सहुलियत शुल्कमा सेवा उपलब्ध गराउने सम्झौतासमेत गरिएको छ।
स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत २०८२ मङ्सिरसम्मको दाबीबापत अस्पतालहरूलाई १८ अर्ब ५८ करोड ९१ लाख रुपैयाँ भुक्तानी गरिएको मन्त्रालयले जनाएको छ। बिमा प्रणालीलाई थप व्यवस्थित बनाउन आवश्यक सुधारका कार्यक्रम पनि अघि बढाइएको उल्लेख गरिएको छ।
मानसिक स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न सरकारी अस्पतालमा मनोपरामर्श सेवा सञ्चालनसम्बन्धी मापदण्ड स्वीकृत गरिएको छ भने ११६६ हटलाइनमार्फत सेवा प्रदान भइरहेको छ। दुर्गम तथा हिमाली क्षेत्रका स्थानीय तहमा हाई अल्टिच्युड क्लिनिक स्थापना गर्न बजेटसमेत विनियोजन गरिएको छ।
मन्त्रालयले कर्मचारी व्यवस्थापनतर्फ लामो समयदेखि रोकिएको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न गरी ९७७ नयाँ सङ्घीय दरबन्दी थपेको जनाएको छ। नर्सिङ तथा स्वास्थ्यकर्मीको न्यूनतम तलब र रात्रिकालीन भत्तामा पनि वृद्धि गरिएको छ।
यसैबीच, जनस्वास्थ्य सुरक्षाअन्तर्गत मोबाइल खाद्य प्रयोगशालाबाट १५ हजार ६९० नमुनामा विषादी अवशेष परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। अन्तर्राष्ट्रिय स्तरमा ७९औँ विश्व स्वास्थ्य सभामा नेपालले उपाध्यक्षको जिम्मेवारी निर्वाह गर्नु पनि मन्त्रालयले आफ्नो महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गरेको छ।
प्रकाशित समय : ११:४० बजे



















