global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ नवप्रवर्तन साझेदारी कार्यक्रममार्फत आठ परियोजना सञ्चालनमा

नवप्रवर्तन साझेदारी कार्यक्रममार्फत आठ परियोजना सञ्चालनमा

नवप्रवर्तन साझेदारी कार्यक्रममार्फत आठ परियोजना सञ्चालनमा

गण्डकी । गण्डकी प्रदेशका छ जिल्लाका आठ स्थानीय तहमा नवप्रवर्तन साझेदारी कार्यक्रममार्फत आठ परियोजना सञ्चालनमा ल्याइएको छ ।

नवलपुरको देवचुली नगरपालिका, स्याङ्जाको पुतलीबजार नगरपालिका, गोरखाको सहिदलखन गाउँपालिका, गोरखा नगरपालिका, तनहुँको म्याग्दे र ऋषिङ गाउँपालिका, लमजुङको बेँसीसहर नगरपालिका र मुस्ताङको घरपझोङ गाउँपालिकासँग परियोजना सम्झौता भई कार्यान्वयनको चरणमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

परियोजना सञ्चालनका लागि पहिलो किस्ताबापत दुई करोड ४० लाख ७३ हजार रुपैयाँ रकम भुक्तानी भइसकेको कार्यालयका उपसचिव पार्वती लामिछानेले जानकारी दिए ।

देवचुली नगरपालिकामा कृषक पाठशाला, पुतलीबजार नगरपालिकामा मुस्लिम समुदाय लक्षित उद्यम विकास तथा व्यवसाय प्रवर्द्धन परियोजना र सहिदलखन गाउँपालिकामा मनकामना फोहरमैला व्यवस्थापन परियोजना सञ्चालन गरिएको हो ।

यसैगरी, म्याग्दे गाउँपालिकामा बालबालिकाको शैक्षिक विकास, घरपझोङ गाउँपालिकामा फोहर सङ्कलन तथा व्यवस्थापन केन्द्र, बेँसीसहर नगरपालिकामा मौरीजन्य उत्पादन प्रवर्द्धन, ऋषिङ गाउँपालिकामा मौरी उद्योग र गोरखा नगरपालिकामा मट्का घरबास ‘होमस्टे’ परियोजना अगाडि बढाइएको हो ।

उक्त कार्यक्रमका लागि चालु आवमा सङ्घीय स–सर्ततर्फको चार करोड १० लाख रुपैयाँ बजेट विनियोजन भएको उपसचिव लामिछानेले बताए । स्थानीय तहको लागत साझेदारीमा परियोजना सञ्चालन भइरहेको उनको भनाइ छ ।

नवप्रवर्तन साझेदारी कार्यक्रम सञ्चालन कार्यविधिअनुसार स्थानीय तहले अनुदान पाएका हुन् । बहुवर्षीय कार्यक्रम भएकाले आगामी वर्षमा पनि बजेट विनियोजन हुने उनले बताए ।

उक्त कार्यक्रमका लागि विभिन्न स्थानीय तहबाट २९ वटा प्रस्ताव पेस भएकामा प्रदेश छनोट तथा सिफारिस समितिले मूल्याङ्कन गरी आठ वटा परियोजना प्रस्ताव स्वीकृत गरेको थियो । प्रदेश तथा स्थानीय शासन सबलीकरण परियोजनाअन्तर्गत सञ्चालित यस कार्यक्रमबाट प्रदेश तथा स्थानीय तहलाई सक्षम र उत्तरदायी बनाउन सहयोग पुर्‍याउने लक्ष्य छ । आव २०७८/०७९ देखि नवप्रवर्तन साझेदारी कार्यक्रम सञ्चालनमा रहेको छ ।

प्रकाशित समय : १५:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु