गृहपृष्ठ प्रभु महालक्ष्मी लाइफले सञ्चालन गर्यो अभिकर्ता प्रशिक्षण तथा कार्ययोजना निर्माण कार्यक्रम
प्रभु महालक्ष्मी लाइफले सञ्चालन गर्यो अभिकर्ता प्रशिक्षण तथा कार्ययोजना निर्माण कार्यक्रम
काठमाडौं — प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका इलाम, बिर्तामोड, चन्द्रगढी र दमक शाखाको संयुक्त आयोजनामा अभिकर्ता प्रशिक्षण, व्यवसायिक योजना निर्माण तथा चालु आर्थिक वर्षको लक्ष्य हासिल गर्ने विशेष योजना सम्बन्धी कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ।
कार्यक्रममा कम्पनीको केन्द्रीय कार्यालयबाट केन्द्रीय प्रशिक्षण विभाग प्रमुख डा. योगेन्द्र खतिवडा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। त्यसैगरी प्रदेश प्रमुख सुदीश कुमार गुप्ताको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन बिर्तामोड शाखा प्रमुख नानीबाबु आचार्यले गरेका थिए।
कार्यक्रममा इलाम शाखा प्रमुख प्रवेश पराजुली, चन्द्रगढी शाखा प्रमुख गिरवान भट्टराई, बिर्तामोड शाखा प्रमुख नानीबाबु आचार्य तथा दमक शाखा प्रमुख जीवा राईलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
डेढ सयभन्दा बढी अभिकर्ता तथा अभिकर्ता लिडर्सको सहभागिता रहेको कार्यक्रममा जीवन बीमा व्यवसायको वर्तमान अवस्था, चालु आर्थिक वर्षका व्यवसायिक लक्ष्य, व्यवसाय विस्तारका रणनीति, नेतृत्व विकास तथा ग्राहक सेवाको गुणस्तर अभिवृद्धिका विषयमा विस्तृत छलफल गरिएको थियो।
सहभागीहरूबीच अनुभव आदानप्रदान गर्दै प्रभावकारी व्यवसायिक योजना निर्माणमा समेत विशेष जोड दिइएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. खतिवडाले अभिकर्ताहरूको क्षमता अभिवृद्धि, व्यावसायिक दक्षता तथा ग्राहकप्रतिको जिम्मेवारीलाई थप सुदृढ बनाउँदै कम्पनीको लक्ष्य प्राप्तिमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे।
त्यसैगरी प्रदेश प्रमुख गुप्ताले बजारको बदलिँदो आवश्यकता अनुरूप नवीन सोच, योजना र रणनीतिका साथ अघि बढ्न अभिकर्ताहरूलाई प्रेरित गरेका थिए।
कार्यक्रमले चालु आर्थिक वर्षका लागि स्पष्ट कार्ययोजना निर्माण गर्न, व्यवसाय विस्तारमा टेवा पुर्याउन तथा अभिकर्ताहरूको मनोबल अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुगेको सहभागीहरूले बताएका छन्।
प्रकाशित समय : १८:१४ बजे


















