global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ पोखराका आयुर्वेद अस्पतालमा गैरकानुनी औषधि छ्याप्छ्याप्ती

पोखराका आयुर्वेद अस्पतालमा गैरकानुनी औषधि छ्याप्छ्याप्ती

पोखराका आयुर्वेद अस्पतालमा गैरकानुनी औषधि छ्याप्छ्याप्ती

पोखरा । पोखरामा सञ्चालित आयुर्वेद अस्पताल तथा क्लिनिकहरूमा गैरकानुनी र गुणस्तरहीन औषधिहरूको निर्वाध बिक्रीवितरण भइरहेको पाइएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीको नेतृत्वमा मंगलबार गरिएको आकस्मिक अनुगमनका क्रममा पोखरा महानगरपालिका–१० बुद्धचोक क्षेत्रका स्वास्थ्य संस्थाहरूमा यस्तो गम्भीर लापरबाही भेटिएको हो।

अनुगमनका क्रममा औषधि व्यवस्था विभागबाट अनुमति नलिएका र म्याद गुज्रेका ठुलो परिमाणका औषधिहरू बरामद गरी नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए। अधिकांश अस्पतालमा गैरकानुनी औषधि बेच्ने गरिएको पाइयो, उनले भने, उपचारका नाममा मौलाएको यो विकृति रोक्न अनुगमनमा कडाइ गरिएको हो, दोषीलाई कानुनअनुसार कडा कारबाही हुन्छ।

अनुगमन टोलीले मापदण्ड पूरा नगरेका, दर्ता नवीकरण नभएका र दररेट समेत नराखी सञ्चालनमा रहेका संस्थाहरूलाई बुधबार प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ। सञ्चालन अनुमति पत्र विना नै सञ्चालन भइरहेको फेमिली आयुर्वेदिक क्लिनिकुलाई भने तत्कालका लागि बन्द गराइएको छ।

गण्डकी आयुर्वेद अस्पतालका चिकित्सक विपिनबन्धु आचार्यले बजारमा कानुनी मान्यता नपाएका औषधि भित्रने गरेको भन्दै अस्पतालहरू आफैँ सचेत हुनुपर्ने बताए। कतिपय क्लिनिकमा सम्बन्धित विषयको ज्ञान नै नभएका व्यक्तिले औषधि बेचिरहेको समेत पाइएको छ। अनुगमनमा बुद्धचोकका नेचर केयर आयुर्वेद अस्पताल, साधना आयुर्वेद, आरोग्य होमियो फार्मेसी र पोखरा हेल्दी होम्स लगायत ८ वटा संस्थाहरूको निरीक्षण गरिएको थियो।

अनुगमन टोलीमा प्रशासन, महानगरपालिका, गण्डकी आयुर्वेद अस्पताल, वडा प्रहरी कार्यालय बैदाम र उपभोक्ता मञ्चका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। प्रशासनले मापदण्ड विपरीतका होर्डिङ बोर्डहरू समेत तत्काल हटाउन निर्देशन दिएको छ।

प्रकाशित समय : १८:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु