global ime bank Long Banner Ad

गृहपृष्ठ दुर्गम गाउँका स्थानीयले पाए एकैसाथ विभिन्न विशेषज्ञ सहितको स्वास्थ्य सेवा

दुर्गम गाउँका स्थानीयले पाए एकैसाथ विभिन्न विशेषज्ञ सहितको स्वास्थ्य सेवा

दुर्गम गाउँका स्थानीयले पाए एकैसाथ विभिन्न विशेषज्ञ सहितको स्वास्थ्य सेवा

रामेछाप । रामेछापको दुर्गम गाउँ उमाकुण्ड गाउँपालिकाका स्थानीयले एकै पटक विभिन्न विशेषज्ञ स्वास्थ्य सेवा पाएका छन् ।

वाग्मती प्रदेश सरकार, जनस्वास्थ्य कार्यालय रामेछापले आयोजना गरेको एकीकृत जनस्वास्थ्य शिविर तथा पोषण प्रवर्धन अभियाना कार्यक्रम अन्तर्गत सो सेवा प्रदान गरिएको हो । जिल्लाको सबैभन्दा दुर्गम गाउँपालिका उमाकुण्डको प्रीति आधारभूत अस्पताल र बाम्ती स्वास्थ्य चौकीमा आयोजना गरिएको शिविरमा करिब ८ सय जनाले सेवा लिएका जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभु झाले जानकारी दिए ।
शिविरमा सबै उमेर समूहका स्वास्थ्य समस्या भएका व्यक्तिहरूको एकीकृत स्वास्थ्य परीक्षण, निदान, उपचार, परामर्श र प्रेषण गरिएको थियो ।

जसमा आयुर्वेद स्वास्थ्य सेवा, प्रजनन् उमेर समूहका महिलाहरूको स्त्री तथा प्रसूति रोग, पेट, आँखा, यौन रोग तथा छालाको स्वास्थ्य सम्बन्धी समस्या, हाडजोर्नी, बालरोग, दन्त रोग,मुख स्वास्थ्य सम्बन्धी समस्याको जाँच, उपचार, परमार्श तथा प्रेषण गरिएको थियो ।

यसै गरी अल्ट्रासाउण्ड, भिडियो एक्स–रे, ल्याब लगायतका सेवा पनि दिइएको थियो ।
यस बाहेक ३० वर्ष माथिका उमेर समूहका मानिसहरूको नसर्ने रोग सम्बन्धी स्वास्थ्य परीक्षण, निदान, उपचार र परामर्श प्रदान गरिएको थियो । ३० वर्ष माथिका उमेर समूहका महिलाहरूको स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ्ग तथा प्रजनन् स्वास्थ्य रुग्णता समस्याको परीक्षण, निदान, उपचार र परामर्श दिइएको थियो ।
शिविरमा स्वास्थ्य शिक्षा तथा व्यवहार परिवर्तन सूचना सञ्चार सम्बन्धी सेवाका साथै बालबालिकाको पोषण अवस्थाको परीक्षण समेत गरिएको थियो ।

कार्यक्रममा बोल्दा वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले स्वास्थ्य सेवामा सहज पहुँच नभएका नागरिकलाई सेवा प्रदान गर्न विशेषज्ञ शिविर सञ्चालन गरिएको जानकारी दिए । ‘सबैको स्वास्थ्यमा पहुँच हुनु पर्छ, सबैले स्वास्थ्य उपचार सेवा पाउनु पर्छ भनेर अस्पतालको टिम नै हामीले लिएर आएका छौँ’, उनले भने ।
कार्यक्रममा उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले ग्रामीण क्षेत्रमा डाक्टरहरु बस्न नमान्ने समस्या ठुलो समस्या भएको बताए । उनले यो केवल जनप्रतिनिधिले मात्र विषय नभएर स्थानीयको समेत विषय भएको बताए । डाक्टरहरूलाई गाउँमा बस्ने वातावरण बनाउन स्थानीयले पनि सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।

शिविरमा उमाकुण्ड गाउँपालिकाका विभिन्न वडाका स्थानीय स्वास्थ्य परीक्षणका लागि आएका थिए । उनीहरूलाई निःशुल्क औषधि समेत वितरण गरिएको थियो ।
शिविरमा बिहान सबेरैदेखि साँझसम्म स्वास्थ्य परीक्षण गराउन स्थानीय जम्मा भएका थिए । गाउँमा नै विशेषज्ञ सेवा पुग्दा स्थानीयहरू निक्कै खुसी देखिन्थे । उनीहरू आफ्नो स्वास्थ्य परीक्षण गराउन निक्कै आतुर देखिन्थे ।

प्रकाशित समय : ११:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु