गृहपृष्ठ प्रहरीबाट अवकाशपछि कृषि पेसामा रमाइरहेका अर्जुन

प्रहरीबाट अवकाशपछि कृषि पेसामा रमाइरहेका अर्जुन

प्रहरीबाट अवकाशपछि कृषि पेसामा रमाइरहेका अर्जुन

सुनसरी । नेपाल प्रहरीबाट अवकाश भएपछि के गर्ने होला ? भन्ने सोचले पिरोल्थ्यो । उमेर थियो, जोस बाँकी थियो । केही न केही त गर्नै पर्छ भन्ने लाग्थ्यो ।

विदेश जान मन थिएन । देशभित्रै रहेर आर्थिक उपार्जन गर्ने र धेरैका लागि उदाहरण बन्ने लक्ष्यका साथ सुरु गरेको कृषिले आज अर्जुन विष्टलाई नयाँ परिचय दिएको छ ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–६ का विष्ट आज सफल व्यावसायिक कृषकका रूपमा स्थापित हुनुभएको छ । कृषि व्यवसायबाट वार्षिक रु २८ लाखसम्म आम्दानी गर्दै आएको उनले सुनाए ।

विसं २०७७ मा प्रहरी सेवाबाट अवकाश लिएपछि उहाँले कृषि व्यवसाय सुरु गर्नु भएको हो । अवकाश हुँदा प्राप्त भएको १४ लाख लगानी गरेर व्यवसाय सुरु गरेकाका विष्टले अहिले पाँच बिगाहा क्षेत्रफलमा केरा, भूइँकटहर, खरबुजा, मेवा, सयपत्री फूल, दाल, तोरी, साग, मकै, धानलगायत खेती गर्दै आएका छन् । उनले नेपाल प्रहरीमा १७ वर्ष सेवा गरेका थिए ।

केराको बिक्रीबाट मात्रै वार्षिक आठ लाख बढी आम्दानी हुने उहाँ सगौरव बताउनुहुन्छ । उत्पादित केराप्रति दर्जन होलसेलमा ५० बारीबाटै बिक्री हुन्छ । उत्पादित केरा चक्रघट्टी, कालाबञ्जर, चतरालगायत स्थानीय बजारसँगै इटहरी, धरान र गाईघाटसम्म बिक्रीका लागि पठाउने गरिएको छ । उनले चिनियाँ चम्पा र कृष्णभोग जातका केरा लगाउनुभएको छ । एउटा केराको बोटबाट १५ देखि २० दर्जनसम्म फल उत्पादन हुने गरेको उनको भनाइ छ ।

केरा रोपेको एक वर्षपछि उत्पादन लिन सकिन्छ । केरा खेतीमा मेहनत धेरै छ । रोग किराको समस्या हुन्छ । गोडमेल गर्नुपर्छ र अनावश्यक बोट हटाउनुपर्छ । “खेतीमा आफैँ समय दिन सकिएन भने उत्पादन राम्रो हुँदैन,” उनले भने ।

यस्तै, भूइँकटहर बिक्रीबाट पनि राम्रो आम्दानी हुने उनले बताए । गत वर्ष मात्रै करिब १५ लाख बराबरको भूइँकटहर बिक्री गरेको उनको भनाइ छ । यस वर्ष गत वर्षको तुलनामा कम क्षेत्रफलमा खेती गरिएकाले उत्पादन घटेको छ । भूइँकटहर प्रतिगोटा २०० मा बिक्री हुने गरेको छ । यसको मुख्य ‘सिजन’ असारदेखि भदौसम्म हुन्छ ।

बजारमा भूइँकटहरको मूल्य निर्धारणमा भारतीय उत्पादनले पनि प्रभाव पार्ने गरेको उनको भनाइ छ । भारतबाट ठुलो परिमाणमा भूइँकटहर भित्रिँदा स्थानीय उत्पादनको मूल्य घट्ने गरेको उनी बताउँछन् । “यस वर्ष नेपाली भूइँकटहरले राम्रो बजार मूल्य पायो, त्यसैले आम्दानी पनि राम्रो भयो,” उनले भने ।

त्यस्तै, विष्टले १२ कट्ठा क्षेत्रफलमा खरबुजा खेती गरेका छन् । भारतबाट बीउ ल्याएर उक्त खेती गर्दै आएका उनले उत्पादित खरबुजा थोकमा प्रतिकिलो रु ५० मा बिक्री हुने बताए ।

उनले उत्पादन गरेका कृषि उपज धरान कृषि बजार, इटहरी, दमक, विराटनगर तथा झापासम्म बिक्री हुने गरेको छ । मकै र धान बिक्रीबाट पनि वार्षिक रु दुई लाख बढी आम्दानी हुने उनले सुनाए ।

विभिन्न बाली तथा फलफूल बिक्री साथै बजारसम्म पुर्‍याउन सहज होस् भनेर विष्टले करिब दुई वर्षअघि ‘विष्ट फलफूल पसल’ समेत सञ्चालन ल्याएका छन् । पसल सञ्चालन गरेपछि आफ्नै उत्पादन आफैँ बिक्री गर्न सहज भएको उनको भनाइ छ ।

यस वर्ष फलफूल खेतीमा बाढीको असर नपरेको र रोग किरको समस्या पनि नभएकाले उत्पादन राम्रो भएको उनको भनाइ छ ।

गत वर्षको बाढीले रु १० लाख बराबरको क्षति पुर्‍याएको विष्टले बताए । बाढीका कारण १२ कट्ठामा लगाइएको खरबुजा नष्ट भएको थियो । बिक्रीका लागि तयार भएको सयपत्री फूल डुबानमा परेर नष्ट भयो साथै केराखेतीमा पनि ठुलो क्षति पुगेको उनले जानकारी दिए ।

उहाँले अरूलाई पनि रोजगारी दिनुभएको छ । ज्यालादारी मजदुरका लागि मात्रै वार्षिक रु पाँच लाखसम्म खर्च हुने गरेको छ । गोडमेल, केरा काट्ने, फलफूल बोक्ने, भूइँकटहर ढुवानी गर्ने, जमिन जोत्ने तथा रोपाइँलगायत काममा मजदुर आवश्यक पर्ने उनको भनाइ छ । त्यसबाट स्थानीयलाई रोजगारी उपलब्ध भएको छ ।

प्रहरीबाट अवकाशपछि अन्य व्यापार व्यवसायबाट खासै आम्दानी नहुने देखिएपछि कृषि पेसामा लागेको विष्ट बताउनुहुन्छ । सुरुआती दिनमा भने कृषि व्यवसाय गर्न सहज नभएको उनको अनुभव छ । खेत तयार पार्नेदेखि सिँचाइको व्यवस्था गर्ने काममा निकै मेहनत गर्नुपरेको उनले बताए ।

कृषिमा प्रभावकारी अनुदानको व्यवस्था खासै नभएको उनको भनाइ छ । “कृषिमा अनुदानको आस गर्नुभन्दा प्रविधि र बजारको ज्ञान भयो भने आफैँ राम्रो कमाउन सकिन्छ । कृषि गर्ने युवाले ठुलो ऋण लिएर व्यवसाय सुरु गर्नुभन्दा सानो क्षेत्रफलबाट थोरै लगानी गरे राम्रो आम्दानी गर्न सकिन्छ,” उनले भने ।

कृषि पेसामा सफल हुन आफ्नै मेहनत आवश्यक पर्ने विष्टको अनुभव छ । “कामदार राखेर अर्काको भरमा मात्रै कृषि गर्ने हो भने सफल भइँदैन । आफैँ मेहनत गर्नुपर्छ,” उनले भने ।

प्रकाशित समय : ०५:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु