गृहपृष्ठ सशस्त्रका १३४ गोताखोरलाई नेशनल इन्स्योरेन्सको निःशुल्क दुर्घटना बीमा

सशस्त्रका १३४ गोताखोरलाई नेशनल इन्स्योरेन्सको निःशुल्क दुर्घटना बीमा

सशस्त्रका १३४ गोताखोरलाई नेशनल इन्स्योरेन्सको निःशुल्क दुर्घटना बीमा

काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडले सशस्त्र प्रहरी बल नेपालका गोताखोर तालिम प्राप्त १३४ जना कर्मचारी तथा जवानहरूको निःशुल्क व्यक्तिगत दुर्घटना बीमा गर्ने भएको छ। यस सम्बन्धी सम्झौता जेठ २५ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, हल्चोक स्वयम्भूमा सम्पन्न भएको हो।

सम्झौताअनुसार गोताखोर तालिम प्राप्त १३४ जना कर्मचारीलाई प्रतिव्यक्ति २ लाख बराबरको व्यक्तिगत दुर्घटना बीमा सुविधा उपलब्ध गराइनेछ। कार्यक्रममा नेशनल इन्स्योरेन्सका कार्यकारी अधिकृत नवनित गुप्ताले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेशबहादुर ठाडा मगरलाई बीमा पोलिसीका कागजपत्र हस्तान्तरण गरेका थिए।

कार्यक्रममा बोल्दै अतिरिक्त महानिरीक्षक ठाडा मगरले नेशनल इन्स्योरेन्सले उपलब्ध गराएको निःशुल्क दुर्घटना बीमाले गोताखोरहरूको मनोबल उच्च बनाउन सहयोग पुग्ने बताए। उनले मनसुन सुरु भएसँगै विपद्का घटनामा बेपत्ता भएका नागरिकहरूको खोजी तथा उद्धार कार्यमा सशस्त्र प्रहरीका गोताखोरहरू आफ्नो ज्यान जोखिममा राखेर सेवामा खटिने गरेको उल्लेख गरे।

त्यसैगरी नेशनल इन्स्योरेन्सका कार्यकारी अधिकृत गुप्ताले राष्ट्रसेवामा समर्पित प्रहरी जवानहरूको आत्मबल र योगदानको सम्मानस्वरूप बीमा सुविधा उपलब्ध गराउन पाएकोमा गौरव महसुस भएको बताए।

कम्पनीका बजार प्रमुख बिमल बास्कोटाले सशस्त्र प्रहरी बलसँग विगत एक दशकदेखि रहँदै आएको सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरू तथा नेशनल इन्स्योरेन्स कम्पनीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रकाशित समय : १८:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु