global ime bank Long Banner Ad

गृहपृष्ठ प्रेमको नयाँ परिभाषा बोकेको फिल्म ‘काजी’ प्रदर्शनमा

प्रेमको नयाँ परिभाषा बोकेको फिल्म ‘काजी’ प्रदर्शनमा

प्रेमको नयाँ परिभाषा बोकेको फिल्म ‘काजी’ प्रदर्शनमा

काठमाडौं । नेपाली फिल्म काजी आजदेखि देशभर प्रदर्शनमा आएको छ । विशुद्ध प्रेमकथामा आधारित उक्त फिल्मले नयाँ पुस्तालाई प्रेमको महत्व र समर्पणको भावना बुझाउने विश्वास निर्माण पक्षले लिएको छ ।

फिल्मका निर्देशक लक्ष्मण रिजालले ‘काजी’ गाउँको मुखिया वा ठूलाबडाको कथा नभई प्रेमको गहिरो अनुभूतिमा आधारित फिल्म भएको बताए ।
उनले भने, ‘यो फिल्म हेरेपछि काजीजस्तो श्रीमान् वा प्रेमी होस् भन्ने चाहना धेरैले गर्नुहुनेछ । काजीले आफ्नी श्रीमतीलाई गर्ने प्रेम अद्भुत छ । अहिलेको पुस्तालाई समेत प्रेमको नयाँ परिभाषा सिकाउने प्रेमकथानक बन्नेमा विश्वस्त छु ।’

फिल्ममा ‘काजी’को मुख्य भूमिका निर्वाह गरेका अभिनेता विपिन कार्कीले ‘रोमियो जुलियट’ र मुना मदनजस्तै दीर्घकालसम्म सम्झिने प्रेमकथा ‘काजी’ बनेको दाबी गरे ।

उनले भने, ‘काजीको प्रेम, वाह यस्तो प्रेम ! दर्शकले फिल्म हेरेपछि यही प्रतिक्रिया दिनुहुनेछ । म आफैँ धेरै समयपछि आफ्नो फिल्मलाई लिएर विश्वस्त भएको छु । यसपटक दर्शकले नै फिल्मको प्रचार गर्नुहुनेछ । यो प्रेमिल जोडीको निःस्वार्थ प्रेमको कथा हो ।’

अभिनेत्री केकी अधिकारीले पनि आफ्नो अभिनय यात्रामा ‘काजी’ विशेष फिल्म बनेको बताइन् ।

उनले भनिन्, ‘काजीजस्तो प्रेमी वा श्रीमान् सबैले चाहन्छन् । फिल्ममा देखाइएको प्रेमकथाले नरसाउने आँखा सायदै कम होलान् । यसले दर्शकलाई क्लासिक प्रेमकथाको स्वाद दिन्छ ।’

रिजाल एण्ड रिजाल प्रोडक्सनको प्रस्तुति रहेको फिल्मका निर्माता रामप्रसाद रिजाल हुन् । फिल्ममा विपिन कार्की र केकी अधिकारीसँगै गरिमा शर्मा, हेमन्त बुढाथोकी, प्रकाश घिमिरे, विशाल पहारी, हिउँवाला गौतम, अनुराग कुँवर, सन्दीपबाबु लोहनी, विनोद न्यौपाने, रश्मि भट्ट, प्रीतिका शर्मा र प्रशंसा सुवेदीलगायत कलाकारको अभिनय रहेको छ ।

फिल्मको पटकथा प्रदीप भारद्वाजले लेखेका हुन् भने छायाङ्कन निर्देशन चिन्तन राजभण्डारीले गरेका छन् । कालीप्रसाद बास्कोटाको सङ्गीत, सुजिल कर्माचार्यको पाश्र्व सङ्गीत तथा कविराज गहतराजको नृत्य निर्देशन रहेको फिल्ममा नेहान रिजाल र विकासराज जोशी निर्माता रहेका छन् ।

फिल्म ‘काजी’लाई श्रीराम बालाजी फिल्म्सले वितरण गरिरहेको छ ।

प्रकाशित समय : ०७:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु