गृहपृष्ठ फाइभजी भित्र्याउन प्राधिकरण समक्ष एनसेलले दियो तेस्रो निवेदन
फाइभजी भित्र्याउन प्राधिकरण समक्ष एनसेलले दियो तेस्रो निवेदन
काठमाडौं । निजीक्षेत्रको सेवाप्रदायक एनसेलले नयाँ प्रविधि फाइभजी भित्र्याउन नेपाल दूरसञ्चार प्राधिकरणसमक्ष निवेदन दिएको छ ।
एनसेलले ग्राहकलाई १० जीबीपीएस गतिसम्मको इनह्यान्सड मोबाइल ब्रोडब्याण्ड सेवा दिने योजना सहित प्राधिकरणलाई फाइभजी परीक्षणका लागि फ्रिक्वेन्सी प्रदान गर्न तेस्रो पटक अनुरोध गरेको छ ।
पाँच वर्ष पहिला पनि एनसेलले नेपाल टेलिकम भन्दा अगावै यो प्रविधिको परीक्षणका लागि फ्रिक्वेन्सी माग गरेको थियो । प्राधिकरणले हालैमात्र एनसेलले दिएको निवेदन उपर निर्णयका लागि आवश्यक कार्य भइरहेको जनाएको छ । यसअघि एनसेलले अनुमति माग्दा दूरसञ्चार प्राधिकरणले २ वर्षअघि नै सञ्चारमन्त्रीको संयोजकत्वमा रहेको समितिमा प्रस्ताव लगेको थियो तर सरकारले नेपाल टेलिकमलाई अनुमति दिए पनि एनसेललाई अनुमति दिएको थिएन । अहिले दक्षिण एसियामा नेपालमात्र एक मुलुक हो जहाँ फाइभजी संचालनमा आएको छैन ।
कम्पनीले नेपाली उपभोक्तालाई अत्याधुनिक प्रविधिमा पहुँच दिलाउने, नेपाल सरकारको ‘डिजिटल नेपाल’ अवधारणालाई सघाउने तथा सरकारले अघि सारेको १०० बुँदे कार्यसूचीमा समेटिएका डिजिटल शासन सुधारका लक्ष्यहरूलाई सहयोग गर्ने उद्देश्य राखेको जनाएको छ।
उक्त फ्रिक्वेन्सी प्रयोग गरी नेपालमा फाइभजी सेवा सुरु गर्ने कम्पनीको योजना रहेको जनाएको छ । यसले अन्तर्राष्ट्रिय स्तरको सेवा उपलब्ध गराउनुका साथै हालको फोरजी नेटवर्कमा देखिएको ट्राफिक चाप घटाउन मद्दत गर्ने विश्वास लिइएको छ। साथै, कम्पनीले फाइभजी प्रविधिको कार्यान्वयनका लागि आफ्नो हार्डवेयर र सफ्टवेयर प्रणालीलाई समेत स्तरोन्नति गर्ने तयारी गरेको छ।
प्रकाशित समय : १२:३१ बजे



















