गृहपृष्ठ युवराज सफललाई ५० हजार धरौटीमा छाड्ने आदेश
युवराज सफललाई ५० हजार धरौटीमा छाड्ने आदेश
काठमाडौँ जिल्ला अदालतले सामाजिक सञ्जालमार्फत महान्यायाधिवक्ता र महान्यायाधिवक्ता कार्यालयको मानमर्दन हुने गरी अभिव्यक्ति दिएको अभियोगमा पक्राउ परेका युवराज पौडेल (सफल)लाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
जिल्ला न्यायाधीश कौशलेश्वर ज्ञवालीको इजलासले सो आदेश गरेको हो । पौडेल यसअघि हाजिरी जमानीमा छुटेका थिए । आज थुनछेक आदेश गर्दै अदालतले धरौटी रकम बुझाएर तारेखमा रही मुद्दाको पुर्पक्ष गर्न भनेको छ ।
धरौटी बुझाउन नसकेको खण्डमा उनलाई थुनामा पठाउन न्यायाधीशले भनेका छन् । पौडेल विरुद्ध नेपाल सरकारले विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसुरमा मुद्दा दायर गरेको थियो ।
उनले महान्यायाधिवक्ताको मानमर्दन हुने, घृणा र द्वेष फैलाउने खालका भ्रामक भिडियो सामग्रीहरू सामाजिक सञ्जालमा पोस्ट गरेको आरोप प्रहरी प्रतिवेदनमा उल्लेख छ ।
प्रकाशित समय : २१:०६ बजे




















