global ime bank Long Banner Ad

गृहपृष्ठ मोबाइल उद्योगको विकासका लागि क्यान महासंघ र एनएमडीएबीच सहकार्य, ‘ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त पहल

मोबाइल उद्योगको विकासका लागि क्यान महासंघ र एनएमडीएबीच सहकार्य, ‘ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त पहल

मोबाइल उद्योगको विकासका लागि क्यान महासंघ र एनएमडीएबीच सहकार्य, ‘ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त पहल

काठमाडौं । नेपालको सूचना प्रविधि तथा मोबाइल व्यवसाय क्षेत्रका दुई प्रमुख छाता संगठन कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) र नेपाल मोबाइल डिस्ट्रिब्युटर्स एशोसिएसन (एनएमडीए) बीच मोबाइल उद्योगको विकास तथा क्षेत्रका विद्यमान चुनौती समाधानका लागि संस्थागत सहकार्य सुरु भएको छ।

क्यान महासंघको खुसिबुस्थित केन्द्रीय कार्यालयमा आइतबार आयोजित ‘इन्स्टिच्युसनल एलायन्स डिस्कसन मिटिङ’मा दुवै संस्थाका उच्च नेतृत्वबीच मोबाइल क्षेत्रका साझा समस्या र समाधानका उपायबारे विस्तृत छलफल भएको हो।

बैठकमा नेपालको मोबाइल बजारमा देखिएको नीतिगत अस्पष्टता, अनधिकृत माध्यमबाट भित्रिने मोबाइल फोन (ग्रे मार्केट), मोबाइल इकोसिस्टमको नियमन तथा हार्डवेयर व्यवसायसँग सम्बन्धित विषयमा विशेष चर्चा भएको थियो।

क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारी र एनएमडीएका अध्यक्ष रघु त्रिपाठीले संयुक्त रूपमा मोबाइल बजारलाई सुरक्षित, पारदर्शी र व्यवस्थित बनाउन राज्यस्तरमा प्रभावकारी पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

बैठकमा संस्थागत परिचय, दुवै कार्यसमितिबीच कार्यदिशा समन्वय, नीतिगत पैरवी, ग्रे मार्केट नियन्त्रण, मोबाइल इकोसिस्टमको नियमन तथा दीर्घकालीन सहकार्यका लागि साझा रोडम्याप निर्माणलगायत विषयमा छलफल भएको थियो।

कार्यवाहक अध्यक्ष अधिकारीले मोबाइल तथा सूचना प्रविधि क्षेत्र देशको अर्थतन्त्रको महत्वपूर्ण आधार बन्दै गएको उल्लेख गर्दै अवैध आयातका कारण राज्यले राजस्व गुमाउनुका साथै वैधानिक व्यवसायीहरू प्रभावित भइरहेको बताए। उनले यस्ता गतिविधि नियन्त्रणका लागि दुवै संस्थाले संयुक्त रूपमा पहल गर्ने बताए।

त्यस्तै, एनएमडीएका अध्यक्ष त्रिपाठीले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) को प्रभावकारी कार्यान्वयन तथा व्यावहारिक आयात नीतिका लागि क्यान महासंघसँगको सहकार्य महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।

बैठकमा क्यान महासंघका कार्यवाहक अध्यक्ष, महासचिव, कोषाध्यक्ष तथा १५औँ कार्यसमितिका सदस्यहरू र एनएमडीएका अध्यक्ष, निवर्तमान अध्यक्ष, उपाध्यक्ष, महासचिव तथा कोषाध्यक्षलगायत पदाधिकारीहरूको सहभागिता रहेको थियो।

दुवै संस्थाले आगामी दिनमा मोबाइल तथा सूचना प्रविधि क्षेत्रको दिगो विकास, नीतिगत सुधार र व्यवसायिक वातावरण सुदृढीकरणका लागि संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित समय : १६:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु