global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ पोखरा स्पोर्ट्स अवार्डः नौ विधामा अवार्ड प्रदान गरिँदै

पोखरा स्पोर्ट्स अवार्डः नौ विधामा अवार्ड प्रदान गरिँदै

कास्की । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आगामी वैशाख ३१ गते दशौँ संस्करणको पोखरा स्पोर्टस् अवार्ड हुने भएको छ ।

मञ्चले आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरी गण्डकी प्रदेशका खेलकुद क्षेत्रका उत्कृष्ट प्रतिभालाई सम्मान गर्ने उद्देश्यसहित आयोजना हुँदै आएको अवार्डको तयारी अघि बढाइएको जनाएको हो ।

मञ्चका अध्यक्ष एमवि आस्था मगरले यस वर्ष नौ विधामा अवार्ड प्रदान गरिने बताइन। मञ्चले खेलाडीहरूको मनोबल उच्च राख्न र खेलकुद क्षेत्रको समग्र विकासमा टेवा पुर्‍याउन यस्तो अवार्ड कार्यक्रमलाई निरन्तरता दिइएको जनाएको छ ।

स्पोर्टस् अवार्डमा वर्ष खेलाडी (पुरुष र महिला), पिपुल्स च्वाइस अवार्ड, लाइफ टाइम अचिभमेन्ट अवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल सङ्घ/संस्था वा क्लब, स्पेशल अवार्ड र उत्कृष्ट खेल पत्रकार अवार्ड समावेश छन्।

वर्ष उत्कृष्ट खेलाडी महिला र पुरुषले एक/एक थान स्कुटर पुरस्कार पाउनेछन् । “पोखरा स्पोर्टस् अवार्ड गण्डकी प्रदेशकै ब्राण्ड बनेको छ । खेलकुद क्षेत्रको विकासमा योगदान गर्नेहरूलाई अझ बढी उत्प्रेरित र प्रोत्साहित गर्नका लागि कार्यक्रमले योगदान पुग्नेछ,” अध्यक्ष मगरले भनिन।

यसैगरी यसपटक ‘पिपुल्स च्वाइस’ र ‘स्पेशल अवार्ड’थप गरिएको मञ्चले जनाएको छ । ‘पिपुल्स च्वाइस अवार्डका लागि पाँच जना खेलाडीहरूको मनोनयन सार्वजनिक भई भोटिङ प्रक्रिया समेत जारी रहेको छ ।

यस विधामा मनोनयनमा पर्ने खेलाडीहरूमा फुटबलका दीप कार्की, एथलेटिक्सकी नारायणी भण्डारी, भलिबलका राजन दर्लामी, क्रिकेटका विपिन खत्री र मुवाथाई/आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा रहेका छन ।

विगत एक वर्षभरिको प्रदर्शनका आधारमा मनोनयनमा परेका खेलाडीहरूबीच ‘पिपल्स च्वाइस अवार्ड’ का लागि प्रतिस्पर्धा हुनेछ । मञ्चका अनुसार यसको विजेता अनलाइन भोटिङमार्फत घोषणा गरिनेछ । जसका लागि खल्ती एपमार्फत देश तथा विदेशमा रहेकाहरूले भोट गर्न पाउने छन् ।

जसको सबैभन्दा बढी भोट आउँछ उसैले विजेता बनेर अवार्ड प्राप्त गर्नेछ । मनोनयनमा परेका खेलाडीहरूका लागि सोमबारदेखि भोटिङ सुरु भएको छ । आफूलाई मन परेको खेलाडीलाई भोटिङ गर्न सकिने छ । यस विधामा उत्कृष्ट खेलाडीले एक थान स्कुटर पुरस्कार पाउनेछन् ।

अवार्डका लागि गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, मादी गाउँपालिका, रूपा गाउँपालिकालगायतले सहयोग गरेको मञ्चका महासचिव पर्शुराम शर्माले जानकारी दिए ।

विसं २०५७ मा कास्कीबाट स्थापना भई हाल गण्डकी प्रदेशस्तरमा विस्तार भएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले विसं २०७२ देखि नियमित रूपमा स्पोर्टस् अवार्ड आयोजना गर्दै आएको छ ।

प्रकाशित समय : २०:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु