गृहपृष्ठ शरद चन्द्र शाहा स्मृति प्रतिष्ठानद्वारा ‘एससीएसएमएफ खेलकुद सम्मान–२०२६’ सम्पन्न, उमेश मास्के र सन्दीप लामिछाने सम्मानित
शरद चन्द्र शाहा स्मृति प्रतिष्ठानद्वारा ‘एससीएसएमएफ खेलकुद सम्मान–२०२६’ सम्पन्न, उमेश मास्के र सन्दीप लामिछाने सम्मानित
काठमाडौं । शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसन (SCSMF) ले नेपाली खेलकुद क्षेत्रमा विशिष्ट योगदान पुर्याएका तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको गौरव बढाएका खेल व्यक्तित्वहरूलाई सम्मान गर्दै ‘SCSMF Sports Award 2026’ भव्य रूपमा सम्पन्न गरेको छ।
काठमाडौंको कमलादीस्थित होटल रोयल सिंगीमा मंगलबार आयोजित समारोहमा नेपाली बक्सिङका वरिष्ठ खेलाडी तथा ओलम्पियन उमेश मास्के र राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी सन्दीप लामिछानेलाई ‘SCSMF Sports Award 2026’ प्रदान गरिएको हो।
दुई पटक ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरिसकेका उमेश मास्केले सन् १९८० को मस्को ओलम्पिक तथा सन् १९८४ को लस एन्जलस ओलम्पिकमा सहभागिता जनाएका थिए। सक्रिय खेल जीवनपछि पनि उनले नेपालमा बक्सिङ खेलको विकास र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएका छन्। न्यू राइजिङ स्पोर्ट्स क्लबको स्थापना, अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपाली बक्सिङ टोलीको व्यवस्थापन तथा नेपाल बक्सिङ संघको नेतृत्वदायी भूमिकामार्फत उनले पुर्याएको योगदानको कदर गर्दै फाउण्डेसनले उनलाई सम्मान गरेको जनाएको छ।
त्यसैगरी, नेपाली क्रिकेटका चर्चित खेलाडी सन्दीप लामिछानेलाई पनि उक्त सम्मान प्रदान गरिएको छ। इन्डियन प्रिमियर लिग (IPL) खेल्ने पहिलो नेपाली खेलाडी बनेर इतिहास रचेका सन्दीपले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। हालै एकदिवसीय अन्तर्राष्ट्रिय (ODI) क्रिकेटमा विश्वकै सबैभन्दा छिटो २०० विकेट पूरा गर्ने कीर्तिमान कायम गरेको उपलब्धिको उच्च मूल्याङ्कन गर्दै उनलाई सम्मान प्रदान गरिएको फाउण्डेसनले जनाएको छ।
व्यस्त खेल तालिकाका कारण विदेशमा रहेका सन्दीप समारोहमा उपस्थित हुन नसकेपछि उनको तर्फबाट काठमाडौं जिल्ला क्रिकेट संघका सचिव तथा पूर्व राष्ट्रिय क्रिकेट खेलाडी किरण श.ज.ब. राणाले सम्मान ग्रहण गरेका थिए। कार्यक्रममा भिडियो सन्देशमार्फत सन्दीपले सम्मानप्रति आभार व्यक्त गर्दै स्वर्गीय शरद चन्द्र शाहाले नेपाली खेलकुद क्षेत्रमा पुर्याएको योगदानको स्मरण गरेका थिए।
पुरस्कारस्वरूप दुवै सम्मानित व्यक्तित्वलाई जनही २ लाख ५० हजार नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो।
फाउण्डेसनका अनुसार नेपाली खेलकुदको विकास तथा प्रवर्द्धनमा योगदान पुर्याउने व्यक्ति र संस्थाहरूलाई प्रोत्साहन, सहयोग तथा सम्मान प्रदान गर्नु संस्थाको मुख्य उद्देश्य रहेको छ।
यसअघि फाउण्डेसनले ‘नेपालको खेलकुदमा नयाँ युगको प्रारम्भ’ शीर्षकको फोटो प्रदर्शनी आयोजना गर्नुका साथै ‘नेपाली खेलकुदको वृतान्त’ पुस्तक सार्वजनिक गरेको थियो। फाउण्डेसनले २०२४ मा कीर्तिमानी म्याराथन धावक बैकुण्ठ मानन्धर र कराते खेलाडी एरिका गुरुङ तथा २०२५ मा पूर्व फुटबल खेलाडी एवं प्रशिक्षक राजुकाजी शाक्य र भलिबल खेलाडी अरुणा शाहीलाई सम्मान गरिसकेको छ।
स्वर्गीय शरद चन्द्र शाहाको सम्झनामा सन् २०२० मा स्थापना गरिएको फाउण्डेसनले नेपाली खेलकुद इतिहासमा शाहाले पुर्याएको योगदानलाई सम्मान गर्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। शाहा नेपालमा राष्ट्रिय खेलकुद प्रणाली तथा ओलम्पिक आन्दोलनको विकासमा महत्वपूर्ण भूमिका खेल्ने अग्रणी व्यक्तित्वका रूपमा परिचित छन्।
प्रकाशित समय : ११:४१ बजे



















