गृहपृष्ठ लोकतन्त्र व्यवहारिक हुनुपर्नेमा चालिसेको जोड, संघीयता विरुद्ध नकारात्मक प्रचारप्रति आपत्ति
लोकतन्त्र व्यवहारिक हुनुपर्नेमा चालिसेको जोड, संघीयता विरुद्ध नकारात्मक प्रचारप्रति आपत्ति
काठमाडौं । नेपाली कांग्रेका प्रवक्ता देवराज चालिसेले लोकतन्त्रलाई व्यवहारमा अनुभूति हुने प्रणालीका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।
न्यूज एक्सप्रेस मिडियाले आयोजना गरेको ‘संवाद एक्सप्रेस’ कार्यक्रममा बोल्दै चालिसेले सहभागिता विनाको लोकतन्त्र केवल आवरण हुने टिप्पणी गरे ।
उनले स्थानीय सरकारको प्रभावकारी उपस्थिति बिना लोकतन्त्र औपचारिक हुने दाबी गर्दै स्थानीय तह बलियो भए मात्र लोकतन्त्र व्यवहारिक हुने बताए ।
उनले भने, ‘जहाँ हरेकको उपस्थिति हुन्छ त्यहाँ लोकतन्त्र दरो हुन्छ ।सहभागिताविनाको लोकतन्त्र आवरण हुन्छ । लोकतन्त्र सिद्धान्त मात्र होइन, व्यवहार पनि हो । स्थानिय सरकारको अनुपस्थितको लोकतन्त्र औपचारिक हुन्छ । स्थानीय सरकारसँगै भएको लोकतन्त्र व्यवहारिक हुन्छ । ’
‘हामीलाई कस्तो लोकतन्त्र चाहिएको हो ? मतदान गर्ने मात्र कि त्यसको परिणाममा जनताले अनुभूति गर्ने पनि ?’ भन्ने प्रश्न गर्दै उनले लोकतन्त्रको सार जनताले प्रत्यक्ष अनुभव गर्न पाउनु रहेको उल्लेख गरे ।
त्यसैगरी, उनले संघीयताप्रति भइरहेका नकारात्मक टिप्पणीप्रति असन्तुष्टि जनाउँदै संघीयता आफैंमा महँगो वा अव्यवहारिक नभएको स्पष्ट पारे ।
उनले भने, ‘हामीलाई कस्तो लोकतन्त्र चाहिएको हो ? व्यवहारिक लोकतन्त्र खोजेको हो की औपचारिक लोकतन्त्र खोजेको हो ? लोकतन्त्र भनेको मतदान हाल्ने मात्र हो की त्यसको परिणाममा जनताले अनुभूति पनि गर्ने हो ? संघीयता आफैंमा महँगो पनि होइन, खर्चिलो पनि होइन, अव्यवहारिक पनि होइन ।
सञ्चालन गर्न नजान्ने, अधिकार नदिने त्यसलाई दरिलो र व्यवस्थित नगर्ने अनि त्यसलाई आरोप लगाउने त्यो न्याय हुँदैन । एए चिकित्सक, डाक्टर खराब हुनसक्छ तर चिकित्सक विज्ञान खराब होइन । यस्तो किसिमको परिभाषाले लोकतन्त्रको हातखुट्टालाई कमजोर गराउन खोज्दै छौं ।’
चालिसेले गलत अभ्यासका कारण लोकतन्त्रको संरचनामाथि नै प्रश्न उठाउने प्रवृत्ति बढिरहेको भन्दै यसले लोकतन्त्र कमजोर बनाउने चेतावनी दिए ।
देशप्रति सकारात्मक दृष्टिकोण भएमात्र सुधार गर्न सकिन्छ : भण्डारी
यसैगरी, सञ्चारकर्मी तथा एआई अध्येता जीवन भण्डारीले देशप्रति सकारात्मक दृष्टिकोणसहित सुधारतर्फ अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।
उनले निराशा र आलोचना बढ्दै गएको अवस्थामा अब समाधान र सुधारको दिशामा अघि बढ्नुपर्ने बताए । उनले सञ्चार क्षेत्रले पनि सकारात्मक परिवर्तनका लागि भूमिका खेल्नुपर्ने उल्लेख गर्दै केन्द्रदेखि स्थानीय तहसम्म भइरहेका कामको मूल्यांकन र समिक्षा आवश्यक रहेको बताए ।
उनले भने, ‘देशमा धेरै आलोचना र निराशा बढाइयो । अब सुधारको बाटोमा जान जरुरी छ । देश बन्नेछ भन्ने सन्देश दिनुपर्नेछ । यसमा सञ्चार क्षेत्रले पनि भूमिका निर्वाह गर्नुपर्ने छ । देश बन्नको लागि केन्द्रदेखि स्थानियसम्म भइरहेको कामलाई मूल्यांकन गर्न समिक्षा गर्न आवश्यक छ ।’
प्रकाशित समय : १६:२८ बजे



















