global ime bank Long Banner Ad

गृहपृष्ठ बर्खायाम सुरु भएसँगै लमजुङमा बिजुली उत्पादन बढ्यो

बर्खायाम सुरु भएसँगै लमजुङमा बिजुली उत्पादन बढ्यो

बर्खायाम सुरु भएसँगै लमजुङमा बिजुली उत्पादन बढ्यो

लमजुङ  । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशअन्तर्गत लमजुङमा यतिबेला विद्युत् उत्पादन बढ्न थालेको छ । पर्याप्त पानीको अभावमा विद्युत् उत्पादनमा कमी आइरहेको यहाँका विभिन्न आयोजनामा बर्खा सुरु भएसँगै नदीनालामा पानीको बहाव बढेपछि विद्युत् उत्पादन पनि बढ्न थालेको हो ।

बेँसीसहर नगरपालिका–१ दलालमा रहेको जिल्लाको पहिलो ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनामा पनि विद्युत् उत्पादन बढेको छ । केन्द्रका आयोजना प्रमुख तारादत्त भट्टका अनुसार, “मस्र्याङ्दी नदीमा आयोजनाका लागि पर्याप्त पानी नहुँदा हिउँदमा बिजुली उत्पादन घटिरहेको थियो । पानी पर्याप्त हुन थालेपछि करिब १५ दिनअघिदेखि पूर्ण क्षमतामा बिजुली उत्पादन भइरहेको छ ।”

यस आर्थिक वर्षमा पानीको अभावका कारण हिउँदमा २६–२७ मेगावाट मात्र उत्पादन हुँदै आएकामा बर्खा लागेसँगै आयोजनाले विस्तारै आफ्नै पूर्ण क्षमतामा विद्युत् उत्पादन गरिरहेको उहाँले जानकारी गराउनुभयो । उनका अनुसार यहाँ ३५/३५ मेगावाट क्षमताका दुई वटा टर्बाइनबाट ७० मेगावाट विद्युत् उत्पादन हुन्छ । सन् २००० मा  २७ अर्ब २० करोड लागतमा निर्माण सुरु भई सन् २००८ मा सम्पन्न भएपछि आयोजनाबाट विद्युत् उत्पादन थालिएको थियो ।

त्यस्तै, मस्र्याङ्दी गाउँपालिका–८ स्थित भुलभुलेमा रहेको ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको उत्पादनसमेत बढ्न थालेको आयोजना कार्यालयले जनाएको छ । आयोजनाका अनुसार केही दिनअघिदेखि पूर्ण क्षमतामा बिजुली उत्पादन भइरहेको छ । सन् २०१३ जनवरीदेखि निर्माण थालिएको उक्त आयोजनाले सन् २०१७ जनवरीदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो ।

चिनियाँ बहुराष्ट्रिय कम्पनी सिनो हाइड्रोको ९० प्रतिशत र नेपालको चितवन कोइ समूह (सगरमाथा हाइड्रोपावर कम्पनी) को १० प्रतिशत लगानीमा आयोजना निर्माण सम्पन्न भएको थियो । ५४ मेगावाट क्षमताको सुपर दोर्दी ‘ख’, ३० मेगावाट क्षमताको न्यादी हाइड्रोपावर, २७ मेगावाटको दोर्दीखोला, २५ मेगावाटको अपर दोर्दी ‘ए’, १२ मेगावाटको दोर्दी–१, सात मेगावाटको उपरमिदिम, पाँच मेगावाटको सिउरीखोला तथा ४.४ मेगावाटको राँधीखोला आयोजनामा पनि विद्युत् उत्पादन वृद्धि भइरहेको छ ।

त्यस्तै, चार–चार मेगावाट क्षमताका खुदीखोला साना जलविद्युत् आयोजना र अपर छन्दीखोला, तीन मेगावाटको मिदिमखोला, २.४ मेगावाटको अपर स्याँगे खोला, दुई मेगावाटको छन्दीखोला, १८३ किलोवाटको स्याँगे माइक्रोहाइड्रो र ८० किलोवाटको मिदिम माइक्रोहाइड्रोमा पनि विद्युत् उत्पादन बढ्न थालेको आयोजना प्रमुख तारादत्त भट्टले जानकारी गराउनुभयो ।

जानकारहरूका अनुसार जिल्लामा उत्पादन थालेका आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएर देशलाई उज्यालो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । ती आयोजनामा विद्युत् उत्पादन घट्दा वा बढ्दा त्यसको प्रभाव मुलुकको अर्थतन्त्रमा समेत पर्ने देखिन्छ । जिल्लामा हरेक वर्ष मस्र्याङ्दी नदी, दोर्दी, किसेदी, फिदिम खोलालगायतमा पानीको बहाव कम हुँदा उत्पादन घट्ने र पानी पर्याप्त भएपछि पूर्ण क्षमतामा विद्युत् उत्पादन हुने गरेको छ ।

प्रकाशित समय : ०६:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु