गृहपृष्ठ अस्पतालमा भिडभाड गर्न, फोटो खिच्ने कार्य रोक्न स्वास्थ्य मन्त्रालयको निर्देशन
अस्पतालमा भिडभाड गर्न, फोटो खिच्ने कार्य रोक्न स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्थामा अनावश्यक भिडभाड नगर्न, तालाबन्दी नगर्न, तोडफोडका कार्य नगर्न निर्देशन दिएको छ ।
स्वास्थ्य मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी पछिल्लो समयमा केही व्यक्तिहरुले अस्पताल तथा स्वास्थ्य संस्था परिसरभित्र स्वीकृति विना प्रवेश गरी बिरामी र स्वास्थ्यकर्मीहरूको फोटो तथा भिडियो खिच्ने, अन्तर्वार्ताको नाममा भिडभाड गर्ने र स्वास्थ्य उपचारमा खटिएका चिकित्सक तथा कर्मचारीहरूको कार्यसम्पादनमा अवरोध पुरÞ्याउने गरेको जनगुनासो यस मन्त्रालयमा प्राप्त भएको भनेको छ ।
मन्त्रालयले बिरामीको गोपनीयता हनन् हुने र संवेदनशील क्षेत्रमा अशान्ति फैलन गई समग्र उपचार प्रक्रियामा नै गम्भीर असर परेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छ ।
‘अस्पताल जस्तो संवेदनशील क्षेत्रमा स्वीकृति विना भिडियो बनाउने, चिकित्सक तथा कर्मचारीलाई अमर्यादित तवरले प्रस्तुत हुने वा अनुचित दबाब दिने कार्य प्रचलित कानुनको ठाडो उल्लङ्घन हो,’ मन्त्रालयले भनेको छ, ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ को दफा ३ ले ’उपचारमा बाधा पार्न नहुने स्पष्ट व्यवस्था गरेको छ । सोही दफाको खण्ड (च) मा “स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई हातपात गर्ने, कुनै किसिमले धम्की दिने, गाली गलौज गर्ने वा अभद्र वा अपमानजनक व्यवहार गर्न“ नपाइने स्पष्ट कानुनी व्यवस्था रहेको छ । ’
त्यस्तै मुलुकी अपराध संहिता २०७४ को दफा २९५ मा अनुमति बिना कुनै व्यक्तिको तस्बिर खिच्न नहुने भन्ने व्यवस्था रहेकोमा अस्पताल/स्वास्थ्य संस्था परिसरभित्र सम्बन्धित संस्थाको अनुमति नलिई फोटो/भिडियो नखिच्न तथा प्रकाशन/ प्रसारण नगर्न सम्बन्धित सबैमा अनुरोध गरिएको छ ।
प्रकाशित समय : २१:१५ बजे




















